सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस

सोमबार, ११ साउन २०८३, १५ : ५५
सोमबार, ११ साउन २०८३

सारांश

  • भारतीय मुक्केबाज ज्यास्मिन लाम्बोरिया ग्लासगो राष्ट्रमण्डल खेलकुदमा स्वर्ण पदकको बलियो दाबेदार हुन्।
  • पेरिस ओलम्पिकबाट बाहिरिएपछि शारीरिक र मानसिक रूपमा परिवर्तन आएको र यसले आँखा खोलिदिएको लाम्बोरियाले बताइन्।
  • भारतीय सेनाकी पहिलो महिला मुक्केबाजको रूपमा ज्यास्मिन लाम्बोरियाले महिला खेलाडीहरूका लागि प्रेरणा बन्ने अवसर पाएको महसुस गरेकी छिन्।

नयाँ दिल्लि । भर्खरै ५७ केजी तौल समूहकी विश्व च्याम्पियन बनेकी भारतीय मुक्केबाज ज्यास्मिन लाम्बोरिया रिङमा मुक्का प्रहार गरेर आफ्नो जीवनयापन गर्छिन्। तर दबाबको सामना गर्ने कुरा आउँदा उनी आफ्नो देशका चर्चित पूर्व क्रिकेट कप्तान एमएस धोनीबाट प्रेरणा लिन्छिन्।

‘मलाई एमएस धोनीको सोच निकै मन पर्छ,’ पूर्व कप्तानबारे लाम्बोरियाले भनिन्, ‘उनलाई ‘कैप्टन कुल’ भनिनुको खास कारण छ, म पनि उनोजस्तै शान्त रहन चाहन्छु।’

यो धैर्यता आगामी दिनहरूमा लाम्बोरियाका लागि निकै उपयोगी हुनेछ। २४ वर्षीया लाम्बोरिया ग्लासगो राष्ट्रमण्डल खेलकुदमा भारतका लागि बक्सिङमा स्वर्ण पदकको बलियो दाबेदार हुन्। सन् २०२२ को बर्मिङ्घम राष्ट्रमण्डल खेलकुदमा जितेको कास्य पदकको रङ बदल्ने सोचमा उनी छिन्।

अस्ताना र दिल्लीमा भएका विश्वकपमा स्वर्ण पदक जित्दै सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गरेकी उनले पछि लिभरपुलमा विश्व च्याम्पियनको उपाधिसमेत जितिन्। अहिले उनी स्पष्ट लक्ष्यका साथ ग्लासगो पुगेकी छन्। ‘त्यो पदकको रङलाई स्वर्णमा बदल्ने मेरो लक्ष्य छ,’ उनले भनिन्, ‘मैले त्यसैका लागि तालिम र तयारी गरिरहेकी छु।’

Jaismine Lamboria 2

५ फिट ८ आधा इन्च अग्ली लाम्बोरिया भारतीय बक्सिङका हिसाबले अग्ली खेलाडी हुन्। पेरिस ओलम्पिकमा उनको सुरुआत सुखद रहेन र टोकियो ओलम्पिककी रजत पदक विजेता फिलिपिन्सकी नेस्टी पेटेसियोसँग उनी पहिलो चरणमै पराजित भइन्।

तर त्यो हार उनी भर्खरै फर्किएको तौल समूहमा भएको थियो। करिब तीन वर्ष ६० केजी तौल समूहमा बिताएपछि लाम्बोरिया पेरिस छनोटका क्रममा पुनः ५७ केजी तौल समूहमा फर्किएकी थिइन्। पेरिस ओलम्पिककी रजत पदक विजेता पोल्यान्डकी जुलिया एटेना सेरेमेटालाई हराउँदै विश्व च्याम्पियन बनेपछि उनको यो निर्णय सही साबित भयो।

‘पेरिस २०२४ ओलम्पिकबाट बाहिरिनु निराशाजनक थियो, तर त्यसले मेरो आँखा खोलिदियो,’ लाम्बोरियाले भनिन्, ‘त्यसले ममा शारीरिक र मानसिक रूपमा धेरै परिवर्तन ल्यायो।’ पुणेस्थित आर्मी स्पोर्ट्स इन्स्टिच्युट (एएसआई) मा तालिम लिने क्रममा यी परिवर्तनहरू आएको उनले बताइन्।

एएसआईका प्रशिक्षकहरूलाई आफ्नो शारीरिक क्षमता बढाएको श्रेय दिने लाम्बोरियाले मानसिक रूपमा बलियो बनाउन प्रेरक प्रशिक्षक र खेल मनोवैज्ञानिकले सहयोग गरेको बताइन्। भारतीय सेनाले उनको विकासका लागि ठूलो संरचनागत ढाँचा प्रदान गरेको छ।

सन् २०२२ को राष्ट्रमण्डल खेलकुदमा कास्य जितेपछि लाम्बोरिया कोर अफ मिलिटरी पुलिसमा भर्ना भएर सेनामा आबद्ध हुने पहिलो महिला मुक्केबाज बनेकी थिइन्। अहिले उनी मिसन ओलम्पिक्स विङअन्तर्गत प्रशिक्षण गरिरहेकी छन्।

‘उनीहरूले मबाट सुरुवात गर्न चाहेको कुरा मेरा लागि ठूलो सम्मान हो,’ लाम्बोरियाले भनिन्, ‘यसलाई महिला खेलाडीहरूका लागि प्रेरणाको स्रोत बन्ने अवसरका रूपमा पनि मैले लिएकी छु।’ भारतीय सेनाले ओलम्पियन र पारालम्पियनहरू उत्पादन गर्दै आएको छ, जसमा ओलम्पिक भाला फ्याँक्ने च्याम्पियन नीरज चोपडा पनि पर्छन्।

Jaismine Lamboria 3

सन् २०२४ को सुरुआतमा भारतीय सेनाले १२ देखि १६ वर्षका बालिकाहरूलाई बक्सिङसहित चारवटा ओलम्पिक खेलमा तालिम दिन ‘गर्ल्स स्पोर्ट्स कम्पनी’ सुरु गरेको थियो। यसले उत्कृष्ट खेल प्रतिभा र सेनामा भर्ना हुने बाटो खोलेको छ।

‘यी महिला खेलाडीहरूले पनि धेरै राम्रो गरिरहेका छन्,’ लाम्बोरियाले भनिन्, ‘एक जना मुक्केबाजले त एसियाली च्याम्पियनसिपमा स्वर्ण जितिसकेकी छन्, जसले मलाई धेरै खुसी बनाएको छ। म भारतीय सेनाको पहिलो महिला मुक्केबाज हुन सक्छु, तर अन्तिम भने हुने छैन।’

तालिम र सेनासँग जोडिनुअघि नै लाम्बोरियाको बक्सिङसँग गहिरो नाता बसिसकेको थियो। उत्तरी राज्य हरियाणाको भिवानीमा हुर्किएकी उनी भारतीय बक्सिङको गढ मानिने यस सहरलाई देशको 'मिनी क्युबा' पनि भनिन्छ।

उनका जिजुबुबा हावा सिंह भारतीय बक्सिङका पूर्व दिग्गज खेलाडी थिए। हेभीवेट समूहका उनले सन् १९६६ र १९७० को एसियाली खेलकुदमा लगातार स्वर्ण पदक जितेका थिए। पछि ओलम्पिक पदक विजेता विजेन्दर सिंह जस्ता खेलाडी उत्पादन गर्ने चर्चित भिवानी बक्सिङ क्लब स्थापना गर्नेमा उनी पनि एक थिए।

तर घरायसी कुराकानीमा हावा सिंहका पदकभन्दा पनि उनको स्वभावको बढी चर्चा हुने गरेको लाम्बोरिया सम्झिन्छिन्। ‘उनी शक्तिशाली थिए, तर उनीमा उत्तिकै नम्रता पनि थियो,’ उनले भनिन्।

बक्सिङमा उनका पहिलो प्रेरणाका स्रोत आफ्ना काकाहरू सन्दीप सिंह र परविन्दर सिंह थिए। ‘म उनीहरूलाई खेलेको हेरेर हुर्किएकी हुँ,’ उनले भनिन्, ‘उनीहरूले नै मलाई यस क्षेत्रमा ल्याएका हुन्।’

लाम्बोरियाले १४ वर्षको उमेरदेखि गम्भीर भएर बक्सिङ सुरु गरेकी हुन्। सुरुमा हावा सिंहका छोरा सञ्जय शेओरानको एकेडेमीमा तालिम लिएपछि उनले काकाहरूको हेरचाहमा प्रशिक्षण जारी राखिन्।

परिवारमा बक्सिङको माहोल भए पनि लाम्बोरियाको घरको आर्थिक अवस्था सामान्य थियो। उनका बुबा जयवीर होमगार्डका रूपमा कार्यरत छन् भने आमा जोगिन्दर गृहणी हुन्।

‘आफ्नो नजिकको परिवारमा खेलकुदलाई गम्भीरताका साथ लिने म पहिलो केटी बन्नुमा उहाँहरूको सहयोग मुख्य कारण हो,’ उनले भनिन्, ‘विशेष गरी परिवारका छोरीहरूमध्ये म सबैभन्दा कान्छी भएकाले पनि उहाँहरूको ठूलो सहयोग रह्यो।’

उनी आफ्ना प्रेरणाका स्रोतहरू परिवारमा मात्र सीमित नरहेको बताउँछिन्। लाम्बोरिया ओलम्पिक पदक विजेता एमसी मेरी कोम र विजेंदर सिंहलाई आदर्श मानेर हुर्किएकी हुन्। पछि उनले भारतीय सेनाका मुक्केबाज अमित पङ्घाल र मनिष कौशिक, ओलम्पिक च्याम्पियन नीरज चोपडा, अमेरिकी पौडीबाज माइकल फेल्प्स र भारतीय धावक मिल्खा सिंहलाई पनि पछ्याइन्।

आफ्नै खेलकुद क्षेत्रका वरिष्ठ मुक्केबाजहरू निकहत जरीन, लभलिना बोर्गोहाइन र पूजा रानीलाई पनि उनी श्रेय दिन्छिन्। उनीहरूले पदक जितेर मात्र नभई साना खेलाडीहरूलाई प्रोत्साहनसमेत दिने गरेको उनी बताउँछिन्। ‘उनीहरूलाई हेर्दा आफूलाई पनि उनीहरूले जस्तै गर्ने इच्छा जाग्छ,’ उनले भनिन्।

अहिले लाम्बोरिया आफैँ अन्यका लागि प्रेरणा बन्न थालेकी छन्। ‘लामो समयदेखि बक्सिङलाई पुरुषप्रधान खेलका रूपमा हेरिने गरिएको थियो,’ उनले भनिन्, ‘महिला मुक्केबाज र सेनाको खेलाडी भएर विश्व मञ्चमा प्रतिस्पर्धा गर्नु, आफूलाई प्रमाणित गर्नु र आफ्ना खेलबाट अरूलाई प्रेरित गर्नुले धेरै ठूलो अर्थ राख्छ।’

यो परिवर्तन राष्ट्रमण्डल खेलकुदमा पनि देखिएको छ। सन् १९३० देखि बक्सिङ समावेश गरिए पनि महिला प्रतिस्पर्धा सन् २०१४ देखि मात्र सुरु भएको हो। ग्लासगोमा जुलाई २४ देखि खेलहरू सुरु भइसकेका छन्, जसको फाइनल जुलाई ३१ र अगस्ट १ मा हुनेछ।

चार वर्षअघि बर्मिङ्घममा कास्य जितेपछि लाम्बोरिया ग्लासगोबाट स्वर्ण पदक लिएर फर्किने आशामा छिन्। ‘विदेशमा प्रतिस्पर्धा गर्दा राष्ट्रिय गान बज्नुको अर्कै अनुभूति हुन्छ,’ उनले भनिन्, ‘मैले गत वर्ष लिभरपुलमा भएको विश्व च्याम्पियनसिपमा त्यो अनुभव गरिसकेकी छु। म त्यो क्षण यहाँ पुनः दोहोर्‍याउन चाहन्छु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप