बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागलुङमा बाढीले बस्ती बगायो : ८ जनाको शव फेला

स्थानीय भन्छन्, ‘कम्तिमा ३६ जना बेपत्ता छन्’
बिहीबार, १८ भदौ २०७७, ०७ : १७
बिहीबार, १८ भदौ २०७७

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएका ८ जनाको शव फेला परेको छ । बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले ८ जनाको शव विभिन्न स्थानमा फेला परेको जानकारी दिएका हुन् ।

बाढी आउँदा कम्तिमा ३६ जना बेपत्ता भएको तथा झन्डै ५० देखि ५५ घर बगाएको स्थानीय समाजसेवीले जानकारी दिएका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा कम्तिमा ३६ जना बेपत्ता भएको स्थानीय समाजसेवी कुशल बिकले जानकारी दिए ।

ढोरपाटन नगरपालिकाको वडा नम्बर–९ साबिक बोबाङ्ग गाबिसको पनि वडा नम्बर–९ को दुवालदेखि घट्टेचौर , सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको बिक बताउँछन् ।

‘इतिहास कै अकल्पनीय घटना घटेको छ,’ बिकले भने, ‘म अहिले घटनास्थलमै छु बेपत्ताहरुको नाम विवरण टिप्दै जाँदा ३६ जना पुगेका छन् र ५० देखि ५५ घर बगाएको अनुमान छ ।’

घटनास्थलमा पुग्न करिब ३ घन्टा पैदल हिँड्नुपर्छ । गाडी जान सक्दैन । इलाका प्रहरी कार्यालय बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले आफुहरु हिँडेर घटनास्थलमा जाँदै गरेको बताए । उनले फोनमार्फत क्षतिको विवरण फरक–फरक आइरहेको जानकारी दिए ।

“रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन”, भण्डारीले फोन मार्फत् भने, “अहिले उद्दारको काम भइरहेको छ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप