शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘सबैले पाउनुपर्छ’ भन्दै हेटौंडा उपमहानगरपालिकाका मेयरले रोके भेरोसेल खोप अभियान

बुधबार, २६ जेठ २०७८, ११ : २३
बुधबार, २६ जेठ २०७८

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा चिनिया (भेरोसेल) खोप लगाउने कार्यक्रम स्थगित भएको छ । आज बुधबारबाट सुरु हुने भनिएको खोप कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको हो ।

नेपाल सरकारबाट प्राप्त उक्त खोप मंगलबारबाट सुरु हुनु पर्ने खोप कार्यक्रम व्यवस्थापनको कारण देखाउँदै एकदिन पछाडी सारिएको थियो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मेयर हरिबहादुर महतको निर्देशनमा खोप कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको हो ।

हेटौंडा उपमहानगरपालिकामा बसोवास गर्ने हरेक नागरिक कोरोना संक्रमणको जोखिममा रहेकोले सबै जनालाई खोप सेवा प्रदान गर्नुपर्ने भन्दै मेयर महतले खोप कार्यक्रम स्थगित गरेको बताए ।

‘सरकारले तोकेको उमेर समूहका व्यक्ति मात्र कोरोना संक्रमणको जोखिममा छैनन्, हेटौंडावासी सबैलाई खोप दिन सक्नु पर्छ, त्यसैले खोप कार्यक्रम रोकेका हौँ,’ उनले भने ।

सबे नागरिकहरु कोरोना संक्रमणको जोखिममा रहेकाले उनीहरुलाई कोरोना संक्रमणको जोखिमबाट कसरी जोगाउनेबारे सरकारले छलफल गर्नु पर्ने उनले बताए । ‘सबै नागरिकले खोप लगाउन पाउनुपर्छ, हामी छलफलमा गर्न तयार छौं । सरकारले भनोस् हामी के गर्नु पर्छ गरौँ तर सरकारले निश्चित उमेर समूहका व्यक्तिलाई मात्र नभइ सबैलाई खोप दिन सक्नुपर्छ,’ उनले थपे ।

नेपाल सरकारले स्वास्थ्य आपूर्ति केन्द्र मार्फत मकवानपुरका लागि पठाएको ६ हजार ५ सय भाइल खोपमध्ये स्वास्थ्य कार्यालय मकवानपुरले जनघनत्व र अघिल्लो कोभिसिल्ड खोप लगाउने व्यक्तिको संख्याको आधारमा हेटौँडा उपमहानगरपालिकालाई २ हजार ७ सय भाइल खोप उपलब्ध गराएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए । उनले खोप कार्यक्रम सञ्चालन गर्ने नगर्ने सम्बन्धित स्थानीय तहको अधिकारको कुरा भएकाले यस विषयमा स्थानीय तहका प्रतिनीधि नै जिम्मेवार हुने बताए ।

‘हामीले सरकारले दिएको भ्याक्सिन पालिकाहरुलाई वितरण गरिदिने हो, कार्यक्रम संचालन गर्ने वा नगर्ने सम्बन्धित पालिकाको अधिकारको कुरा हो,’ प्रमुख उपाध्यायले भने । मकवानपुरको अन्य पालिकामा भने खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिकाले खोप लगिसकेको र खोप कार्यक्रम निरन्तर चलिरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप