एमालेभित्रै उठ्यो नेकपासँगको सहमतिमाथि प्रश्न
सारांश
- नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच पाँच प्रदेशमा सत्ता सहकार्य गर्ने सहमतिप्रति एमालेका केही नेता कार्यकर्ताहरूले असन्तुष्टि जनाएका छन् ।
- असन्तुष्ट नेता कार्यकर्ताहरूले पार्टी सचिवालय बैठक नराखी अध्यक्षले एक्लै सहमति गरेकोमा प्रश्न उठाएका छन् ।
- एमालेका उपमहासचिव योगेश भट्टराई, नेता गोकुल बाँस्कोटा र डा. विजय सुब्बा लगायतले यो सहमतिले पार्टीमा विवाद बढाएको भन्दै पारदर्शिता र प्रक्रियामाथि प्रश्न उठाएका छन् ।
काठमाडौँ । नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिच पाँच प्रदेशमा सत्ता सहकार्य गर्ने सहमतिप्रति एमालेका कतिपय नेता कार्यकर्ताहरूले असन्तुष्टि जनाइरहेका छन् । तर, उनीहरूको असन्तुष्टिप्रति नेतृत्वले थाहा नपाएझैँ गरेर बसेको छ ।
नेकपासँग सहकार्य गर्ने सहमति अध्यक्ष एक्लैले गर्नुको साटो कमसेकम पार्टी सचिवालय बैठक राखेर छलफल गरी निर्णयमा पुगेको भए राम्रो हुने असन्तुष्ट नेता कार्यकर्ताहरूको भनाइ छ ।
नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत यस्तो असन्तुष्टि जनाएपनि एमाले अध्यक्ष केपी शर्मा ओली तत्कालै सचिवालय बैठक बोलाउने पक्षमा रहेका छैनन् ।
‘तत्काल सचिवालय बैठक बोलाउने कुनै योजना रहेको छैन’, एमाले अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले भने,‘खास एजेन्डा नै नभएकाले चासो नभएको हुनसक्छ ।’
एमालेका उपमहासचिव योगेश भट्टराईले दुई पार्टीमा रडाको हुँदाहुँदै छापामार शैलीमा प्रदेश सरकारमा सहमति गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
‘आ–आफ्ना पार्टीमा रडाको, छैन सहभागिता, छैन पारदर्शिता, नियत र प्रक्रियामा प्रश्नैप्रश्न, पटक/पटक उही गल्ती, जबाफदेहिता खै ?’ भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत व्यङ्ग्य गरेका छन् ।
अर्का नेता गोकुल बाँस्कोटाले पनि सत्ता गठबन्धनको सहमतिलाई विजय मल्लको नाटक ‘अन्तिम भोज’को संज्ञा दिँदै कटाक्षमात्र गरेका छैनन् सहमतिको पारदर्शितामाथि नै प्रश्न उठाएका छन् ।
‘सत्तासमीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए’, बास्कोटाले प्रश्न गर्दै भनेका छन्, ‘खोपी सत्ता किन बन्छन् र भत्कन्छन् ? ती सभाका केही सदस्य र खास नेताबाहेक अरूले सुइँकोसमेत नपाउने कुरा परम्परा नै बन्यो ।’ उनले एमाले नेकपा सहमतिलाई हाँडी बोकेर स्वर्ग कि नर्क बतास झैँ बत्तिएको टिप्पणी गरेका छन् । ‘विजय मल्लको अन्तिम भोज नै त यो हैन होला ? अचम्म लाग्छ,’ बाँस्कोटाले भनेका छन् ।
अर्का एमाले नेता डा. विजय सुब्बाले पनि प्रदेशका विषयमा गरिएको निर्णयले पार्टीमा विवाद झन् बढाएको बताएका छन् । ‘प्रदेशका बखेडाले पार्टीहरूमा फेरि थप विवाद बढायो । यो नगर्दा केचाहिँ बिग्रन्थ्यो होला,’ सुब्बाले भनेका छन् ।
एमाले उपमहासचिव लेखराज भट्ट नेता कार्यकर्ताबाट सामान्य असन्तुष्टि आउनु स्वाभाविक रूपमा ठान्छन् । ‘सामान्य असन्तुष्टि देखिनु स्वभाविक हो तर समग्रमा त्यस्तो छैन’, भट्टले रातोपाटीसँग भने,‘प्रदेशमा एमाले र नेकपा सहकार्य आवश्यकता भएर नै गरिएको हो ।’
नेता भट्टले असन्तुष्टिलाई लिएर तत्काल सचिवालय बैठक बोलाउने सम्भावना नरहेको बताए । ‘अहिले बैठक बोलाउने कुनै विषय नै छैन’, भट्टले रातोपाटीसँग भने,‘विषय भयो भने अध्यक्ष महासचिवले सल्लाह गर्नुहोला ।’
एमालेका अर्का एक पदाधिकारीका अनुसार पुनर्गठनको विषय पार्टीभित्र चर्को बहस बनिरहँदा सचिवालय बैठक नै नबसी नेकपासँग सहकार्य गर्नु कति ठिक थियो ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।
‘प्रदेश सहकार्यमात्र नभएर समग्र राजनीतिक घटनाक्रमका सवालमा छलफल गरेर अघि बढ्नुपर्नेमा अध्यक्ष एक्लै सहमति गर्नुहुन्छ’, ति सचिवालय सदस्यले रातोपाटीसँग भने,‘पार्टीमा विधि, पद्धति र प्रक्रियाको कुरा पनि हुन्छ, तर निर्णय गर्ने सवालमा पुन ति विषयहरू ओझेलमा पर्छन् यसले गर्दा नेतृत्वको कार्यशैलीमाथि प्रश्न नगरौँ भन्दा पनि गर्नुपर्ने हुन्छ ।’
गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा नयाँ गठबन्धन बनाएर सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए । उक्त सहमति अनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरमा नेकपाले प्रदेश सरकारको नेतृत्व गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण