शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौ महानगरको अपिल: कोरोनाको शंका लागे ११८० मा खबर गर्नु

शुक्रबार, ०७ चैत २०७६, १५ : ०१
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रासबाट मुलुक नै भयभित भइरहेकाले सचेतना अपनाउन महानगरवासीलाई अपिल गरेका छन् । 

शुक्रबार मेयर शाक्यले एक अपिल जारी गर्दै संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकामा देशभरिकै नागरिक विभिन्न पेशा व्यवसाय अंगालेर बसिरहेको तथा  विदेशी नागरिकहरूको समेत आवतजावत हुने मुख्य केन्द्र रहेका कारणकोरोना भाइरस संक्रमण छिटो फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सबैलाई सजगता अपनाउन गम्भीर आवश्यकता रहेको जनाएका छन् । 

‘संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म न्यूनीकरण हुने सम्भावना पनि रहन्छ । उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने सम्भावना भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मान्दै सकेसम्म बढी सचेतना अपनाउनु हुन हार्दिक अपिल गर्दछु’मेयर शाक्यले अपिलमा भनेका छन् । 

महानगरपालिकाले विषम परिस्थितिका कारण नजिक आइरहेका पाहाँचः¥हे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरू नमनाउन अपिल गरेका छन् । मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलमा गएर आआफ्नो परम्परा अनुसार जमघट गर्ने चलन पनि रहिआएको भन्दे मेयर शाक्यले यस्तो अवस्थामा ती धार्मिकस्थलहरूमा धेरै भीडभाड हुँदा संक्रमण सर्न सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै भीडभाड नगरीदिन अपिल गरेका छन् । अपिलमा  सार्वजनिक भोज, भतेर, पूजाआजा जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडकासाथ नमनाइदिनु हुन र त्यस्ता कार्यक्रममा सहभागी नभइदिन पनि उल्लेख गरिएको छ । 
काठमाडौं महानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी महानगरभरि नै जनचेतनामूलक अभियान सञ्चालन गर्ने जानकारी गराएको छ । महानगरले आफू वरिपरि कसैलाई कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) तथा महानगरको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप