नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि
सारांश
- देशकै पहिलो नागढुंगा सुरुङमार्ग भोलि औपचारिक उद्घाटन हुनेछ, तर सर्वसाधारणका सबै गाडीले भोलिदेखि नै यो मार्ग प्रयोग गर्न पाउने छैनन् ।
- उद्घाटन लगत्तै सुरुङमार्ग चरणबद्ध रूपमा सञ्चालनमा ल्याइनेछ, जसमा पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन जस्ता आपतकालीन एवं अत्यावश्यक गाडीहरूलाई मात्र प्रवेश दिइनेछ ।
- एक सातादेखि १० दिनसम्म अत्यावश्यक सवारीसाधन मात्र चलाएर सुरुङभित्रको सुरक्षा स्थिति र ट्राफिक व्यवस्थापनको परीक्षण गरिनेछ, जसपछि साना र ठुला सवारीसाधनलाई क्रमशः प्रवेश अनुमति दिइनेछ ।
काठमाडौँ । देशकै पहिलो नागढुंगा सुरुङमार्गको भोलि औपचारिक उद्घाटन हुँदैछ । सरकार, जापानी दूतावास र जापान सहयोग नियोग (जाइका) का उच्च अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो । उद्घाटनसँगै निर्माण पक्षले उक्त सुरुङमार्ग हस्तान्तरण समेत गर्नेछ ।
सामान्यतया उद्घाटन हुने बित्तिकै अब सबै गाडीहरू सुरुङमार्गबाट चल्न थाल्छन् भन्ने आम अपेक्षा हुन सक्छ । तर, सर्वसाधारणका सबै गाडीले भोलिदेखि नै यो मार्ग प्रयोग गर्न पाउने छैनन् ।
आयोजनाका अनुसार उद्घाटन लगत्तै सुरुङमार्ग सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने छैन । बरु चरणबद्ध रूपमा मात्र सञ्चालनमा ल्याइनेछ ।
पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन जस्ता आपतकालीन एवं अत्यावश्यक गाडीहरूलाई मात्र प्रवेश दिइने आयोजनाले जनाएको छ । उद्घाटनमा सहभागी बाहेक भोलिदेखि यही वर्गका सवारीलाई मात्रै प्रवेश दिइनेछ ।
आयोजनाका अनुसार एक सातादेखि १० दिनसम्म अत्यावश्यक सवारीसाधन मात्र चलाएर सुरुङभित्रको सुरक्षा स्थिति र ट्राफिक व्यवस्थापनको परीक्षण गरिनेछ । परीक्षण अवधिभर प्रवेश पाउने गाडीले कुनै पनि प्रकारको दस्तुर तिर्नुपर्ने छैन ।
यदि प्राविधिक र सुरक्षा जाँचको काम अपेक्षा गरेभन्दा चाँडो सकिएमा १० दिन अगावै पनि अन्य गाडीका लागि सुरुङमार्ग खुला हुनसक्ने आयोजनाले जनाएको छ ।
पहिलो चरणको परीक्षणपछि दोस्रो चरणमा साना सवारीसाधनलाई र अन्तिम चरणमा मात्रै बसलगायतका ठुला सार्वजनिक गाडीलाई प्रवेश अनुमति दिइने आयोजनाले जनाएको छ ।
सरकारले उक्त सुरुङ मार्ग प्रयोग गरेबापत हलुका सवारीसाधनलाई काठमाडौँ भित्रिँदा ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ तोकेको छ ।
त्यस्तै, मझौला सवारीसाधन काठमाडौँ भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, ठुला सवारीसाधन काठमाडौँ भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तथा भारी सवारीसाधन काठमाडौँ भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० शुल्क निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
-
चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए
-
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
-
लगातार हारको शृङ्खला तोड्ने दाउमा नेपाल
-
पानीमा घिउ हालेर पिउनु कति लाभदायक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण