मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
सारांश
- मनसुनको समयमा सडक अवरुद्ध हुन नदिन सडक विभागले देशभर विशेष तयारी गरेको छ ।
- देशभरका १४० संवेदनशील स्थानहरूमा १५५ हेभी इक्विपमेन्ट र अपरेटरहरू चौबीसै घण्टा तैनाथ राखिएका छन् ।
- नागढुंगा-मुग्लिन सडक खण्डका ९ स्थान पहिरोको उच्च जोखिममा रहेकाले विशेष सतर्कता अपनाइएको छ ।
काठमाडौँ । मनसुनको समयमा आउन सक्ने बाढी र पहिरोका कारण अवरुद्ध हुन सक्ने सडक तथा राजमार्गहरूलाई तत्काल सञ्चालनमा ल्याउन सडक विभागले देशैभर विशेष तयारी गरेको छ ।
विभागले देशभरका रणनीतिक र बढी जोखिम भएका स्थानहरूमा पहिरो पन्छाउने उपकरण तथा प्राविधिक जनशक्ति उच्च सतर्कताका साथ परिचालन गरेको हो । सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काका अनुसार अत्यधिक सवारी चाप र पहिरोको उच्च जोखिम रहेको पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडक खण्डमा विशेष सतर्कता अपनाइएको छ ।
देशभर १५५ हेभी उपकरण र ब्याकअपको व्यवस्था
मनसुन अवधिभर देशभरका सडक सञ्जाललाई चलायमान राख्न विभागले बृहत् कार्ययोजना नै बनाएर कार्यान्वयन गरिरहेको जनाएको छ । प्रवक्ता खड्काका अनुसार निर्माणाधीन सडकहरूको हकमा सम्बद्ध निर्माण व्यवसायीलाई आफ्नै स्रोत–साधन तयारी अवस्थामा राख्न अनिवार्य गरिएको छ भने चालु अन्य राष्ट्रिय राजमार्गहरूका लागि विभाग आफैँले विशेष व्यवस्था गरेको छ ।
विभागले देशभरका १४० संवेदनशील स्थानहरू पहिचान गरी १५५ वटा हेभी इक्विपमेन्ट (ठुला उपकरणहरू) र तिनका अपरेटरहरूलाई चौबीसै घण्टा तैनाथ राखेको छ । कुनै पनि स्थानमा ठुलो क्षति भई थप उपकरण आवश्यक परेमा तत्काल परिचालन गर्न थप १२२ वटा उपकरणहरू ब्याकअपका रूपमा तयारी अवस्थामा राखिएको छ ।
सडक अवरोधको सूचना संकलन र तत्काल उद्धार कार्यलाई व्यवस्थित बनाउन विभाग अन्तर्गतका हरेक डिभिजन सडक कार्यालयहरूमा विशेष कार्यदल (टास्क फोर्स) समेत गठन गरी परिचालन गरिएको प्रवक्ता खँड्काले जानकारी दिए ।
नागढुंगा–मुग्लिन खण्डका ९ स्थान उच्च जोखिममा
प्रवक्ता खँड्काले नागढुंगा–मुग्लिन पूर्वी खण्ड (नौबिसेदेखि मलेखुसम्म) ९ वटा स्थानलाई पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको जानकारी दिए । ती स्थानहरूमा पहिरो खस्नेबित्तिकै तत्कालै पन्छाएर यातायात अवरुद्ध हुन नदिन निर्माण व्यवसायीलाई आफ्ना उपकरणहरू चौबीसै घण्टा तयारी अवस्था (स्ट्यान्डबाई) मा राख्न निर्देशन दिइसकेको उनले बताए ।
‘हालै पनि फिस्लिङलगायत तीन स्थानमा गएको पहिरोलाई विभागको पूर्वतयारीका कारण आधा घण्टाभित्रै पन्छाएर सडक सुचारु गरिएको छ,’ प्रवक्ता खड्काले भने, ‘मौसम र वर्षाको अवस्था हेरी जोखिमयुक्त ठाउँहरू थपिन सक्ने भएकाले सोही अनुसारको प्रबन्ध मिलाइएको छ ।’ ती क्षेत्रहरूमा पहिरोको दीर्घकालीन नियन्त्रण र स्थिरिकरण (स्टेबिलाइजेसन) गर्ने कार्यलाई पनि अगाडि बढाइने विभागले जनाएको छ ।
कुनकुन हुन् उच्च जोखिम रहेका स्थान ?
हाल स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डअन्तर्गत नागढुंगा–नौबिसे (१२.२ किलोमिटर) र नौबिसे–मलेखु (४३.५ किलोमिटर) खण्डमा करिब ६४ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । तर, सडक विस्तारका क्रममा भित्ता काटिएको र भौगोलिक बनावट कमजोर भएकाले यस वर्षको मनसुनमा यात्रुले सास्ती खेप्न नपरोस् भनी उपकरण र जनशक्तिसहितको टोली तयारी अवस्थामा राखिएको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ ।
आयोजना कार्यालयले गरेको भौगर्भिक अध्ययन अनुसार यस सडक खण्डका नौवटा स्थानलाई पहिरोको अति उच्च जोखिममा राखिएको छ । जसमा नागढुंगा–नौबिसे खण्डको झ्याप्ले खोला, खत्रीपौवा र सिक्रे खोला रहेका छन् । त्यसैगरी नौबिसे–मलेखु खण्डअन्तर्गत ४ किलो, ७ किलो, ९ किलो, १३ किलो (कोइरालेभिर), मछेडी खोला र घाटबेशी क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।
यातायात सुचारु राख्न यस्ता छन् उपाय
नागढुंगा–मुग्लिन सडक खण्डमा यी क्षेत्रमाम हुनसक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै सडक विभागले विशेष २०८३ मनसुन पूर्वतयारी कार्ययोजना लागू गरेको छ । यस कार्ययोजनाले बाढी र पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गराउन विशेष रणनीति तय गरेको छ ।
सडक बन्द हुन नदिन र जोखिम न्यूनीकरण गर्न विभागले विभिन्न रोकथामका उपायहरू अपनाएको छ । विगतमा ठुलो क्षति व्यहोरेको झ्याप्ले खोला र महेश खोला क्षेत्रमा स्लोप म्यानेजमेन्ट, रक एन्करिङ, माइक्रो पाइलिङ र वाल निर्माणजस्ता कामहरू सम्पन्न भइसकेका छन् । यसका साथै ठाउँ ठाउँमा घाँस रोप्ने र जुट नेटिङलगायतका ‘बायो–इन्जिनियरिङ’ प्रविधिको प्रयोग गरिएको छ ।
विपद्को समयमा तत्काल सडक खुलाउन नौबिसे, महादेववेशी, चिराउदी र घाटबेशीलगायत क्याम्पहरूमा एक्स्काभेटर, लोडर र टिपरसहित प्राविधिक टोलीलाई चौबीसै घण्टा तैनाथ राखिएको छ । सडक अवरुद्ध भएको खण्डमा यात्रुलाई सडकको अवस्थाबारे रियल टाइम जानकारी दिन ट्राफिक प्रहरी र स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरिने कार्य योजनामा उल्लेख छ ।
भारी वर्षाका कारण मुख्य राजमार्ग लामो समयसम्म अवरुद्ध हुने अवस्था आएमा यात्रुलाई अलपत्र पर्न नदिन साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको समेत स्पष्ट खाका तयार पारिएको छ । यदि नागढुंगा–नौबिसे खण्ड बन्द भएमा काठमाडौँबाट बाहिरिने सवारी साधनले सीतापाइला–रामकोट–धार्के हुँदै गल्छी निस्कने बाटो प्रयोग गर्न सक्नेछन् । त्यस्तै,टोखा–त्रिशूली हुँदै गल्छी वा मलेखु निस्कने मार्ग पनि अर्को राम्रो विकल्प हुनसक्छ ।
नौबिसे–गल्छी खण्ड बन्द भएको अवस्थामा भने काठमाडौँ–नागढुंगा–नौबिसे हुँदै पालुङ–दामन निस्किएर हेटौँडा जान सकिनेछ । पूर्व तथा दक्षिणतर्फ जाने यात्रुहरूका लागि काठमाडौँबाट दक्षिणकाली–छैमले–सिस्नेरी वा फाखेल हुँदै कुलेखानी निस्किएर हेटौँडा जाने बाटो पनि खुला रहनेछ । यसबाहेक काठमाडौँबाट धुलिखेल हुँदै बिपी राजमार्गलाई पनि वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ ।
यदि गल्छी–मलेखु खण्ड बन्द भएमा त्रिशूली नदी पारि रहेका ग्रामीण कच्ची सडक तथा झोलुङ्गे र पक्की पुलहरूको प्रयोग गरी छोटो दूरी पार गर्दै मुख्य सडकमा जोडिन सकिने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण