मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?

मङ्गलबार, ३० असार २०८३, १२ : ००
मङ्गलबार, ३० असार २०८३

सारांश

  • सन् २०२६ को फिफा विश्वकपमा पहिलो पटक लागू गरिएको टेनिस शैलीको नयाँ 'सीडिङ' (ड्र) प्रणाली प्रतियोगिताकै सबैभन्दा चर्चित विवादमध्ये एक बनेको छ।
  • फिफाले प्रतियोगितालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन यो प्रणाली लागू गरिएको दाबी गरे पनि धेरै विश्लेषक र समर्थकहरूले यसले शीर्ष वरीयताका टोलीहरूलाई स्पष्ट फाइदा पुगेको आरोप लगाएका छन्।
  • यस व्यवस्थाले शीर्ष टोलीहरूलाई तुलनात्मक रूपमा सहज यात्रा उपलब्ध गरायो भने मध्यमस्तरका टोलीहरूले सुरुदेखि नै कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपरेको टिप्पणी गरिएको छ।

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपमा पहिलो पटक लागू गरिएको टेनिस शैलीको नयाँ ‘सीडिङ’ (ड्र) प्रणाली प्रतियोगिताकै सबैभन्दा चर्चित विवादमध्ये एक बनेको छ। फिफाले यो प्रणाली प्रतियोगितालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन लागू गरिएको दाबी गरे पनि धेरै विश्लेषक र समर्थकहरूले यसले शीर्ष वरीयताका टोलीहरूलाई स्पष्ट फाइदा पुगेको आरोप लगाएका छन्।

फिफाको आधिकारिक भनाइअनुसार, ‘प्रतियोगितामा प्रतिस्पर्धात्मक सन्तुलन कायम राख्न सेमिफाइनलसम्म पुग्ने ठूला टोलीका लागि दुई छुट्टाछुट्टै प्रतिस्पर्धात्मक मार्ग (पाथवे) निर्धारण गरिएको हो।’ फिफाका अनुसार यस प्रणालीको उद्देश्य शीर्ष वरीयताका टोलीहरूलाई प्रतियोगिताको अन्तिम चरणसम्म एकअर्कासँग नजुधाई समग्र प्रतियोगितालाई व्यवस्थित बनाउनु हो।

यसै विषयमा बीबीसी स्पोर्टका फुटबल नियमसम्बन्धी विश्लेषक डेल जोनसन भन्छन्, ‘नयाँ ड्र प्रणालीअन्तर्गत विश्वका शीर्ष वरीयताका टोलीहरूलाई नकआउट चरणको फरक–फरक प्रतिस्पर्धात्मक मार्गमा राखिएको छ। त्यसैले उनीहरू प्रतियोगिताको अन्तिम चरणअघि एकअर्कासँग खेल्नुपर्ने अवस्था आउँदैन। यसले अघिल्ला विश्वकपहरूको तुलनामा प्रतियोगिताको संरचनालाई बढी पूर्वानुमानयोग्य बनाएको छ।’

अघिल्ला विश्वकपहरूमा नकआउट चरणको ड्र समूह चरणको नतिजाका आधारमा तय हुन्थ्यो। त्यसैले बलिया टोलीहरू प्रारम्भिक नकआउट चरणमै आमनेसामने हुने सम्भावना रहन्थ्यो। तर यसपटक शीर्ष वरीयताका टोलीहरूलाई सुरुदेखि नै फरक–फरक ब्र्याकेटमा राखियो। त्यसको प्रत्यक्ष परिणामस्वरूप विश्व वरीयताका शीर्ष चार टोली स्पेन, अर्जेन्टिना, फ्रान्स र इङ्ग्ल्यान्ड सेमिफाइनलसम्म पुग्न सफल भए।

यही कारणले नयाँ ड्र प्रणालीमाथि प्रश्न उठ्न थालेका छन्। धेरै विश्लेषकहरूको भनाइमा यस व्यवस्थाले शीर्ष टोलीहरूलाई तुलनात्मक रूपमा सहज यात्रा उपलब्ध गरायो भने मध्यमस्तरका टोलीहरूले सुरुदेखि नै कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्‍यो। उदाहरणका लागि, नर्वेले नकआउट चरणमै ब्राजिलसँग खेल्नुपरेको थियो भने अर्जेन्टिनाले तुलनात्मक रूपमा कमजोर वरीयताका टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पायो। यसले प्रतियोगिताको प्रतिस्पर्धात्मक सन्तुलनमा असर परेको टिप्पणी गरिएको छ।

रायटर्सले पनि आफ्नो विश्लेषणमा यसबारे प्रश्न उठाएको छ। समाचार संस्थाले लेखेको छ, ‘विश्वकपको नयाँ संरचना र प्रविधिमा आधारित निर्णय प्रक्रियाले निष्पक्षता तथा प्रतिस्पर्धात्मक विश्वसनीयतामाथि बहस सिर्जना गरेको छ। प्रतियोगिताको ढाँचा र अफिसियटिङमा गरिएका परिवर्तनहरूले विश्वकपप्रति विश्वास बढाउनुको सट्टा थप विवाद जन्माएको भन्दै आलोचना भइरहेको छ।’

यस्तै, बेलायती दैनिक द गार्डियनका अनुसार, ‘टेनिस शैलीको नयाँ सीडिङ प्रणाली विशेष रूपमा शीर्ष चार वरीयताका टोलीहरूलाई नकआउट चरणको फरक–फरक ब्र्याकेटमा राख्ने गरी तयार गरिएको थियो, ताकि उनीहरू सेमिफाइनलअघि एकअर्कासँग नखेलून्। यो विश्वकपको ड्र प्रणालीमा पछिल्ला दशकहरूमध्ये सबैभन्दा ठूलो परिवर्तनमध्ये एक हो।’

आलोचकहरूको भनाइमा यसले प्रतियोगिताको रोमाञ्चकता पनि घटाएको छ। उनीहरूका अनुसार विश्वकपको आकर्षण भनेकै बलिया टोलीहरू कुनै पनि चरणमा एकअर्कासँग भिड्न सक्ने अनिश्चिततामा हुन्छ। नयाँ प्रणालीले त्यस्तो सम्भावना कम गरिदिएको र शीर्ष टोलीहरूलाई अन्तिम चरणसम्म सुरक्षित राख्ने प्रयास गरिएको आरोप लागेको छ।

फुटबल विश्लेषकहरूको अर्को तर्क के छ भने विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगितामा सबै टोलीले समान अवसर पाउनुपर्छ। यदि प्रतियोगिताको संरचनाले नै केही टोलीका लागि सहज र केहीका लागि कठिन बाटो तय गरिदिन्छ भने त्यसले निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई कमजोर बनाउन सक्छ।

यद्यपि फिफाले भने यी आरोप अस्वीकार गर्दै नयाँ ड्र प्रणालीले प्रतियोगिताको सञ्चालन, टोलीहरूको यात्रा व्यवस्थापन र प्रसारण तालिकालाई अझ प्रभावकारी बनाएको जनाएको छ।

स्पेन, अर्जेन्टिना, फ्रान्स र इङ्ग्ल्यान्ड सेमिफाइनल पुगेपछि यो बहस झन् चर्किएको छ। अब भविष्यका विश्वकपमा फिफाले यही प्रणालीलाई निरन्तरता दिने वा पुनरावलोकन गर्ने भन्ने विषय फुटबल जगत्को महत्त्वपूर्ण बहसको केन्द्र बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप