बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक

बुधबार, ०६ साउन २०८३, १० : ५५
बुधबार, ०६ साउन २०८३

सारांश

  • पाकिस्तानका पेट्रोल पम्प सञ्चालकहरूले सरकारसँग वार्ता निष्कर्षमा नपुगेपछि देशभर अनिश्चितकालीन हड्तालको घोषणा गरेका छन् ।
  • अल पाकिस्तान पेट्रोल पम्प ओनर्स एसोसिएसनले डिलरको कमिसन वृद्धि र पेट्रोलियम पदार्थको मूल्य मासिक रूपमा निर्धारण गर्ने माग राखेको छ ।
  • सरकारले दैनिक मूल्य निर्धारण गर्ने नयाँ नीति लागू गर्नुअघि डिलरहरूसँग परामर्श नगरेको आरोप सञ्चालकहरूले लगाएका छन् ।

कराँची । पाकिस्तानका पेट्रोल पम्प सञ्चालकहरू हड्तालमा उत्रिएका छन् । सरकारसँगको वार्ता निष्कर्षमा नपुगेपछि उनीहरूले देशभर अनिश्चितकालीन हड्तालको घोषणा गरेका छन् । हड्तालका कारण जुलाई २२ को मध्यराति १२ बजेदेखि पाकिस्तानभरका सबै पेट्रोल पम्प अर्को सूचना जारी नभएसम्म बन्द रहनेछन् ।

अल पाकिस्तान पेट्रोल पम्प ओनर्स एसोसिएसनले जारी गरेको विज्ञप्तिमा पेट्रोलियम मन्त्री अली परवेज मलिकसँग भएको वार्तामा पेट्रोल पम्प सञ्चालकको मार्जिन वृद्धि र पेट्रोलियम पदार्थको मूल्य दैनिक निर्धारण गर्ने सरकारी प्रस्तावमा सहमति हुन नसकेको जनाएको छ ।

एसोसिएसनका अनुसार यस विषयमा पछिल्ला केही सातादेखि सरकारसँग निरन्तर छलफल भइरहेको थियो । तर कुनै सहमति नजुटेपछि आन्दोलनमा उत्रिन बाध्य भएको एसोसिएसनको भनाइ छ । सरकारले आफ्ना मागमा सकारात्मक र स्वीकार्य निर्णय नगरेसम्म हड्ताल जारी रहने संगठनले स्पष्ट पारेको छ ।

एसोसिएसनका अध्यक्ष हुमायूँ खानले डिलरको कमिसन वृद्धि र पेट्रोलियम पदार्थको मूल्य मासिक रूपमा निर्धारण गर्ने व्यवस्था आफ्नो प्रमुख माग रहेको बताए । उनका अनुसार हालको मूल्य निर्धारण प्रणालीका कारण डिलरहरूले विभिन्न आर्थिक समस्या भोगिरहेका छन् ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य दैनिक रूपमा निर्धारण गर्ने नयाँ नीति लागू गर्नुअघि डिलरहरूसँग कुनै परामर्श नगरेको आरोप पनि उनले लगाए । गत साता इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा पेट्रोलियम मन्त्री अली परवेज मलिकले अबदेखि आयल एन्ड ग्यास रेगुलेटरी अथोरिटी (ओग्रा)ले सात दिनको सट्टा दैनिक रूपमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने घोषणा गरेका थिए ।

उनका अनुसार नयाँ व्यवस्था अन्तर्गत ओग्राले प्रत्येक दिन आफ्नो वेबसाइटमार्फत इन्धनको मूल्य सार्वजनिक गर्नेछ र मूल्यमा हुने कुनै पनि परिवर्तन तत्काल लागू गरिनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप