१८ जनाको पासपोर्ट र १ करोडभन्दा बढी रकम लिएर फरार (भिडिओ रिपोर्ट)
सारांश
- चन्द्र थापा मगर नाम बताउने एक व्यक्तिले वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिने भन्दै १८ जनाबाट १ करोड ४ लाख रुपैयाँ ठगी गरेका छन् ।
- थापाले कोरियाको पर्मानेन्ट रेसिडेन्ट (पीआर) कार्ड देखाउँदै विवाह गरेर सबैलाई कोरियामा काम लगाइदिने आश्वासन दिएका थिए ।
- पीडितहरूले मे २६ मा कोरिया उडाउने आश्वासन दिँदै ठगले ठमेलको अर्किड टुर्स एन्ड ट्राभल्स प्रालिबाट हवाई टिकट काटेको र रकम लिएर फरार भएको बताएका छन् ।
काठमाडौँ । वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिने प्रलोभन देखाएर 'चन्द्र थापा मगर' नाम बताउने एक व्यक्तिले १८ जनाबाट १ करोड ४ लाख रुपैयाँ ठगी गरेका छन् ।
पीडितहरूसँग विभिन्न होटेलमा भेटेर नगद र पासपोर्ट लिएपछि उनी फरार भएका हुन् ।
थापाले कोरियाको पर्मानेन्ट रेसिडेन्ट (पीआर) कार्ड देखाउँदै ‘आफूले कोरियन महिलासँग विवाह गरेको र सबैलाई कोरियामा काम लगाइदिने’ सपना बाँडेका थिए । पीडितहरूलाई मे २६ (जेठ १२ गते) कोरिया उडाउने आश्वासन दिँदै उनले ठमेलको छाया सेन्टरस्थित अर्किड टुर्स एन्ड ट्राभल्स प्रालिबाट सोही मितिको हवाई टिकटसमेत काटेका थिए ।
‘हामीलाई कोरिया पठाउने कुरामा विश्वास भयो र सबैले मरिहत्ते गरेर पैसा जुटायौँ । तर, त्यही विश्वास नै हाम्रो सबैभन्दा ठुलो भूल बन्यो,’ पीडित निर्मला लामाले भनिन्, ‘जेठ १२ गतेअगावै उनी हामीलाई ठगेर बेपत्ता भए ।’ निर्मलाजस्तै ठगीमा परेका १८ जना पीडित यतिबेला न्यायको खोजीमा भौतारिइरहेका छन् ।
अभियुक्त थापाले उनीहरूलाई कोरियाको कृषि क्षेत्रमा स्पोन्सरमार्फत लैजाने प्रलोभन देखाएका थिए । ‘उनले कहिले होटल त कहिले सार्वजनिक स्थानमा भेटेर पैसा लिने गर्थे । धेरैजसो रकम हामीले हातहाती नै बुझायौँ,’ पीडित निर्मलाले थपिन्, ‘हामीले अनलाइन पेमेन्ट वा बैंक ट्रान्सफर गर्न खोज्दा उनले अनेक बहाना बनाएर पन्छाउने गर्थे ।’
थापाले निर्मला र उनका साथीहरूलाई नक्कली भिसाको कागज देखाउँदै २२ तारिखमा उड्ने तय भइसकेको भन्दै ढुक्क हुन भनेका थिए । भिसा स्वीकृत भइसकेकाले अब टिकट काट्नुपर्छ भन्दै उनले प्रतिव्यक्ति ७ देखि ८ लाख रुपैयाँसम्म असुल गरेको पीडितहरू बताउँछन् ।
‘कोरिया पुगेपछि सबै दुःख सकिन्छ भन्ने आशा थियो, तर अहिले त बाँच्नै धौ–धौ पर्ने अवस्था आयो,’ नाम नखुलाउने सर्तमा अर्की एक पीडितले भनिन् । कोरिया उड्ने मिति नजिकिँदै गर्दा थापाले मोबाइल बन्द गरेर सम्पर्कविहीन भएको उनले बताइन् ।
आरोपी थापाले आफू पोखराको बिरौटाको बासिन्दा भएको बताएका थिए र उनको नागरिकतामा पनि सोही ठेगाना उल्लेख छ । तर, ती सबै विवरण नक्कली हुन सक्ने पीडितहरूको आशङ्का छ । अहिले पीडितहरू न्यायका लागि मिडिया र सरोकारवाला निकायको ढोका ढक्ढक्याइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण