बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
सेयर बजार

सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?

‘पुँजी बजार विकास मार्गचित्र’ ल्याउने घोषणा
बिहीबार, २५ असार २०८३, १६ : ५१
बिहीबार, २५ असार २०८३

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजारमा देखिएका अन्योल चिर्न र लगानीकर्ताको हित संरक्षण गर्न बोर्डले आगामी साता विस्तृत ‘पुँजी बजार विकास मार्गचित्र’ ल्याउने घोषणा गरेको छ ।

नेपालको सेयर बजारमा पछिल्लो समय देखिएका समस्या र लगानीकर्ताहरूको निरन्तरको गुनासोप्रति पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बोर्डले यस्तो घोषणा गरेको हो । 

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जारी गरेको बिहीबार जारी गरेको विज्ञप्तिमा बजारका वर्तमान समस्या समाधान गर्न बोर्डले गम्भीर रूपमा गृहकार्य गरिरहेको समेत जनाएको छ । आगामी सातासम्ममा समयबद्ध कार्ययोजनासहितको विस्तृत मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लैजाने तयारी बोर्डको उनले जनाए । 

त्यसैगरी, पुँजी बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन बोर्डले नीतिगत सुधारका कार्यहरू समेत अगाडि बढाएको छ । अनुमति प्राप्त धितोपत्र व्यवसायी लगायत सम्बद्ध संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन गर्न दिइएका निर्देशनहरू तोकिएको समयमै सम्पादन गराउन बोर्डले कडाइ गर्ने भएको छ ।

त्यस्तै, धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया र नियमन व्यवस्थालाई थप व्यवस्थित गर्न विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली र सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायतका कानुनी व्यवस्थाहरूको समसामयिक पुनरावलोकन गर्ने कार्य प्रारम्भ भइसकेको बोर्डले जनाएको छ ।

  • हल्ला र अफवाहको पछि नलाग्न आग्रह

बजार एकपछि अर्को निरन्तर रूपमा घट्दै गएको अवस्थालाई सङ्केत गर्दै बोर्डले लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्त्व दिएर कार्य अगाडि बढाइरहेको भन्दै बोर्डले सेयर बजारका लगानीकर्ताहरूलाई सचेत समेत गराएको छ ।

बजारमा चल्ने कसैको पनि हल्ला, बहकाउ तथा अफवाहमा नपरी लगानी गर्न बोर्डले आग्रह गरेको छ । लगानीकर्ताहरूलाई आफ्नो स्व अध्ययन, विश्लेषण र आफ्नो जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यानमा राखेर मात्र सुझबुझ पूर्ण तरिकाले सेयर बजारमा लगानी सम्बन्धी निर्णय लिन बोर्डले अनुरोध गरेको छ ।

बिहीबार बजार परिसूचक घटेर २६ सयको हाराहारीमा झरेपछि बोर्डको विज्ञप्ति आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नयाँ सरकार बनेपछि १०० दिनसम्म भेटघाटलाई निकै कडाइ गरेका प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय निजी क्षेत्रको मनोबल बढाउने उद्देश्यसहित भेटघाट सुरु गरे पनि बजार भने निरन्तर घट्दै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप