सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

‘आमा-बुबा भन्न छाडेर आयातित भाषामा लाग्यौँ’

इतिहास संरक्षणका लागि आवश्यक कानुन बनाउन माग
सोमबार, ११ साउन २०८३, १७ : ५४
सोमबार, ११ साउन २०८३

सारांश

  • राष्ट्रिय सभाकी उपाध्यक्ष लिला भण्डारीले ऐतिहासिक सामग्रीको सङ्कलन र इतिहासको संरक्षणका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने बताएकी छन्।
  • उनले मुलुकको भाषा, संस्कृति र सभ्यताको संरक्षणका लागि सरोकारवाला सबै गम्भीर बन्न जरुरी रहेको बताइन्।
  • उनले नेपाली चाडपर्व, परम्परा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिइन्।

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष लिला भण्डारीले ऐतिहासिक सामग्रीको सङ्कलन र इतिहासको संरक्षणका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने बताएकी छन्। 

सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन्।

मुलुकको भाषा, संस्कृति र सभ्यताको संरक्षणका लागि सरोकारवाला सबै गम्भीर बन्न जरुरी रहेको उनले बताइन्। उनले आर्थिक, राजनीतिक, कानुनी, सांस्कृतिक तथा भेषभूषासहित सबै क्षेत्रको इतिहास व्यवस्थित रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। भाषा, संस्कृति र राष्ट्रिय पहिचानप्रति नागरिकको चासो घट्दै गएकाले विद्यालय तहदेखि नै इतिहासबारे अध्ययन गराउनुपर्ने उनको भनाइ छ। उपाध्यक्ष भण्डारीले नेपाली चाडपर्व, परम्परा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिइन्।

‘हामीले आर्थिक, राजनीतिक, कानुनी, सांस्कृतिक र भेषभूषा सबैको इतिहास बनाउनुपर्छ,’ भण्डारीले भनिन्, ‘चीन भ्रमणका क्रममा जापानी साम्राज्यवादले त्यहाँ हमला गर्दाको अवस्थाबारे सबै कुराको अवलोकन गर्न पायौँ।’ चीनमा विद्यार्थीहरूलाई पहिले आफ्नै भाषा, संस्कृति र देश पढाइने उदाहरण दिँदै उनले नेपालमा भने आयातित संस्कृति बढ्न थालेको बताइन्।

हामीले बोल्दा एकाध शब्द विदेशी मिसाउँदा आफूलाई विश्वविख्यात ठान्ने प्रवृत्ति बढेको भन्दै उनले भनिन्, ‘हामी आफ्नो भाषा, संस्कृति र सभ्यता बिर्सँदै गएका छौँ, आमा-बुबा भन्न छाडेर अर्काको आयातित भाषामा मम्-ड्याड भन्नेतिर लागिसक्यौँ।’ हाम्रा चाडपर्व र परम्पराहरू लोप हुन लागेकाले यसतर्फ गम्भीर बनेर आवश्यक कानुन निर्माण गरी इतिहास संरक्षणमा ध्यान दिनुपर्ने उनले स्पष्ट पारिन्।

उपाध्यक्ष भण्डारीले विरोधाभास रहेको राजनीतिक इतिहासलाई समेत तथ्यसहित एकीकृत गर्नुपर्नेमा जोड दिएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप