शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी

शुक्रबार, २६ असार २०८३, ०१ : ५३
शुक्रबार, २६ असार २०८३

सारांश

  • काठमाडौंको त्रिपुरेश्वरमा २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटना ट्राफिक प्रहरीको कारबाहीसँग सम्बन्धित नरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
  • ट्राफिक प्रहरीले गणेशलाई जरिवाना तिराएकै कारण उनले आत्मदाह प्रयास गरेको भन्ने दाबी सार्वजनिक भएपछि ट्राफिक प्रहरीले त्यसको खण्डन गरेको हो।
  • प्रारम्भिक अनुसन्धानअनुसार आत्मदाह प्रयासअघि गणेशको काठमाडौं महानगर प्रहरी बलमा कार्यरत एक महिला नगर प्रहरीसँग 'ह्वील लक'का विषयमा विवाद भएको देखिएको छ।

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटना ट्राफिक प्रहरीको कारबाहीसँग सम्बन्धित नरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बिहीबार मध्यान्ह राहदानी विभागको ३ नम्बर गेटअगाडि गणेशले आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिने तयारी गरिएको छ।

घटनापछि सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले गणेशलाई जरिवाना (फाइन) तिराएकै कारण उनले आत्मदाह प्रयास गरेको भन्ने दाबी सार्वजनिक भएपछि ट्राफिक प्रहरीले त्यसको खण्डन गरेको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीले विज्ञप्ति जारी गर्दै घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक अनुसन्धानका क्रममा गणेशलाई ट्राफिक प्रहरीले कुनै पनि प्रकारको जरिवाना नगरेको र घटनासँग ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।

उनले घटनाबारे कानुनी अनुसन्धान जारी रहेकाले आधिकारिक पुष्टि नभएका तथ्यहीन र भ्रामक विवरण सामाजिक सञ्जालमा प्रसारण तथा प्रचार–प्रसार नगर्न सबैमा आग्रह गरेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार आत्मदाह प्रयासअघि गणेशको काठमाडौं महानगर प्रहरी बलमा कार्यरत एक महिला नगर प्रहरीसँग ‘ह्वील लक’का विषयमा विवाद भएको देखिएको छ।

बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाएपछि गणेशले त्यसको विरोध गरेका थिए। उनी राइड सेयरिङ एपमार्फत सेवा दिँदै आएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार गणेशले मोटरसाइकल सडकभन्दा बाहिरको उचाइ भएको स्थानमा राख्दा पनि किन ह्वील लक लगाइएको भन्दै प्रश्न गरेका थिए। नगर प्रहरीसँग चर्को विवाद भएपछि उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आत्मदाह प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप