नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
सारांश
- गृहमन्त्रीले आत्मदाह घटनाको विषयमा काठमाडौं महानगरपालिका र स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उठाएका छन्।
- वर्तमान मेयर बालेन शाहको कार्यकालमा काठमाडौं महानगर प्रहरी आक्रामक बनेको र फुटपाथ व्यवसायीमाथि निर्मम व्यवहार भएको आरोप छ।
- महानगर प्रहरीलाई सवारी पार्किङ र सडकपेटीको अनधिकृत अवरोध हटाउन 'महानगर प्रहरी ऐन, २०८०' ले कानुनी वैधता दिएको छ।
काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको विषयमा संसद्मा प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले काठमाडौँ महानगरपालिका र स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उठाए । उनले गणेश नेपालीको बाइकमा ह्विल लक गर्ने काम ट्राफिक प्रहरीले नभई नगर प्रहरीले गरेको भिडियो प्रमाण रहेको दाबी गरे ।
उनले प्रतिपक्षी सांसदहरूलाई लक्षित गर्दै ‘अहिले स्थानीय सरकार र प्रदेश सरकार कसको नेतृत्वमा छ’ भन्दै प्रश्न गरे । उनले विगतका सरकारहरूले बनाएका कानुन र नियमहरूलाई नै आफूले कार्यान्वयन गरेको बताउँदै अहिले देखिएका कतिपय समस्याहरूको जड पुराना कानुनहरू नै रहेको तर्क गरे । उनले महानगर प्रहरीको भूमिकामाथि प्रश्न उठाए ।
तर अहिलेको महानगर प्रहरीको स्थिति आइपुग्नमा यसअघि काठमाडौं महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाहको भूमिका छ । २०७९ वैशाखमा काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित हुँदा नगर प्रहरी उपरीक्षक धनपति सापकोटा काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारीमा थिए । बालेनले २०७९ भदौ ६ गते सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर प्रहरी उपरीक्षक राजु पाण्डेलाई प्रमुखको जिम्मेवारी दिए । त्यसपछि महानगर प्रहरी आक्रामक देखिएको थियो । पाण्डे अहिले राजीनामा दिएर बालेन वरिष्ठ नेता रहेको रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर ३ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।
पाण्डेको कमाण्डमा आक्रमक महानगर प्रहरी
पाण्डे आएको केही समयमै २०७९ असोज १३ स्ट्रिट सिंगर मञ्जदरस (एमजे) तामाङलाई बुधबार बसन्तपुरबाट काठमाडौं महानगर प्रहरीले पक्राउ गरेर लग्यो । उनी ललितपुरकी १३ वर्षीया सुभिता खड्काको उपचारका लागि सहयोग संकलन गर्न बसन्तपुरमा गीत गाइरहेका थिए । काठमाडौं महानगरपालिकाले महानगरमा माग्न नपाइने भन्दै तामाङलाई माइक, लाउडस्पिकरजस्ता सामग्री सहित उठाएर कार्यालय पुर्याएको थियो ।

उनले क्यान्सर अस्पतालमा उपचाररत खड्कालाई उपचार जारी राख्न सहयोग आवश्यक परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेर सहयोग उठाउँदै आएका थिए । सोही अनुरुप बसन्तपुरमा पनि उनले सहयोगका लागि गीत गाउँदा गाउँदै महानगर प्रहरीले उनलाई उठाउँदा १४ हजार रुपैयाँ जम्मा भइसकेको थियो ।
त्यसअघि २०७९ साउन १७ गते सूचना प्रकाशित गर्दै १० सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको थियो । त्यसपछि फुटपाथ व्यवसायी, साना ठेला व्यवसायीप्रति महानगरपालिकाले निर्मम शैली अपनाउन थाल्यो ।
२०८० फागुन १७ गते राति पौने ८ बजे काठमाडौं महानगरपालिकाको सुन्धारामा नगर प्रहरीको एक जत्थाले फुटपाथ व्यवसायीमाथि एक्कासि भौतिक आक्रमण नै गर्यो । फुटपाथ व्यवसायीका अनुसार करिब ५० नगर प्रहरीको हुल लिएर आएका नगर उपरीक्षक मनोज लामिछानेको टोलीले भटाभट लाठी चार्ज गर्न थाल्यो । एकछिन त फुटपाथ व्यवसायीले के भएको हो भन्ने नै भेउ पाएनन् ।
घाइते व्यवसायीहरूले भाग्न समेत नभ्याइने गरी लखेटी लखेटी कुटेको भन्दै महानगर प्रहरीको विरोध गरेका थिए । ५० जना जति फिल्डमा र गाडीमा ३० जना जति नगर प्रहरीले गाडीमै ढुंगा, बाँसको लठ्ठी लिएर आएर फुटपाथ व्यवसायीलाई पिटेका थिए ।
त्यतिबेला काठमाडौं महानगरपालिकाका मेयर बालेन र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले फुटपाथमा व्यवसाय गर्न नदिने रणनीति भएको भन्दै निर्मम ढंगले फुटपाथ खाली गरिरहेका थिए । फुटपाथ व्यवसायीमाथि भएको निर्मम व्यवहारको अभियन्ता ईः, रक्षा बम, प्रसुज मैनाली लगायतले विरोध गर्दै आएका थिए । उनीहरूले सडकबाट खबरदारी गरेका थिए भने संसद्मा पनि चर्कै आवाज उठ्ने गरेको थियो ।
राजुनाथ पाण्डेले आफूलाई बालेनको आदेश पालक भन्दै आक्रामक शैली कायम राखेका थिए । महानगरमा मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबिच विवाद हुँदा पाण्डे निलम्बनमा समेत परेका थिए । २०८२ जेठ २० मा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
ऐनमै नभएको दङ्गा तालिम गर्थे बालेन सेनाले
२०७९ मंसिरमा थापाथालीमा नगर प्रहरी विना तयारी सुकुम्बासी बस्ती हटाउन जाँदा क्षति बेहोर्नुपरेपछि बालेनले आफ्नो नगर प्रहरीलाई ऐनमै नभएको दङ्गा नियन्त्रण सम्बन्धी सामग्रीहरु खरिद गरेका थिए । लाठी चलाउनै अधिकार नभएको नगर प्रहरीलाई हेलमेट सेफ्टी गार्ड र आधुनिक उपकरण र लौरो सहित सुसज्जित गरेका थिए ।
२०८२ असार १० गते त नगर प्रहरीले कल्पना नै नगर्ने दङ्गा नियन्त्रण तालिम नै लियो । महानगर प्रहरी बलका १६० नगर जवानलाई बागदरबारस्थित कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गर्नेखालको तालिम दिइएको हो । काठमाडौँ महानगर प्रहरी बलका उच्च अधिकृतका अनुसार कार्यसम्पादनमा अवरोध आएको भन्दै लाठी र ढाल बोक्ने र सोही अनुसार भिड्न तालिम लिइएको थियो ।

ती अधिकृतका अनुसार १० जना प्रशिक्षकहरूबाट १६० नगर प्रहरी जवानलाई दंगा नियन्त्रणको तालिम प्रदान भएको थियो छ । ‘मुख्यतः आत्मसुरक्षा कसरी गर्ने, दंगा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषय प्रशिक्षणमा सिकाइन्छ,’ ती अधिकृतले भने । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको ड्रेस समेत नेपाली सेनाको सैनिक अधिकृतहरुले लगाउने जस्तै बनाएको भन्दै विरोध भएको थियो । यद्यपि अहिले पनि औपचारिक पोशाक त्यही नै छ ।
बालेन मेयर हुँदा काम गरेको नगर प्रहरी अधिकृत भन्छन्, ‘बालेनको भनेर कहिले निर्देशन आएन, सिधै राजु पाण्डेले बालेनको आदेश भन्दै हुकुम चलाउँथे । महानगर प्रहरी त्यो बेलादेखि झन् निर्मम भएको हो । अहिले पनि रबैया फेरिएको रहेनछ ।‘
रक्षा बमले सम्झिइन् महानगर प्रहरीको ‘प्लान्टेड’ प्रवृत्ति
त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको दुःखद् घटनालाई लिएर अभियन्ता रक्षा बमले काठमाडौँ महानगरपालिकाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन् । उनले गणेश नेपाली जस्ता नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थिति सिर्जना हुनुमा बालेन शाह काठमाडौँको मेयर हुँदा महानगर प्रहरीभित्र स्थापित गरिएको अमानवीय, असंवेदनशील र बलमिच्याइँको शैली जिम्मेवार रहेको दाबी गरेकी छिन् । विगतमा ३५ वर्षको राजनीतिक भारी पुराना दलहरूलाई बोकाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक तथा बालेनका प्रशंसकहरूले अब बालेनको तीनवर्षे कार्यकालको समीक्षा र त्यसको भारी बोक्न तयार हुनुपर्ने उनको तर्क छ ।
महानगर प्रहरीले निरन्तर गरिब, सडक व्यापारी र सुकमबासीको आत्मसम्मानमा प्रहार गरिरहेको र नेतृत्वले यसलाई मानवीय दृष्टिकोणबाट कहिल्यै नहेरेको उनले उल्लेख गरेकी छिन् ।

मेयरको चुनावी अभियानका क्रममा सडक व्यापारीहरूको सहज व्यवस्थापन गर्ने भन्दै ठुलो दाबी गरेका बालेन शाह महानगरको कमान्ड सम्हालेपछि एकाएक रूपान्तरित भएको आरोप अभियन्ता बमले लगाएकी छिन् । उनका अनुसार महानगर प्रमुख बनेपछि शाहको नीति कमजोर वर्गप्रति अनुदार बन्न पुग्यो । सडक व्यापारीहरूको अधिकारका लागि चमेली अभियान र अभियन्ता ईः ले महानगरपालिकाको कार्यालय बाहिर १९९ घण्टासम्म उभिएर विरोध प्रदर्शन गर्दा समेत नेतृत्वले संवादको कुनै पहल नगरेको उनले स्मरण गरेकी छन् । पछि आफ्नै सचिवालयभित्र विद्रोह हुने स्थिति सिर्जना भएपछि मात्र महानगर नेतृत्व केही लचिलो भएको र अदालतको आदेश आएपछि मात्र अनियन्त्रित गतिमा चलिरहेको डोजरको गति घटेको उनको विश्लेषण छ ।
काठमाडौँ महानगरपालिकामा विकास गरिएको यो कठोर शैली संरचनागत रूपमा तल्लो तहसम्म स्थापित भइसकेको र यसको प्रभाव देशका अन्य भागमा पनि देखिन थालेको अभियन्ताको तर्क छ । कर्णालीमा सडक छेउमा काफल बेचिरहेकी महिलामाथि भएको दुर्व्यवहार र वन कर्मचारीको आवरणमा गरिबको अटो भीरबाट गुल्टाइएको घटनालाई उनले यसै प्रवृत्तिको निरन्तरताका रूपमा रक्षा बमले अर्थ्याएकी छन् । समाजको एउटा ठुलो हिस्साले यस्ता निर्मम कदमहरूलाई प्रोत्साहन गरिरहेको र अन्यायमा परेका गरिबहरूको आँसु सामाजिक सञ्जालमा हाँसो र ‘मिम’ को विषय बन्ने गम्भीर सामाजिक विचलनका कारण पनि यो प्रवृत्ति बढिरहेको उनको ठम्याइ छ ।
गणेश नेपालीको आत्मदाहको घटनापछि समाजको एउटा तप्काले मृतकमाथि नै विभिन्न लाञ्छना लगाउन सुरु गर्ने र राज्यस्तरबाट यसको दोष सुनिता डंगोल नेतृत्वको महानगरलाई पन्छाउने प्रयास हुने आशंका अभियन्ता बमले गरेकी छिन् । यस किसिमका गम्भीर विषयहरूबाट जनआक्रोश बढ्न थालेपछि ध्यान मोड्नका लागि नयाँ फन्डा र विवादित विषयहरूलाई तुरुपका रूपमा अघि सार्ने आम प्रवृत्ति रहेको उनले उल्लेख गरेकी छन् ।

सुधन गुरुङका कारण उत्पन्न चर्को आलोचनालाई साम्य पार्न थापाथलीको सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाइएको र उनको पुनर्बहालीको सन्दर्भमा दरबार हत्याकाण्डको छानबिनको प्रसंग उठाइएको जस्तै गरी अब पनि नयाँ फन्डा सिर्जना गर्न खोजिने उनले दाबी गरेकी छन् ।
शाहले आफ्नो कार्यशैली नसच्याएसम्म र उनका गल्तीहरूलाई निरन्तर ढाकछोप गर्ने प्रशंसकहरूले उनलाई महानगरकालीन सत्ता सञ्चालनको दायित्वबोध नगराएसम्म यस्ता दुःखद् घटनाहरू दोहोरिइरहने अभियन्ताको ठहर छ । जबसम्म नेतृत्वले नागरिकमैत्री र मानवीय दृष्टिकोण अपनाउँदैन, तबसम्म कमजोर वर्गले राज्यको तर्सबाट प्रताडना झेलिरहनुपर्ने र गणेश नेपाली जस्ता सर्वसाधारणले ज्यान गुमाउनुपर्ने अवस्था कायम रहने भन्दै उनले राज्य र संयन्त्रको उदासीनताप्रति दुःख व्यक्त गरेकी छिन् ।
बालेनकै पालामा आएको थियो कानुनी अधिकार
काठमाडौँ महानगरपालिकामा बालेन नै मेयर हुँदा जारी गरेको ‘महानगर प्रहरी ऐन, २०८०’ ले महानगर प्रहरीलाई सवारी पार्किङ र सडकपेटीमा हुने अनधिकृत अवरोधहरूलाई हटाउन कानुनी वैधता पाएको थियो । विगतमा कार्यविधि वा प्रशासनिक निर्देशनका भरमा काम गर्दा भोग्नुपरेका कानुनी र व्यावहारिक जटिलताहरूलाई सम्बोधन गर्दै यस नयाँ ऐनमार्फत महानगर प्रहरीको काम, कर्तव्य र अधिकारलाई थप स्पष्ट र अधिकारसम्पन्न बनाइएको छ । ऐनको परिच्छेद–३ अन्तर्गत दफा ७ मा महानगर प्रहरीको काम र कर्तव्यको सीमा निर्धारण गरिएको छ ।
ऐनको दफा ७ को उपदफा (१) को खण्ड (ग) मा महानगरभित्रका बजार क्षेत्र र सवारी पार्किङ स्थलहरूको रेखदेख, अनुगमन तथा व्यवस्थापन गर्ने जिम्मेवारी महानगर प्रहरीलाई तोकिएको छ । यो व्यवस्था लागु भएसँगै फुटपाथ अतिक्रमण गरी गरिने व्यापार व्यवसाय नियन्त्रण गर्न तथा अनधिकृत र जथाभावी रूपमा सञ्चालन गरिने पार्किङ स्थलहरूलाई नियमन गर्न महानगर प्रहरीलाई कानुनी अधिकार प्राप्त भएको छ ।

यसैगरी महानगरपालिकाभित्रका सडक र गल्लीहरूमा जथाभावी निर्माण सामग्री थुपारेर सार्वजनिक आवागमन अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न ऐनमा कडा व्यवस्था गरिएको छ । ऐनको दफा ७ को उपदफा (१) को खण्ड (ठ) बमोजिम सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी कसैले ढुङ्गा, बालुवा, इँटा वा रड जस्ता निर्माण सामग्री राखेमा त्यसलाई तत्काल हटाउने अधिकार महानगर प्रहरीलाई दिइएको छ ।
यसबाहेक ऐनका अन्य परिपूरक व्यवस्थाहरूले सार्वजनिक सम्पत्तिको रक्षा, अनधिकृत संरचनाको निर्माणमा रोक र चोक तथा गल्लीहरूको संरक्षण गर्ने दायित्व पनि महानगर प्रहरीलाई सुम्पेका छन् । कानुनी स्पष्टतासँगै महानगर प्रहरीले गर्ने बजार अनुगमन र कारबाही प्रक्रिया थप पारदर्शी र न्यायसंगत बन्ने विश्वास लिइएको छ, जसले महानगरबासीको दैनिक जनजीवनलाई सहज बनाउनुका साथै सहरी सुव्यवस्था कायम राख्न मद्दत पुर्याउने छ । काठमाडौं महानगरपालिकाको यही अभ्यास देखेर देशका अन्य नगर प्रहरीहरुले पनि ठेला व्यवसायी, फुटपाथ व्यवसायीहरुलाई धरपकड गरेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण