थप गरिएका परिषद् रजिस्ट्रारका उम्मेदवारको अन्तर्वार्ता लिइएन
सारांश
- नेपाल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रार पदका लागि अन्तर्वार्ता मिति तोकिएपछि नाम थप गरिएका रमेश पौडेल अन्तर्वार्ता दिनबाट रोकिएका छन् ।
- परिषद्को रजिस्ट्रार पदका लागि पाँच जनाको अन्तर्वार्ता भइसकेको छ, तर डा.पौडेललाई अन्तर्वार्तास्थलमा उपस्थित भइसकेपछि पनि सहभागी नगराई फिर्ता पठाइएको थियो ।
- नेपाल आयुर्वेद चिकित्सक सङ्घले छनोट प्रक्रियामा भएको व्यवहारको निष्पक्ष छानबिन गरी न्यायोचित सम्बोधन गर्न माग गरेको छ ।
काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारको अन्तर्वार्ता मिति भइसकेपछि नाम थप गरिएका रमेश पौडेल अन्तर्वार्ता र प्रस्तुतीकरण दिनबाट रोकिएका छन् । विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्न गठित समितिको गत शुक्रबारको निर्णयअनुसार रमेश पौडेललाई अन्तर्वार्ता प्रक्रियामा समावेश गर्ने गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सूचना प्रकाशित गरेको थियो । परिषद्को अन्तर्वार्ता आज तोकिएको थियो । तर, उनको अन्तर्वार्ता लिइएन ।
परिषद्को रजिस्ट्रार पदका लागि अजयकुमार चौधरी, पुष्पराज पौडेल, बुद्धिप्रसाद पौडेल, विशुन दयालप्रसाद पटेल र हरिशरण अर्यालको अन्तर्वार्ता भएको छ । तर, डा.पौडेललाई आजको अन्तर्वार्तास्थलमा उपस्थित भई हाजिरसमेत गरिसकेपछि अन्तर्वार्तामा सहभागी नगराई फिर्ता गरिएको थियो ।
नेपाल आयुर्वेद चिकित्सक सङ्घले संघका वरिष्ठ उपाध्यक्ष डा.पौडेलसँग नेपाल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रार पदको छनोट प्रक्रियामा भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सङ्घले आज सोमबार विज्ञप्ति जारी गर्दै योग्यता तथा निर्धारित मापदण्ड पूरा गर्दागर्दै पनि प्रकाशित प्रारम्भिक संक्षिप्त सूचीमा डा.पौडेलको नाम समावेश नगरिनु, उम्मेदवारको निवेदनपछि पुनः अन्तर्वार्ताका लागि नाम समावेश गरिनु, तर आजको अन्तर्वार्तास्थलमा उपस्थित भई हाजिरसमेत गरिसकेपछि अन्तर्वार्तामा सहभागी नगराई फिर्ता पठाइनु अत्यन्त दुःखद, अन्यायपूर्ण तथा प्राकृतिक न्यायको सिद्धान्त विपरीत देखिएको बताएको छ ।
सङ्घले सम्बन्धित निकायसँग सम्पूर्ण छनोट तथा अन्तर्वार्ता प्रक्रियाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न, उम्मेदवारमाथि भएको अन्यायको न्यायोचित सम्बोधन गर्न तथा भविष्यमा यस्ता घटना पुनः नदोहोरिने गरी पारदर्शी, निष्पक्ष र विधिसम्मत नियुक्ति प्रक्रिया सुनिश्चित गर्न आग्रह गरेको छ ।
अन्तर्वार्ता मिति तय भइसकेपछि पुनः नयाँ व्यक्तिको नाम थप गरेर सूचना जारी गर्नुले छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता र प्रक्रियागत परिपक्वतामाथि प्रश्न उठेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण