आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

भलिबल लिगमा अक्सनबाट छानिए यी खेलाडी, को कतिमा बिके ?

आइतबार, १० साउन २०८३, २२ : ००
आइतबार, १० साउन २०८३

सारांश

  • नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) का लागि ६ वटा फ्रेन्चाइज टोलीले अक्सनमार्फत खेलाडी छनोट गरेका छन् ।
  • अक्सनमा कर्णाली शिवराजले ए श्रेणीका चार खेलाडीलाई अधिकतम १ लाख २० हजार रुपैयाँमा अनुबन्ध गरेको छ ।
  • यस लिगले नेपाली भलिबललाई व्यावसायिक उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) का लागि ६ वटा फ्रेन्चाइज टोलीले अक्सनमार्फत आफ्ना खेलाडीहरूको छनोट टुङ्ग्याएका छन् । 

केडिया ग्रुपको आयोजनामा भदौ १२ गतेदेखि काठमाडौँमा सुरु हुने यस ऐतिहासिक लिगका लागि आइतबार भएको अक्सनमा कुल १२९ खेलाडी सहभागी थिए, जसमध्ये ६ वटा टोलीले ए र बी श्रेणीका उत्कृष्ट खेलाडीहरूलाई मोटो रकम खर्चेर आफ्नो टोलीमा भित्र्याएका हुन् । 

अक्सनमा कर्णाली शिवराजले ए श्रेणीका चारैजना खेलाडीहरूलाई अधिकतम १ लाख २० हजार रुपैयाँका दरले अनुबन्ध गर्दै बलियो उपस्थिति जनाएको छ । कर्णालीले निरपध्वज बस्नेत, विनोद बहादुर चन्द, सुरज चुनारा र सनोज चौधरीलाई समान १ लाख २० हजारमा खरिद गरेको हो । त्यस्तै श्रेणी बी बाट सन्दीप लुहार, बलराम गुरुङ र सुनील ठकुल्लालाई जनही ५० हजारमा टोलीमा समावेश गरेको छ । 

खप्तड फाल्कन्स सुदूरपश्चिमले पनि आफ्नो टोली सन्तुलित बनाउन सरोज बर्देवा र प्रेमप्रसाद गौतमलाई समान १ लाख २० हजार रुपैयाँमा भित्र्याएको छ । सोही टोलीमा इन्द्र बीके र विपाश थापा १ लाखका दरले अनुबन्ध भएका छन् भने श्रेणी बी बाट पारस बोहोरालाई ७० हजार तथा नवराज थापा मगर र नवराज धामीलाई ५०–५० हजारमा लिइएको छ । 

काठमाडौँ रेड्सले सन्तोष बीके, सन्तोष राई र चिरञ्जीवी खड्कालाई जनही १ लाख २० हजारमा खरिद गरेको छ भने बलदेव सिंह धामीलाई १ लाखमा आफ्नो बनायो । श्रेणी बी बाट पुस्कर सिंह धामी र जित बहादुर ढुङ्गाललाई ७०–७० हजार तथा दिपेश कुँवरलाई ५० हजारमा अनुबन्ध गरिएको छ । 

यता अन्नपूर्ण स्पाइकर किङ्ग्सले राजेन्द्र धामी र सुरेन्द्र खत्रीलाई १ लाख २० हजारका दरले खरिद गर्दा रवि केसी र विवश अधिकारीलाई जनही १ लाखमा टोलीमा स्वागत गरेको छ । यो टोलीले श्रेणी ुबीु बाट विवश आले, जित बहादुर सार्की र देव राना मगरलाई जनही ५० हजारमा भित्र्याएको छ । 

सगरमाथा स्म्यासर्सको तर्फबाट सुवास कुँवर १ लाख २० हजारमा सबैभन्दा महँगो खेलाडीका रूपमा छानिएका छन् । रूपेन्द्र नेपालीलाई १ लाख ५ हजारमा अनुबन्ध गरेको यस टोलीले भीम बहादुर गाहा र दीपक राज जोशीलाई समान १ लाखमा खरिद गर्‍यो । श्रेणी ुबीु का खेलाडीहरू रमेश बम, सञ्जोग परियार र रेशम छन्त्याललाई ५०–५० हजार खर्चिएको छ । 

त्यस्तै, मधेश वारियर्सले सन्तोष महता र धन बहादुर भट्ट क्षेत्रीलाई १ लाख २० हजारका दरले अनुबन्ध गरेको छ भने रामविनय यादव र राजन थापालाई १–१ लाखमा टोलीमा समेटेको छ । श्रेणी ुबीु बाट बिप्सन शाही ठकुरीलाई ७० हजार तथा सञ्जु विक्रम शाह र रविन रसाइलीलाई ५० हजारका दरले अनुबन्ध गर्दै मधेशले आफ्नो टिम पुरा गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने यस लिगले नेपाली भलिबललाई व्यावसायिक उचाइमा पुर्‍याउने विश्वास गरिएको छ । अक्सनमा श्रेणी ‘ए’ का लागि न्यूनतम १ लाख र अधिकतम १ लाख २० हजार तथा श्रेणी ‘बी’ का लागि न्यूनतम ५० हजार र अधिकतम ७० हजार रुपैयाँ मूल्य तोकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप