सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडक खण्ड : पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

सोमबार, ११ साउन २०८३, १५ : ५३
सोमबार, ११ साउन २०८३

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ ।

बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरे जानकारी दिए । उनका अनुसार मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र मिनी एक्साभेटर राखिएको छ ।

हालै मात्र ठेक्का लागेको तुईन खोलामा निर्माण कम्पनीले एक्साभेटर र लोडरको व्यवस्थापन गरेको छ । त्यस क्षेत्रमा पहिरो खस्नासाथ नजिकमा रहेका उपकरण पन्छाउन प्रयोग गरिने छ । तुईन खोलामा रहेका उपकरण भने सामान्य अवस्थामा त्यसै क्षेत्रको पहिरो पन्छाउन मात्र परिचालन गरिनेछ ।

ठूलो क्षेत्रमा पहिरो आएमा ‘हेभी इक्युपमेन्ट’ कार्यालय हेटौँडा र पोखराबाट समेत उपकरण झिकाइने इन्जिनियर घिमिरेले बताए । उनले त्यस क्षेत्रमा पहिरो खस्नासाथ पन्छाउन सक्ने गरी उपकरण र जनशक्ति तयारी अवस्थामा व्यवस्थापन गरिएको जानकारी दिए । वर्षात् सुरु भए सँगै दैनिक जसो ठूला–साना पहिरो झरिरहेका छन् ।

ती पहिरालाई पन्छाएर सडक सुचारु गर्ने काम भइरहेको छ । सो सडकखण्डमा मध्यमदेखि उच्चसम्मका गरी ४३ ठाउँमा पहिरोको जोखिम छ । त्यसमध्ये सात ठाउँमा उच्च जोखिम छ भने अन्य ठाउँमा मध्यम छन् । हिउँदमा समेत उक्त सडकखण्डमा सुख्खा पहिरो जाने गरेको छ ।

मुलुकका विभिन्न भागबाट त्यही राजमार्ग भएर दैनिक हजारौँको सङ्ख्यामा सवारीसाधन राजधानी भित्रने र बाहिरिने गर्दै आएको पाइन्छ । हाल राजधानी काठमाडौँको लाइफलाइनका रुपमा त्यो सडक रही आएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप