सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

१८ वर्षपछि चेन्नई सुपर किंग्सबाट अलग भए फ्लेमिङ

सोमबार, २९ असार २०८३, १६ : ५८
सोमबार, २९ असार २०८३

सारांश

  • चेन्नई सुपर किंग्स (सीएसके) र मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङबिचको १८ वर्ष पुरानो सहकार्य आपसी सहमतिमा समाप्त भएको छ ।
  • सन् २००९ मा प्रशिक्षक बनेका फ्लेमिङको प्रशिक्षणमा चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको थियो ।
  • टोलीको खराब प्रदर्शनपछि फ्रेन्चाइजीले नयाँ ढङ्गबाट अघि बढ्ने निर्णय गरेको हो ।

मुम्बई । इन्डियन प्रिमियर लिग ९आईपीएल० को सबैभन्दा सफल टोली चेन्नई सुपर किंग्स (सीएसके) र मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङबिचको १८ वर्ष पुरानो सहकार्य समाप्त भएको छ । फ्रेन्चाइजीले सोमबार सामाजिक सञ्जालमार्फत यसको औपचारिक जानकारी दिएको हो । 

चेन्नईले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘हामीले आपसी सहमतिमा छुट्टिने निर्णय गरेका छौँ । हामीले आईपीएल इतिहासकै सबैभन्दा सफल र लामो समयसम्म टिकेको साझेदारीमध्ये एक अनुभव साटासाट गर्‍यौँ । तपाईंले निर्माण गर्नुभएको विरासतले हामीलाई सधैँ प्रेरित गरिरहनेछ । हार्दिक सम्मान र कृतज्ञताका साथ, धन्यवाद स्टिफन ।’

न्युजिल्यान्डका पूर्वकप्तान स्टिफन फ्लेमिङ आईपीएलको पहिलो संस्करणमा खेलाडीका रूपमा चेन्नईसँग जोडिएका थिए । सन् २००९ मा उनले टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए भने सन् २०१० मा टोलीलाई पहिलो पटक आईपीएलको उपाधि दिलाएका थिए ।

सहकार्य अन्त्य भएपछि फ्लेमिङले भने, ‘खेल जीवनमा १८ वर्षको अवधि एउटा पूरा जिन्दगी बराबर हो । चेन्नई सुपर किंग्ससँग बिताएको समय मेरो प्रशिक्षण करियरको सबैभन्दा ठुलो सम्मान रहेको छ ।’

उनले टोलीमा रहँदा सँगै मिलेर यादगार जितहरू हासिल गरेको, कठिन समयको सामना गरेको र सधैँ साथ रहने यादहरू बनाएको उल्लेख गर्दै सीएसके सधैँ आफ्नो हृदयको नजिक रहने र आगामी दिनमा पनि टोलीलाई समर्थन गरिरहने बताए ।

आईपीएल इतिहासकै सबैभन्दा सफल प्रशिक्षक

फ्लेमिङको रणनीति, शान्त नेतृत्व र खेलाडीहरूमाथिको भरोसा नै चेन्नईको मुख्य पहिचान बनेको थियो । उनी र महेन्द्र सिंह धोनीको जोडीलाई आईपीएल इतिहासकै सबैभन्दा सफल प्रशिक्षक(कप्तान जोडीका रूपमा लिइन्छ । फ्लेमिङकै प्रशिक्षणमा चेन्नईले पाँच पटक आईपीएलको उपाधि जित्न सफल भएको थियो ।

चेन्नई सुपर किंग्सले अन्तिम पटक सन् २०२३ मा आईपीएलको उपाधि जितेको थाल्यो । त्यसपछि टोलीको प्रदर्शन लगातार खस्किँदै गयो । टोली सन् २०२४ को सिजनमा पाँचौँ स्थानमा रह्यो भने सन् २०२५ मा अन्तिम स्थानमा पुग्यो । सन् २०२६ को हालै सम्पन्न सिजनमा पनि आठौँ स्थानमा सीमित हुँदै टोली प्लेअफको दौडबाट बाहिरियो ।

टोलीको यस्तो खराब प्रदर्शनपछि फ्रेन्चाइजीले नयाँ ढङ्गबाट अघि बढ्ने निर्णय गरेको हो । यससँगै फ्लेमिङसँगको लामो र सफल अध्यायको अन्त्य भएको छ । चेन्नईले आफ्नो बयानमा यो निर्णय दुवै पक्षबिच भएको खुला र सकारात्मक छलफलपछि लिइएको स्पष्ट पारेको छ ।

फ्रेन्चाइजीले नयाँ मुख्य प्रशिक्षकको नाम भने घोषणा गरिसकेको छैन । फ्लेमिङले सुपर किंग्स परिवार अन्तर्गतकै अन्य टोलीहरू टेक्सास सुपर किंग्स ९एमएलसी० र जोबर्ग सुपर किंग्स (एसए२०) सँग आफ्नो प्रशिक्षण भूमिकालाई निरन्तरता दिनेछन् वा छैन भन्ने कुरा पनि अझै स्पष्ट भइसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप