ईयूका २७ राष्ट्रभर साना बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी
ब्रसेल्स । युरोपेली संघ (ईयू)ले समूहका २७ सदस्य राष्ट्रभर साना बालबालिकाको सामाजिक सञ्जालमा पहुँच सीमित गर्ने तयारी गरेको छ ।
अनलाइन जोखिमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यसहित यस्तो व्यवस्था लागू गर्न लागिएको युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले सोमबार बताइन् । बालबालिकाको उमेरअनुसार सामाजिक सञ्जाल प्रयोगको व्यवस्था गर्नुपर्ने आवश्यकता स्पष्ट भएको ब्रसेल्समा पत्रकारहरूसँग कुरा गर्दै उनले बताइन् ।
उनका अनुसार अहिलेको मुख्य प्रश्न बालबालिका अनलाइन जोखिममा छन् कि छैनन् भन्ने र नभए उनीहरूलाई कसरी सुरक्षित डिजिटल वातावरण उपलब्ध गराउने भन्ने हो ।
उर्सुला भोन डर लेयनले यस अवसरमा दुई जना विज्ञले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेकी थिइन् । प्रतिवेदनमा उमेरका आधारमा चरणबद्ध पहुँच दिने व्यवस्था गर्न सिफारिस गरिएको छ । सिफारिसअनुसार १३ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावक, हेरचाहकर्ता वा शिक्षकको निगरानीमा सीमित समयका लागि मात्र सामाजिक सञ्जाल प्रयोग गर्न पाउनेछन् । किशोरावस्थामा उमेर बढ्दै जाँदा ती प्रतिबन्ध क्रमशः हटाइने प्रस्ताव गरिएको छ ।
युरोपेली आयोगले विज्ञहरूको सुझावलाई आधार बनाएर गर्मीयामपछि ठोस कानुनी प्रस्ताव सार्वजनिक गर्ने तयारी गरेको छ । भोन डर लेयनले आगामी सेप्टेम्बरमा हुने आफ्नो वार्षिक स्टेट अफ द युनियन सम्बोधनका क्रममा यससम्बन्धी योजना औपचारिक रूपमा घोषणा गर्ने अपेक्षा गरिएको छ ।
उनका अनुसार सामाजिक सञ्जाल मात्र नभई बालबालिकाका लागि अनुपयुक्त र लत लाग्ने प्रकृतिका अन्य डिजिटल प्लेटफर्महरू पनि नयाँ नियमको दायरामा पर्न सक्छन् । त्यसैले यो नीति केवल सामाजिक सञ्जालमा सीमित नभई बालबालिकाको सुरक्षामा चुनौती बन्न सक्ने अन्य अनलाइन सेवामा समेत लागू हुन सक्ने संकेत उनले दिइन् ।
उनले पहिले बालबालिकाका लागि सबैभन्दा बढी हानिकारक प्लेटफर्म कुन–कुन हुन भन्ने स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताइन् । त्यसपछि ती प्लेटफर्मका लागि उमेरअनुसार चरणबद्ध पहुँचको व्यवस्था लागू गर्न सकिने उनको भनाइ छ ।
यसअघि अस्ट्रेलिया, बेलायत, चीन, भारत र अमेरिकाले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन् वा त्यस्तो व्यवस्था लागु गर्नेबारे छलफल गरिरहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण