सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
राजनीति

राज्यले नागरिकको मुख थुनेर अधिनायकवादी शैलीमा शासन गर्न खोज्यो : गगन थापा

सोमबार, २९ असार २०८३, १८ : ५६
सोमबार, २९ असार २०८३

सारांश

  • नेपाली कांग्रेसले राज्यले नागरिकको मुख थुनेर अधिनायकवादी शैलीमा शासन गर्न खोजेको आरोप लगाएको छ।
  • पार्टी सभापति गगन थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले रोक्न नसक्ने भन्दै सरकारी संयन्त्रको दुरुपयोग भएको आरोप लगाए।
  • थापाले सुकुमबासी समस्यालाई दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको र सरकारले मानव जीवनको रक्षामा असंवेदनशील बनेको बताए।

काठमाडौँ । राज्यले नागरिकको मुख थुनेर अधिनायकवादी शैलीमा शासन गर्न खोजेको नेपाली कांग्रेसले आरोप लगाएको छ।

४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको विशेष छलफलमा पार्टी सभापति गगनकुमार थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले रोक्न नसक्ने भन्दै पार्टी नेता, सञ्चारमाध्यम र व्यवसायीलाई लक्षित गरी सरकारी संयन्त्रको दुरुपयोग भएको आरोप लगाए।

सुकुमबासी समस्या र गणेश नेपालीको आत्मदाह प्रकरणबारे दल र सञ्चारमाध्यमले प्रश्न उठाउन थालेपछि राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको दाबी गर्दै उनले नागरिकको निजी सम्पत्ति, आर्जन र जीवनमा क्षति पुर्‍याउने अधिकार राज्यलाई नभएको बताए।

थापाले सुकुमबासी समस्यालाई दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको उल्लेख गर्दै कानुनले दिएको निकास नखोजी सरकारले आफैँ समस्या सिर्जना गरेको आरोप लगाए। सरकारले हरेक नागरिकको अभिभावक र संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने भए पनि मानव जीवनको रक्षामा असंवेदनशील बनेको उनको भनाइ थियो।

सभापति थापाले साउन ६ गते पार्टीको ‘जरा अभियान’ सम्पन्न भएपछि साउन ७ गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन हुने नयाँ अभियान घोषणा गरिने जानकारी दिए। नेपाली कांग्रेस कुनै घटना भएपछि मात्र प्रतिक्रिया जनाउने पार्टी नभई सम्भावित नागरिक समस्यालाई उजागर गर्ने अभियानमा सक्रिय रहने उनले बताए।

कार्यक्रममा पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा पाँच किलोमिटर ‘ग्रिन रन’, चित्रकला प्रतियोगिता र संवाद कार्यक्रम आयोजना गरिने जानकारी दिए। जलवायु परिवर्तन र त्यसका प्रभावलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने तथा साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गरिने उनले बताए।

प्रतिष्ठानका अनुसार छलफलमा उपत्यकामा उपलब्ध पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य, भ्रातृ संस्थाका अध्यक्ष, उपत्यकाका जिल्ला सभापति र प्रतिष्ठानका सदस्यहरूको सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप