बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बरुण डेभलपर्सले सरकारी मान्छे किनेर नेपालीलाई दुःख दिएको पीडितको आरोप

नेपाली जनता ऋणमा डुब्दा राज्यले सहयोग नगरेको गुनासो
मङ्गलबार, २७ फागुन २०७६, १० : ३०
मङ्गलबार, २७ फागुन २०७६

धापासीको पार्क भ्यु होराइजन अपार्टमेन्टको सबैभन्दा माथिल्लो तल्ला अर्थात् जमिनमाथि १५औँ तल्लामा शशी शर्माको फ्ल्याट थियो । माथिल्लो फ्ल्याट लिँदा काठमाडौँको दृश्य हेर्न पाउने भन्दै शर्माले सबैभन्दा माथि सगरमाथा टावरको १५औँ तल्लाको १५०४ नम्बरको फ्ल्याट किनेका थिए ।

करिब २ करोड रूपैयाँ बैङ्कबाट ऋण लिएर फ्ल्याट किनेका शर्मा अहिले बैङ्कको ब्याज कसरी तिर्ने भनेर चिन्तामा छन् ।

२०६४ सालमै फ्ल्याट बुकिङ गरेका उनी २०६९ को अन्तिमबाट उक्त अपार्टमेन्टमा सरेका थिए । सुविधासम्पन्न अपार्टमेन्टमा बस्न पाउने भएपछि उनले त्यति धेरै रकम खर्च गरेका थिए ।

तर २०७२ सालमा भूकम्प गएपछि शर्माको बसाइ अहिले अन्यत्र नै छ । विगत ५ वर्षदेखि आफ्नो करोडौँको सम्पत्ति त शशीले प्रयोग गर्न पाएका छैनन् नै, बैङ्कले च्याप्ने कारणले उनी झन् पीडामा छन् । केही दिनअघि रातोपाटीसँगको भेटमा शशीले भने, ‘बैङ्कले सधैँ च्यापिरहेकै छ । २ करोड ऋण लिएर फ्ल्याट किनेको हो । बैङ्कको ब्याज र किस्ता बुझाउन हामी बाध्य नै छौँ, अवस्था के होला तपाईं आफँै विचार गर्नुहोस् न ।’

अपार्टमेन्ट निर्माणका सम्बन्धमा अहिलेको अवस्था के छ त भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘डेभलपरले गर्छु त भन्छ तर खाली बखेडा निकाल्छ । म डेभलपरलाई पनि दोष दिन्न, स्थानीयलाई पनि दोष दिन्न । किनभने स्थानीयले कराएरै खान पाउँछन् भने खाइ रहन्छन् नै । तर दोष कसको हो भने सरकारको हो । किनकि सरकारले हामीलाई यो देशको नागरिक नै मानिरहेको छैन । के हामी नागरिक होइनौँ यस देशको ?’

शर्माले आक्रोश पोख्दै भने, ‘सरकारले चीनबाट १ सय ६० जना नागरिकलाई उद्धार गरी ल्यायो । त्यस्तै हामीलाई केही भयो भने सरकारले उद्धार गर्नु पर्दैन ?’

आफूहरुले धेरै पटक सरकारी निकाय धाएर हारगुहार गर्दा पनि सरकारले कुनै चासो नदिएको शशीको गुनासो छ । उनले भने, ‘हामीले धेरै पटक प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालय, सहरी विकास विभाग आदि निकायमा धायौँ । तर उनीहरुलाई कुनै मतलब नै छैन । उनीहरु हाम्रो कुरा त सुन्छन् तर चुपचाप बस्छन् । ३३ महिनामा बनाइसक्ने भनेर ३ वर्ष पहिले नै स्वीकृति लिएको थियो डेभलपरले तर बनाएन ।’

आफ्नै नागरिक समस्यामा पर्दा पनि सरकारले केही नहेरेको शशीको गुनासो छ । उनी भन्छन्, ‘सबैभन्दा पहिले हाम्रो संरक्षण गर्ने कसले हो त ? त्यो त पक्कै पनि सरकारले नै होला । सरकार भनेको को हो भने सहरी विकास मन्त्रालयले गर्नुपर्यो । तर यो भवनमा किन समस्या आइरहेको छ । त्यहाँ भएका १ सय १६ जना नागरिकलाई कसरी उद्धार गर्ने ? त्यो भवन कसरी बनाउने भन्ने त सरकारले सोच्नुपर्यो नि ।’

डेभलपरलाई मतलब नै छैन

अपार्टमेन्टका एउटा फ्ल्याटका धनी शशी भन्छन्, ‘एउटा विदेशी डेभलपर यहाँ बसिरहेको छ । उसलाई त के मतलब छ र  ? ऊ त अर्बपति छ । तर हामीलाई संरक्षण र उद्धार गर्ने जिम्मा त सरकारको हो, विभाग र मन्त्रालयको हो । हामी १ सय १६ जना त मर्यौँ । नेपाली जनताले आफ्नो रगत र पसिना बगाएर लगाएको पैसा फसिरहेको छ । आज हामीले आफूले नखाई नखाई पनि बैङ्कमा ब्याज तिर्नु परिरहेको छ । हैसियत कसैको पनि छैन होला कि बिना काम र प्रतिफल २ करोडको ब्याज तिरिरहने । त्यो कति दुःख गरेर कमाएको पैसा होला ? कति पीडा र समस्या परेको होला ? त्यो कुरा कहिल्यै कसैले हेरेको छ ?’

बैङ्कले सम्पत्ति लिलामीको धम्की दिन्छ

आफूहरु समस्यामा पर्दा बैङ्के पनि झनै दुःख दिएको शशीको गुनासो छ । उनी भन्छन्, ‘बैङ्कमा ब्याज मिनाहा वा ब्याज घटाउनका लागि अपिल गर्यो भने सबै पैसा अहिले नै तिर्नुस् नत्र तपाईंको अरू सम्पत्ति पनि लिलामीमा हाल्छु भन्छ । यहाँ बैङ्कको नियत त तपाईंहरुलाई पनि थाहा छँदै छ नि । प्रत्येक दिन पत्रिकामा फोटो छापिरहेको हुन्छ । हामीलाई २ दिन अगाडि मात्रै फोन आएको छ कि तपाईंको धितोमा रहेको सम्पत्ति अर्थात् फ्ल्याटको भ्यालु जिरो हो । त्यसकारण कि तपाईंले नयाँ धितो राख्नुस् वा पूरै किस्ता तिर्नुहोस् । तर हामीले ऋण तिर्न सक्ने अवस्था पनि छैन । बैङ्कले ब्याज घटाउँला भनेको झनै बढाइरहेको छ । कतिपयको फ्ल्याट त लिलामीमा समेत गइसकेको छ ।’

शशीले निराश हुँदै भने, ‘अब त हाम्रो जाने ठाउँ र भन्ने कुरा नै केही बाँकी छैन । नेपाली जनता भएकाले हाम्रो सुरक्षाको जिम्मेवारी कसको हो, तपाईं आफै नै भनिदिनोस् न । हामी भोलि सडकमा लडिरहेको अवस्थामा हुँदा वा टाट पल्टिँदा हाम्रो संरक्षण कसले दिनुपर्छ ? के यो काम यो देशको सरकारको होइन ?’

अब के गर्ने त भन्ने सवालमा शशी भन्छन्, ‘अब त सरकारले नै डेभलपरलाई झकझकाउनु पर्यो । छिटो बनाऊ भनेर दबाब दिनुपर्यो । सरकार सुतेर हुन्छ ?’

नेपालको सरकार कमजोर हुँदा आफूहरु समस्यामा परेको भन्दै सरकार बलियो हुँदा के हुँदो रहेछ भनेर शशीले भारतको उदाहरण दिए । शशी भन्छन्, ‘हाम्रो यहाँको जस्तै समस्या भारतको नोयडामा पनि आएको थियो । तर त्यहाँको सरकारले डेभलपरलाई समातेर जेल हाल्न थाल्यो र अहिले त्यहाँ धमाधम काम भइरहेको छ । तर नेपालमा भने ५ वर्षदेखि एउटा अपार्टमेन्ट खन्डहर बनिरहेको छ, सरकार के हेरेर बसिरहेको छ ? पार्क भ्यु होराइजन अपार्टमेन्ट ५ वर्षदेखि धराप अवस्थामा रहेको छ । अझै पनि यसलाई नबनाउने र अर्को ५ वर्ष धराप अवस्थामै राख्ने हो भने उक्त अपार्टमेन्टमा को जान सक्छ ? यहाँ काम गर्नुपर्ने त सरकारले थियो । तर सरकार केही काम नगरी बसिरहेको छ । सरकारलाई हामीजस्ता नागरिकको कुनै वास्ता नै छैन ।’

अब पनि नबनाए स्थिति झनै बिग्रन्छ

भूकम्पपछिको ५ वर्षमा पनि अपार्टमेन्ट मर्मत नहुँदा यसले मनोवैज्ञानिक त्राससमेत सिर्जना गरेको शशीको बुझाइ छ । उनी भन्छन्, ‘अहिले जसरी ५ वर्ष बित्यो, अर्को ५ वर्ष पनि यसरी नै बित्यो भने त हामी पनि बस्न सक्दैनौँ नि । त्यसकारण यसका लागि त राज्य नै अग्रसर भइदिनु पर्यो । हामी एक वा दुई जना अगाडि आएर केही हुनेवाला छैन । मुख्य कुरो राज्य नै अग्रसर भइदिनुपर्छ ।’

शशीले भने, ‘मानिलिनोस्, तपाईंको शरीरको कुनै एक भागमा क्यान्सर लागेको छ तर तपाईंले उपचार गराउनु भएन भने त पूरै शरीरमै क्यान्सर लागिहाल्छ नि । यसलाई चाँडै नै इम्प्रुभ गरिएन भने त दिनदिनै यसको अवस्था त बिग्रँदै जान्छ नि । अनि त्यसको क्षति र खतरा सबैले बेहोर्नुपर्छ ।’

सरकारले एक पैसाको पनि सहयाग गरेन : अमित अग्रवाल

शशीको जस्तै पीडा र आक्रोश पार्क भ्यू होराइजन अपार्टमेन्टकै एक फ्ल्याटका धनी अमित अग्रवालको पनि छ । उनी पनि सरकारको कमजोरीका कारण आफूहरुको लगानी डुब्ने अवस्थामा पुगेको भन्दै सरकारको ध्यान जानुपर्ने बताइहेका छन् ।

अमित भन्छन्, ‘विदेशी व्यापारी आएर नेपालमा लगानी गर्यो । तर विदेशीलाई व्यापार गर्ने इजाजत वा लाइसेन्स त सरकारले नै दिएको हो नि । आज सरकारसँग विदेशी व्यापारीलाई समात्ने हैसियत र अधिकार छैन भने हिजो किन व्यापार गर्ने लाइसेन्स र इजाजत दिएको ?’

अमितले अगाडि भने, ‘जब इजाजत दिएर यहाँ बनाउन लगायो र उसले बनायो । अनि हामीले त नेपाल सरकारलाई कर तिरेका छौँ नि । हाम्रो संरक्षणको जिम्मेवारी त राज्यकै हो नि । विदेशी व्यापारीलाई व्यापार गर्न दिने र उसले बेच्ने अनि नेपाली जनताको लगानीको सुरक्षा सरकारले नगर्ने हो भने त त्यो सरकारकै असक्षमता भएन र !’

सरकारको लापरबाही र उदासीनताका कारण आफूहरुको लगानी डुबेको अमितको ठहर छ । ‘यदि सरकारले चाहेको भए, त्यही विदेशी व्यापारी जसले नेपालमा पनि थुप्रै व्यापार व्यवसाय निर्धक्क भएर गरिरहेको छ, उसलाई च्याप्न सक्थ्यो । त्यसका लागि दबाब दिने काम त सरकारकै हो नि । सरकारले नै दबब दिनुपर्यो नि’ अमितले भने ।

सरकारले चासो नै दिएन

शशी जस्तै अमित पनि सरकारी उदासीनताका कारण आफूहरुको लगानी बालुवामा पानी खन्याए सरह भएको बताउँछन् ।

अमित भन्छन्, जनताको पैसा डुबेको छ, अब त्यसलाई कसरी उठाउने भनेर दबाब दिने काम त सरकारको नै हो नि । हामी जनताले व्यक्तिगत रूपमा दिएको दबाबले केही हुँदैन । आज कानुनलाई हामीले हाम्रो हातमा लिन सक्दैनौँ । तर सरकारले चाहेमा त जे पनि गर्न सक्छ नि ।’

उनी अगाडि थप्छन्, ‘सरकारले हामीलाई एक पैसाको सहयोग गरेको छैन । हामीले ठाउँठाउँमा गएर भनेका छौँ, निवेदन र उजुरी दिएका छौँ तर हाम्रो विषयमा आजसम्म कसैले पनि ध्यान पुर्याएको छैन । हामीले पनि राज्यलाई कर तिरेकै पैसाको बाँकी रकमबाट यहाँ लगानी गरेका हौँ । तर हाम्रो सरकारलाई एकतर्फी, रूपमा करको मात्रै चिन्ता छ । तर जनतालाई के दिने भनेर यहाँ कसैको पनि चिन्ता र चासो छैन ।’

सुविधा सम्पन्न फ्ल्याटमा बस्ने भन्दै आफूहरुले अपार्टमेन्टको फ्ल्याट खरिद गरेको भए पनि अहिले आएर पछुताउनु परेको अमित बताउँछन् । आफूहरुलाई बरुण डेभलपर्सले पनि दुःख र धोका दिएको अमितको बुझाइ छ । उनी भन्छन्, ‘डेभलपर्सले जेजे भन्यो हामीले त्यही त्यही मानेका छौँ । तर पनि उसले हाम्रो भत्केको अपार्टमेन्ट बनाइदिएन । यसको प्रमुख कारण भनेको हाम्रो सरकार बलियो नभएको कारणले पनि हो । सरकारले आफ्नो नागरिकप्रतिको दायित्व कत्ति पनि निर्वाह गरेको छैन । किनभने कसैले गलत गरिरहेको छ भने दबाब त राज्यले दिनुपर्यो नि । तर राज्य यसमा चुपचाप छ । हामीले नै इजाजत दिएर बनाउन लगाएको त होइन नि । उसले सबै सम्बन्धित निकायहरुबाट नक्सापास गराएर, इजाजत लिएर बनाएको हो । राज्यले भूकम्पपछि पनि ३० महिनाभित्र पुनर्निर्माण गरी हस्तान्तरण गर्ने र प्रत्येक ३ महिनामा सरकारलाई रिपोर्टिङ गर्ने भनेर इजाजत दिएको थियो । तर के सरकारले हेर्यो त उसले गर्यो किन गरेन भनेर ?’

सरकारसँग हार खाएको अमितको बुझाइ छ । उनी भन्छन्, ‘हामी त सहकार्य गरेर नै अगाडि बढ्न चाहन्छौँ । यदि समयमै यो भवनको पुनर्निर्माण भएको थियो भने स्थानीयको गुनासो पनि समाप्त भएर गइसकेको हुने थियो । तर आफ्नो घरको अगाडि यस्तो डरलाग्दो भवन देख्दा डर त सबैलाई लाग्ने नै भयो । स्थानीयको गुनासो पनि यही कुरामा नै त हो नि ।’

बरुण डेभलपर्सले सरकारी मान्छे किने : दीपक राजभण्डारी

पार्क भ्यु होराइजन अपार्टमेन्टकै मकालु टावरको ९०१ नम्बरको फ्ल्याट हो दीपक राजभण्डारीको । उनको सपना पनि सुविधा सम्पन्न अपार्टमेन्टमा आरामका साथ बस्ने थियो । तर उनको सपना पनि २०७२ को भूकम्पले सखाप पारिदियो । आफूहरु एक दुई जनाले आफ्नो फ्ल्याटको मात्रै मर्मत गरेर बस्न योग्य नहुने भन्दै त्यसका लागि डेभलपरले साथ नदिएको दीपकको गुनासो छ ।

दीपक भन्छन्, ‘हामीले डेभलपरसँग नेगोसिएसन गरेको पनि ३–४ वर्ष भइसक्यो । तर उनीहरु यो अपार्टमेन्ट बनाउने कुरामा कुनै चासो नै दिँदैनन् । बरुण डेभलपर्सका डाइरेक्टरहरुलाई भ्याटसम्बन्धी कसुरमा पक्राउ गरी २ अर्बको धरौटीमा निकालेको त तपाईंलाई थाहा नै होला । उसका डाइरेक्टरहरु जेलमा पर्ने अवस्था आउँदा उसले २ अर्ब रकम धरौटीमा राख्न सक्छ, तर हाम्रो यो सम्पत्ति बनाउने कुरामा उसलाई कुनै चिन्ता नै छैन ।’

दीपकले २०६४ सालमै उक्त फ्ल्याट बुक गरी निर्माण सम्पन्न भएपछि किनेको बताउँछन् । आफूहरुले उक्त फ्ल्याट किन्दा इन्स्योरेन्सको सबै काम बरुण डेभलपर्सले गर्नुपर्ने भए पनि उसले कुनै काम नगरेको दीपकको गुनासो छ । उनी भन्छन्, ‘इन्स्योरेन्सको सबै दायित्व डेभलपरको नै हो । उसले आफ्नो बेच्न बाँकी सबै फ्ल्याटको इन्स्योरेन्स गरायो तर बेचेर पनि नामसारी नभएको र बिक्री भइसकेको अन्य फ्ल्याटको इन्स्योरेन्स नै गराएन । उसले इन्स्योरेन्स कम्पनीबाट एकमुष्ठ इन्स्योरेन्स गराएको थियो भने हामीले त्यहाँबाट जे पनि गर्न सक्थ्यौँ । पूरै संरचनाको इन्स्योरेन्स नभएका कारण नै यो समस्या आएको हो ।’

दीपक भन्छन्, ‘मैले पनि १ करोड ६५ लाख मूल्याङ्कन गरी मेरो फ्ल्याटको इन्स्योरेन्स गराएको थिएँ । मेरो फ्ल्याटको मात्रै क्षति हेर्ने हो भने त्यति क्षति छैन । मलाई इन्स्योरेन्सले १८ लाख भुक्तानी गरिसकेको छ । तर मैले मेरो फ्ल्याट बनाए पनि काम लाग्दैन र कुनै अर्थ राख्दैन ।’

आफूहरु बरुण डेभलपर्ससँग पनि नियमित छलफलमा रहेको र समाधान खोजिरहेको दीपक बताउँछन् । अहिले फ्ल्याटको धनीको तर्फबाट ४० प्रतिशत र बरुण डेभलपर्सको तर्फबाट ६० प्रतिशत लगानी गरी पुनर्निर्माण गर्ने सहमति भएको छ । तर पनि कहिले के मिलेन, कहिले के मिलेन भन्दै डेभलपर्सले टारिरहेको दीपक बताउँछन् ।

दीपक भन्छन्, ‘यदि डेभलपरले बेच्न बाँकी फ्ल्याट थिएन भने त ऊ यहाँबाट भागिसकेको हुन्थ्यो तर बेच्न बाँकी भएर नै ऊ यहाँ बसिरहेको छ र केही कुराकानी भइरहेको छ ।’

बरुण डेभलपर्सले सरकारी मान्छे किने

दीपक राजभण्डारीका अनुसार पीडितहरूलाई सरकारले कुनै साथ र सहयोग दिएको छैन । बरु बरुण डेभलपर्ससँग पैसा खाएर उनीहरुकै पक्षपोषणमा सरकारी मान्छेहरु लागिरहेको दीपकको आरोप छ । उनी भन्छन्, ‘सरकारले हामीलाई कुनै सपोर्ट गरेको छैन । किनभने सरकारका केही व्यक्तिहरुलाई पनि बरुण डेभलपर्सले किनिसकेको छ । उनीहरुले किनेका मात्रै होइन, पहिले निर्माण स्वीकृति दिने समयमा पनि पैसा खाएर निर्माण स्वीकृति दिइएको छ । त्यसकारण पनि सरकारी मान्छेले उनीहरुलाई च्याप्न सकिरहेका छैनन् र हामीहरु झनै पीडित बनिरहेका छौँ ।’

दीपक अगाडि थप्छन्, ‘हिजो मालपोत कार्यालयमा लालपुर्जा पाउने समयमा के हेरेर दिइएको थियो । डेभलपरले पनि आफ्नो दायित्व पूरा गर्नुपर्यो, हामीले गर्नुपर्ने दायित्व के हो त्यो पनि हामी गर्छौं र मुख्य कुरो सरकारले नै भूमिका खेल्नुपर्यो नि ।’

सरकार कसरी हुन्छ राजस्व सङ्कलनमा मात्रै केन्द्रित हुने र जनताको दुःख नसुन्ने दीपकको आरोप छ । दीपक भन्छन्, ‘यहाँ त मन्त्रालय छ, विभाग छ । त्यति धेरै पैसा लिएर निर्माण स्वीकृति र निर्माण सम्पन्न दिएका छन् । हामीले हाम्रो नाममा फ्ल्याट बिक्री हुँदा पनि राजस्व तिरेका छौँ । उसले पनि करोडौँ मूल्यको कर तिरेको छ । त्यसकारण दोष उसको मात्रै हो भनेर भन्न मिल्ने अवस्था पनि छैन । यो हेर्नुपर्ने त राज्यले हो, सरकारले हो । तर सरकारले नै नहेरेपछि समस्या त त्यहीँ नै परेको हो ।’

इन्स्योरेन्स पनि ठग नै हो

दीपकले १ करोड ६५ लाखको इन्स्यारेन्स गराए पनि इन्स्योरेन्स कम्पनीले पनि आफूलाई ठगेको बताउँछन् । उनले भने, ‘मैले १ करोड ६५ लाखको भ्यालु राखेर प्रिमियम तिरेको थिएँ । मैले शिखर इन्स्योरेन्स कम्पनीबाट इन्स्योरेन्स गरेको थिएँ । तर इन्स्योरेन्स कम्पनीले जम्मा १८ लाख मात्रै क्षतिपूर्ति दिने भन्यो । त्यहाँ पनि धेरै लफडा हुँदो रहेछ । सकेसम्म उनीहरु इन्स्योरेन्सको पैसा नै नदिऊँ भन्दा रहेछन् । धेरै लफडा गरेर १८ लाख दियो, मैले नलिनुभन्दा बरु त्यति नै ठीक होला भनेर लिएँ ।’

मलापोत कार्यालयको कमजोरीको कारण नै आफूहरु समस्या परेको दीपकको बुझाइ छ । उनी भन्छन्, ‘मेरो मात्रै होइन, खासमा यो पूरै भवनको इन्स्योरेन्स गर्नुपर्ने दायित्व डेभलपरको थियो । मालपोतले पनि यत्रो ठूलो भवनको फ्ल्याट खरिदबिक्री हुँदा इन्स्योरेन्स छ कि छैन भनेर हेरेन । त्यसैले हामी पनि समस्यामा पर्यौँ ।’

डेभलपर्सले कानुन मिच्यो, समस्यामा हामी पर्यौँ : श्याम सुन्दर शर्मा

श्यामसुन्दर शर्मा पनि पार्क भ्यु होराइजन अपार्टमेन्टकै पीडितमध्येका एक हुन् । अपार्टमेन्टभित्र सगरमाथा टावरको १२औँ तल्लामा उनको झण्डै ३ करोडको फ्ल्याट छ । तर उनी पनि ५ वर्षदेखि उक्त फ्ल्याटमा छिर्न पाएका छैनन् ।

रातोपाटीसँगको कुराकानीमा शर्माले भने, ‘कानुनतः अपार्टमेन्टहरुमा व्यक्तिगत फ्ल्याटको इन्स्योरेन्स हुँदैन । मेरो फ्ल्याटको मूल्य पौने ३ करोड हो । मैले इन्स्योरेन्सबाट क्षतिपूर्ति लिँदा पनि ५ करोडले मेरो फ्ल्याटको मर्मत सकिन्छ । तर मैले मेरो फ्ल्याटको मात्रै मर्मत गरेर त भएन । किनभने ग्राउन्ड फ्लोरदेखि सबैतिर मर्मत गरिसकेपछि मात्रै बस्नका लागि योग्य हुन्छ । त्यसकारण इन्स्योरेन्सको कुरा कुनै एउटा फ्ल्याटको मात्रै होइन, समग्र संरचनाको इन्स्योरेन्स आवश्यकता थियो र छ । हामी र डेभलपरबीच पनि समग्र संरचनाकै इन्स्योरेन्स गर्ने र त्यसरी गर्दा पर्न आउने रकम दामासायीले तिर्ने भन्ने सहमति पनि भएको थियो र हामीले उसलाई डिपोजिटबापत दिएको रकम पनि दियो । तर इन्स्योरेन्स गर्ने भनिएको अघिल्लो दिन नै विनाशकारी भूकम्प आयो र इन्स्योरेन्स हुन पाएन ।’

शर्मा भन्छन्, ‘यदि डेभलपरले कानुनी मान्यता अनुसार सबैको इन्स्योरेन्स गराएको थियो भने यो अहिले मर्मत भइसकेको हुने थियो । तर उसले इन्स्योरेन्स नै गराएन । कानुनी प्रावधान अनुसार समुदायमा हस्तान्तरण नगरेसम्म इन्स्योरेन्स गराउनुपर्ने दायित्व उसको नै थियो । तिम्रै दायित्व हो, मर्मत गरिदेऊ भन्दा कानुनले इन्स्योरेन्स नगराएको अवस्थामा जम्मा २ लाख जरिवाना तोकेको छ, हामी २ लाख जरिवाना तिर्न तयार छौँ भन्दै उसले कानुनी उपचार खोज भनेर भन्यो । कानुन फितलो भएको कारण पनि हामीले उसलाई च्याप्न सकेनौँ ।’

शर्माका अनुसार डेभलपर्सले सुरुमा फ्ल्याट बेच्ने बेलामा ८ रेक्टर स्केलसम्मको भूकम्पले केही नहुने भनेर बेचेको थियो । तर त्यसो भन्यो भनेर अब अहिले केही भन्न वा गर्न सकिने अवस्था छैन । तर पनि कानुनी मान्यता भनेको सामूहिक आवासमा एउटै इन्स्योरेन्सले कभर गर्नुपर्छ, छुट्टाछुट्टै गर्न मिल्दैन ।’

आफूहरु अब जसरी पनि यो समस्या समाधान गर्नेतर्फ अगाडि बढेको भन्दै सरकार र स्थानीय तहले पनि साथ दिनुपर्ने शर्माले बताए ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप