आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
प्रश्नपत्र लिक प्रकरण

एमबीएस प्रश्नपत्र लिक प्रकरणः कसरी हुँदै छ छानबिन ?

आइतबार, १० साउन २०८३, १९ : ५७
आइतबार, १० साउन २०८३

सारांश

  • त्रिवि स्नातकोत्तर तहको 'अर्गनाइजेशनल बिहेभियर' विषयको प्रश्नपत्र लिक प्रकरणमा छानबिन प्रक्रिया अघि बढेको छ ।
  • त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयले गठन गरेको छानबिन समितिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समन्वयमा छानबिन सुरु गरेको छ ।
  • शिक्षा मन्त्रीले घटनालाई गम्भीरतापूर्वक लिँदै दोषीमाथि कारबाही हुने बताएका छन् र हालसम्म दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेभियर’ विषयको प्रश्नपत्र लिक प्रकरणमा छानबिन प्रक्रिया अघि बढेको छ ।

त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयले गठन गरेको छानबिन समितिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समन्वयमा छानबिन सुरु गरेको हो । समितिका संयोजक प्राडा अच्युत ज्ञवालीले डिन कार्यालयबाटै छानबिनको काम सुरु हुने र समितिलाई सात दिनको समय दिइएको जानकारी दिए । 

संयोजक ज्ञवालीले रातोपाटीसँग भने, 'छानबिन समितिको काम सुरु भइसकेको छ । सीआईबीसँगको समन्वयमा विवरण मागेर हामीले प्रक्रिया अघि बढाएका छौँ । सम्बन्धित क्याम्पस कुन हो भन्नेबारे सीआईबीले ट्र्याकिङ गरिसकेको छ । सोहीअनुसार आगामी रणनीति तय गर्न भोलि समितिको बैठक बस्दै छ ।' 

यद्यपि, छानबिन समितिको निष्पक्षतामाथि सरोकारवालाहरूले प्रश्न उठाएका छन् । परीक्षा केन्द्र तोक्ने अख्तियारी पाएको व्यवस्थापन संकायको डिन कार्यालयबाटै प्रश्नपत्र लिक भएको आशङ्का गरिएकाले सोही कार्यालयले गठन गरेको समिति निष्पक्ष हुन नसक्ने उनीहरूको तर्क छ । 

यसैबिच, शिक्षा मन्त्रीले यस विषयलाई गम्भीरतापूर्वक लिइएको र दोषीमाथि कारबाही हुने बताएका छन् । उनले भने, 'एमबीएस पहिलो वर्षको प्रश्नपत्र लिक भएको जानकारी पाउनेबित्तिकै मैले त्रिविका उपकुलपतिसँग कुरा गरेँ । सुरुमा ह्वाट्सएपमार्फत प्रश्नपत्र बाहिरिएको देखिएकाले हामीले प्रहरीको साइबर ब्युरोमा पठायौँ । त्यसपछि गृह मन्त्रालयको समन्वयमा छलफल गरी प्रहरीले संलग्नहरूको ट्रयाकिङ सुरु गर्‍यो । आज बिहानसम्म दुई जना पक्राउ परिसकेका छन् । घटनामा विश्वविद्यालय बाहिरका ट्युसन शिक्षकहरूको संलग्नता हुन सक्ने प्रारम्भिक रिपोर्ट आएको छ । प्रहरीको पूर्ण छानबिनपछि थप विवरण स्पष्ट हुनेछ ।'

यता, त्रिवि स्ववियुले भने व्यवस्थापन संकायका डिनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरिसकेको छ ।

गठित छानबिन समितिको सदस्यहरूमा केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा समितिका सदस्य महेशराज ओझा रहेका छन् । गत बिहीबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको एमबीएस पहिलो सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेभियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको थियो । प्राप्त प्रमाणअनुसार दिउँसो १२ बजेर ६ मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा पुगिसकेको देखिन्छ । 

सामान्यतया परीक्षा सुरु हुनुभन्दा केही दिनअघि सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पठाउने र परीक्षा सुरु हुनुभन्दा केही समयअघि केन्द्राध्यक्षको रोहवरमा सीलबन्दी खोलेर विद्यार्थीलाई वितरण गर्ने प्रावधान छ । तर, वितरण भएकै केही मिनेटभित्र प्रश्नपत्र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि यो घटना सार्वजनिक भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप