सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई

आइतबार, १० साउन २०८३, २२ : ४२
आइतबार, १० साउन २०८३

सारांश

  • कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमालेका सचिव शेरधन राईले आफूहरू सरकारमा रहेको समयमा गोर्खाहरूका समस्या र गैरआवासीय नेपालीहरूको नागरिकताको मुद्दालाई सम्बोधन गर्न नसक्नु गल्ती भएको स्वीकार गरेका छन् ।
  • राईले विगतमा सरकारमा रहँदा गोर्खाहरूको जायज माग र नागरिकताको विषयमा ठोस निर्णय लिन नसक्नु कमजोरी भएको र यसमा गल्ती महसुस गरेको बताए ।
  • कार्यक्रममा वक्ताहरूले दोहोरो नागरिकताको सुनिश्चितता, गोर्खाहरूको समान अधिकार र समसामयिक राजनीतिक मुद्दाहरूमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

लन्डन । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमालेका सचिव शेरधन राईले आफूहरू सरकारमा रहेको समयमा गोर्खाहरूका समस्या र गैरआवासीय नेपालीहरूको नागरिकताको मुद्दालाई सम्बोधन गर्न नसक्नु गल्ती भएको स्वीकार गरेका छन् ।

 प्रवासी नेपाली मञ्च युके, साउथ इष्ट कमिटीद्वारा आइतबार लन्डनमा आयोजित आफ्नो सम्मान, स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता राईले यस्तो आत्मसमीक्षा गरेका हुन् । 

मञ्चको साउथ इष्ट कमिटीका अध्यक्ष प्रमिश शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राईले भने, 'विगतमा हामी सरकारमा रहँदा गोर्खाहरूको जायज माग र नागरिकताको विषयमा ठोस निर्णय लिनुपर्ने थियो, तर विभिन्न कारणले त्यसलाई सम्बोधन गर्न सकिएन । सरकारमा हुँदा पनि यो विषय टुङ्ग्याउन नसक्नु हाम्रो कमजोरी थियो, यसमा म गल्ती महसुस गर्दछु ।'

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले प्रवासमा रहेका नेपालीहरूको समस्या र नेपाल सरकारबाट अपेक्षित सहयोगका बारेमा धारणा राखेका थिए । त्यस्तै, मञ्च अन्तर्राष्ट्रिय कमिटीकी केन्द्रीय सदस्य सरस्वती केसी, मञ्च युकेका अध्यक्ष पशुपति पोखरेल, पूर्व उपाध्यक्ष कुमार केसी, वर्तमान उपाध्यक्षद्वय प्रतिमा केसी र लीलामान शेरपुन्जाले पनि समसामयिक राजनीतिक विषय र डायस्पोराका नेपालीले भोग्नुपरेका कठिनाइबारे बोलेका थिए ।

कार्यक्रमका वक्ताहरूले दोहोरो नागरिकताको सुनिश्चितता, गोर्खाहरूको समान अधिकार र समसामयिक राजनीतिक मुद्दाहरूमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप