शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईसीसी लिग डिभिजन २

नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप

बिहीबार, ०७ साउन २०८३, २१ : ५६
बिहीबार, ०७ साउन २०८३

सारांश

  • नेपाली टोली आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।
  • नेपालले प्रस्तुत गरेको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाएर सहजै पूरा गर्‍यो ।
  • नेपालको फितलो ब्याटिङले गर्दा टोली ४४.४ ओभरमा १५७ रनमा समेटिएको थियो, जसमा आरिफ शेखले सर्वाधिक ४१ रन बनाए ।

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाली टोली पुनः पराजित भएको छ । घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गर्दै सहज जित हात पारेको हो । नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाएर ३५ बल बाँकी छँदै पूरा गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा कप्तान तथा विकेटकिपर स्कट एडवर्ड्सले कप्तानी पारी खेले । उनले ८९ बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित ६१ रन बनाए । त्यस्तै नोआ क्रोसले ५९ बलमा ३४ रन बनाउँदै एडवर्ड्सलाई उत्कृष्ट साथ दिए । यी दुईबिच पाँचौँ विकेटका लागि भएको अविजित साझेदारी नै नेदरल्यान्ड्सको जितको मुख्य आधार बन्यो । 

यसअघि नेदरल्यान्ड्सका ओपनर सेड्रिक डि लान्गेले २१ रन, जाक लायन क्याचेटले २१ रन र म्याक्स ओुडाउडले ९ रन जोडेका थिए भने बास डि लिडे मात्र १ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान १–१ विकेट लिए भने जाक लायन क्याचेटलाई करण केसीले रनआउट गराएका थिए । 

नेपालको फितलो ब्याटिङ

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ९० बल खेल्दै ४ चौका प्रहार गरे । यस्तै गुल्शन झाले ४२ बलमा १ चौका र २ छक्काको मद्दतमा २९ रन बनाए भने ऐरीले ४२ बलमा २१ रन जोडे । तल्लो क्रमका करण केसी १३ रनमा अविजित रहे भने आसिफ शेखले १४ रन र सोमपाल कामीले १० रन बनाएका थिए । 

नेपालको शीर्ष क्रमका ब्याटरहरू पुनः फ्लप साबित भए । ओपनर कुशल भुर्तेल ९ रन, ईशान पाण्डे ४ रन र कप्तान रोहित पौडेल मात्र ३ रन बनाएर पेभेलियन फर्किएका थिए भने सन्दीपले खाता नै खोल्न सकेनन् ।

नेदरल्यान्ड्सका बलरहरूले कसिलो बलिङ गर्दै नेपाली ब्याटरहरूलाई निरन्तर दबाबमा राखेका थिए। नेदरल्यान्ड्सका लागि अलेक्ज्यान्डर रोयले ३ विकेट लिए भने लोगान भान भिक र रोयलोफ भान डर मर्वले समान २–२ विकेट हात पारे। यस्तै काइल क्लाइनले १ विकेट लिए । 

नेपाली टोलीको ब्याटिङमा देखिएको खराब प्रदर्शनले निरन्तरता पाएको छ। यसअघि भएको खेलमा पनि नेपाल नामिबियासँग ८ विकेटको भारी अन्तरले पराजित भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप