सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै

सोमबार, ११ साउन २०८३, ०५ : १८
सोमबार, ११ साउन २०८३

सारांश

  • नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ, जसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ ।
  • उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ र केही दिन परीक्षणपछि सबै वर्गका सवारीसाधनलाई सञ्चालनमा ल्याइनेछ ।
  • सुरुङमार्गबाट कार, भ्यान, बस, ट्रक, मिनीबस र टिपरले शुल्क तिरेर यात्रा गर्न पाउनेछन् भने पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र प्रज्वलनशील पदार्थ बोक्ने सवारीलाई प्रवेश निषेध गरिएको छ ।

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।

उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ । पूर्वाधार विकासमन्त्रीको प्रमुख आतिथ्यमा आज बिहान १०ः२५ बजे सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रमअनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नेछन् । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ ।

केही दिन सुरुङमार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारीसाधनलाई सञ्चालन हुन दिइनेछ । सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारीसाधनलाई सञ्चालन हुन दिइने बताइएको छ । परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन ।

कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ । सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा रु ६५ र बाहिरिँदा रु ६० शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा रु ११५ र बाहिरिँदा रु ८० बराबरको शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा रु २६० र बाहिरिँदा रु २०० बराबरको शुल्क तिर्नुपर्नेछ ।

त्यस्तै, पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ ।

सो आयोजनामा मुख्य एवं उद्धार गरी दुई वटा सुरुङमार्ग छन् । मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ । सुरुङमार्गको निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो ।

आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरुक्षाका लागि दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र उपलब्ध छ ।

यस्तै, अक्सिजनको निरन्तर प्रवाह र अन्य अत्यावश्यक सेवा उपलब्ध गराइएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा टुङ्गिनेछ । हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका हिसाबले इन्धन र सडक उपभोक्ताको झन्डै एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ ।

सुरुङमार्ग निर्माणमा जापान सरकारको रु २१ अर्ब बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु ६ अर्ब बराबरको लगानी रहेको छ । सुरुङमार्ग सञ्चालन, व्यवस्थापनका लागि व्यवसायी छनोट भई परिचालित भइसकेको छ । सुरक्षाकर्मी तथा अन्य प्राविधिक कर्मचारीले नियमित अनुगमन तथा निरीक्षण गरिरहेका छन् ।

सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने गरी आवश्यक प्रबन्ध गरिएको छ । निर्माण सुरु गर्दा ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोराना महामारी तथा अन्य केही जटिलताका कारण आयोजनाको समय लम्बिन पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप