शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी काँग्रेस : ११ जिल्ला सभापतिमा को को छन् आकाङ्क्षी ?

आइतबार, २७ असार २०७८, १६ : १३
आइतबार, २७ असार २०७८

पोखरा । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै गण्डकी प्रदेशका ११ जिल्लामा नेतृत्वका लागि चर्चा हुन थालेको छ । काँग्रेसको केन्द्रीय समिति बैठकले जिल्ला अधिवेशन साउन २६ गते गर्ने निर्णय गरेसँगै जिल्ला नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् ।

जिल्ला नेतृत्वका लागि शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पौडेलको गृह प्रदेश रहेकाले पनि गण्डकी प्रदेशमा उनको राम्रो प्रभाव मानिन्छ । अर्कोतिर देउवा पक्षले पनि पौडेल पक्षलाई कसरी कमजोर तुल्याउन सकिन्छ भन्नेबारे आवश्यक रणनीति बनाउन थालेको छ ।

अघिल्लो अधिवेशनमा गण्डकीका ११ जिल्लामा देउवा र पौडेल पक्षबीच जिल्ला नेतृत्वका लागि कडा टक्कर भएको थियो । दुवै पक्षले समानजस्तै उपलब्धि हासिल गरेका थिए ।

कुन जिल्लामा को को छन् आकांक्षी ?

कास्की

गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा काँग्रेसभित्र चुनावी सरगर्मी बढेको छ । आगामी कार्यकालका लागि कास्कीको सभापति बन्न अहिलेसम्म आधा दर्जनभन्दा बढी नेताले लबिङ सुरु गरेका छन् ।

कास्कीको काँग्रेस सभापति कृष्ण केसीलाई आगामी कार्यकाल दोहो¥याउन नेता–कार्यकर्ताबाट दबाब परेको बताइन्छ । पौडेल पक्षका उनले भने एक कार्यकाल नेतृत्व गरिसकेका कारण अब नदोहो¥याउने बताउँदै आएका छन् ।

वर्तमान कार्यसमितिका उपसभापति आइबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई, पूर्व जिल्ला सचिव तथा वर्तमान क्षेत्रीय सभापति पोषनाथ शर्मा, किशोरदत्त बराल, मनोज गुरुङ, कृष्ण कार्कीले सभापतिमा उम्मेदवार बन्न लबिङ गरिरहेका छन् ।

 त्यसैगरी पार्टीमा लामो समयदेखि योगदान गरेकाले देवराज चालिसे र महादेव गुरुङलाई आगामी कार्यकालका लागि पार्टी सभापति बनाउनुपर्ने भन्दै कार्यकर्ताले आवाज उठाएका छन् । सभापतिका लागि दुवैजनाले दावी नगरेको भएपनि जनस्तरबाट नेतृत्वमा लग्नु पर्ने आवाज उठेपछि चालिसे र गुरुङको समेत चर्चा चलिरहेको छ । केन्द्रमा पनि सभापतिका आकांक्षी धेरै देखिएकाले कास्कीमा पनि को कताको गुटबाट प्रत्यासी बन्ने भन्ने अन्योल छ ।

केन्द्रमा नेताहरु अन्योलमा रहेकाले कास्कीका आकांक्षीहरु कुन गुटमा लाग्ने भन्ने निश्चित नभएको बताइएको छ । कास्की कांग्रेसका प्रभावशाली नेता शुक्रराज शर्माको कित्ता किल्यिर नभएकाले पनि कास्कीमा अन्योलता बढेको छ । उनी कुन समुहमा लाग्छन्, त्यसले पनि कांग्रेसको सन्तुलनलाई प्रभाव पार्ने अवस्था छ । गत १३ औं महाधिवेशनमा देउवा पक्षमा लागेका शर्मा पछिल्लो समय रामचन्द्र पौडेल र शशांक कोइरालासँग निकटता बढेकाले आगामी दिनमा उनी पौडेल समुहमा रहने सम्भावना रहेका बताइन्छ ।

पर्वत

महाधिवेशन नजिकिएसँगै पर्वतमा पनि काँग्रेसमा नेतृत्व हत्याउनका लागि आकांक्षीहरुको भीड लाग्न थालेको छ । आगामी महाधिवेशनमा काँग्रेसको जिल्ला सभापति बन्नका लागि पुरानादेखि नयाँ पुस्ताका एक दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

वर्तमान कार्यसमितिका सभापति खिमप्रसाद भुसाल, कुश्मा नगरपालिकाका मेयर युवराज जोशी, काँग्रेसमा निवर्तमान कोषाध्यक्ष रामकृष्ण मल्ल, बसन्तबहादुर सिके, दुर्गाबहादुर खत्री, नवराज गुरुङ, राम शर्मा पौडेल, खगेन्द्र तिवारी, राजेन्द्र तिवारी, रामचन्द्र जोशी, गंगाधर तिवारी, विश्वप्रकाश प्रसाई र गंगाराज शर्माले सभापतिमा उमेदवार बन्न लबिङ गरिरहेका छन् । आकांक्षीमध्ये, बसन्तबहादुर सीके, दुर्गाबहादुर खत्री, खगेन्द्र तिवारी, रामचन्द्र जोशी र गंगाराज शर्मा पौडेल समूहका हुन भने अन्य देउवा समूहका हुन् ।

जिल्लामा देउवा समूहमै समेत दुई प्यानल रहेको बताइन्छ । देउवा निकट मानिने प्रभावशाली नेता अर्जुन जोशीले समर्थन गर्ने उम्मेदवारविरुद्ध देउवा समूहकै नेताहरु असहयोग गर्ने रणनीतिमा छन् । जोशी विरुद्धको देउवा समूह र पौडेल समूहबीच जिल्लामा नेतृत्वका लागि तालमेल हुने सम्भावना रहेको बताइएको छ ।

जोशीले केन्द्रीय नेतृत्वसँग आफ्नो निकट सम्बन्ध रहेका कारण जिल्लाका नेता कार्यकर्तासँग समन्वय नगरी केन्द्रको शक्तिका प्रभावमा जिल्ला राजनीतिमा आफ्नो हैकम जमाउन खोजेको आरोप देउवा पक्षकै असन्तुष्ट नेता तथा कार्यकर्ता बताउँछन् ।

बागलुङ

काँग्रेसको जिल्ला सभापतिका लागि बागलुङमा पनि आकांक्षीहरु दौडधुपमा सक्रिय देखिएका छन् । अहिले बागलुङमा सभापतिका लागि आधा दर्जन बढी आकांक्षी देखिएका छन् ।

वर्तमान पार्टी सभापति दिपेन्द्रबहादुर थापा दोस्रो कार्यकालका लागि दावी गरिरहेका छन् । त्यसैगरी अघिल्लो अधिवेशनमा सभापतिका प्रत्यासी रहेका जगदीशचन्द्र उपाध्याय, पूर्वजिल्ला सभापति तथा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, वर्तमान पार्टी सचिव नवराज पौडेल, क्षेत्र नम्बर २ का वर्तमान सभापति द्रोण कुँवर, क्षेत्र नम्बर १ का सभापति चिरञ्जीवी गौतम, महाधिवेशन प्रतिनिधि जगन्नाथ आचार्य पनि सभापतिका आकांक्षी देखिएका छन् ।

यसअघि सभापतिको प्रत्यासी रहेर दीपेन्द्र थापालाई समर्थन गरेका प्रदेश सांसद मणिभद्र शर्मा कँडेलले भने यसपटक आफू सभापतिको रेसमा नरहेको बताएका छन् । गत महाधिवेशनमा पराजित भएका उपाध्यायलाई यसअघिका सभापति प्रकाश शर्मा पौडेलले जिल्ला नेतृत्वको प्रतिस्पर्धामा साथ दिएका छन् । केन्द्रीय राजनीतिमा पौडेल र कँडेल दुवै रामचन्द्र पौडेल पक्षका हुन् । निवर्तमान सभापति थापा भने देउवा पक्षका हुन् ।

उपाध्यायलाई टक्कर दिन संस्थापन पक्षबाट थापामात्रै बलियो उम्मेदवार भएको चर्चा छ । जिल्ला सचिव नवराज पौडेलले सभापतिका लागि प्रचार अभियान नै थालिसकेका छन् । केन्द्रीय समीकरणमा फेरबदल भए पनि जिल्लामा स्वाभाविकरुपमा आफ्नो दाबी रहने उनले बताए । उनले आफूलाई कुनै पक्षको नरहेको बताए पनि कार्यकर्ता तहमा उनी पौडेल पक्षका रुपमा परिचित छन् ।

आचार्य शिक्षक पेशाबाट राजनीतिमा आएका हुन् । २०४२ सालमै विद्यार्थी संगठन निर्माणमा भूमिका खेलेका उनले आफू सबैभन्दा सिनियर उम्मेदवार भएकाले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न लागेको दावी गरेका छन् ।

उपाध्याय अघिल्लो निर्वाचनमा पहिलो चरणमा धेरै मत ल्याएका र पौडेल समूहको एकमात्रै उम्मेदवार भएकोले सहजै अगाडि बढ्न सक्ने उनका समर्थकहरुको दाबी छ ।

म्याग्दी

म्याग्दीमा जिल्ला सभापतिका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । महाधिवेशनमा हालका जिल्ला सभापति खमबहादुर (खमविर) गर्बुजा दोस्रो कार्यकालका लागि दाबी गर्दैछन् । काँग्रेसका पूर्व सभापति रेशम बहादुर बानियाँ, नेत्रबहादुर महत, माधव रेग्मी, सचिव मिनबहादुर कार्की र जिल्ला सदस्य केबी भण्डारी पनि सभापतिका आकांक्षी देखिएका छन् । यीमध्ये गर्बुजा नै अहिलेसम्मका बलिया दाबेदार हुन् ।

उनी म्याग्दी काँग्रेसको सभापति बनेपछि पार्टीको संगठन मजबुत बन्दै गएको कार्यकर्ताहरुको बुझाइ छ । उनी देउवा समूहका हुन् ।

अर्का आकांक्षी रेशमबहादुर बाँनिया म्याग्दी काँग्रेसको पूर्व सभापति हुन् । उनी पनि म्याग्दीमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनी पौडेल पक्षका नेता मानिन्छन् । त्यसैगरी पूर्वसभापति नेत्रबहादुर महत देउवा समूहमा छन् । माधव रेग्मी र मिनबहादुर कार्की कुन समूहमा लाग्ने भन्ने खुलेको छैन । अर्का आकांक्षी केबी भण्डारी शेखर कोइराला निकटका नेता मानिन्छन् । उनी यसअघि जिल्ला सदस्य बनेका थिए ।

गोरखा

अन्य जिल्लाको तुलनामा गोरखामा सभापतिका आकांक्षीहरुको संख्या न्युन देखिएको छ । गोरखाका जिल्ला सभापति हरिबहादुर घले आगामी कार्यकालका लागि उम्मेदवार नबन्ने भएका छन् । जिल्ला नेतृत्वका लागि नन्दप्रसाद न्यौपाने, राजनराज पन्त, ईश्वर पाण्डे र किरणबाबु श्रेष्ठ आंकाक्षी देखिएका छन् । पन्त र पाण्डेलाई देउवा समूहका नेता मानिन्छ । सभापतिका अर्का आकांक्षी श्रेष्ठचाहिँ पौडेल समूहका हुन् भने न्यौपाने सिटौला समूहका हुन् ।

गोरखामा आगामी महाधिवेशनमा यिनै तीन समूहका नेताबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर, केन्द्रका नेताहरु कुन समूहमा लाग्ने भन्ने अन्योलमा रहेकाले गोरखामा आकांक्षीहरु कुन गुटमा लाग्ने भन्ने निश्चित नभएको बताइएको छ ।

स्याङ्जा

नेपाली काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठको गृह जिल्ला स्याङ्जामा जिल्ला अधिवेशनको विशेष रौनक छ । श्रेष्ठले केन्द्रमा सभापतिको दाबी गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढेको हो ।

स्याङ्जामा जिल्ला सभापतिका लागि आधा दर्जन बढी नेताले लबिङ सुरु गरेका छन् । गोपालमान श्रेष्ठको सहयोगमा जिल्ला सभापति बनेका कमल पंगेनीको गत वर्ष मृत्यु भएपछि कार्यवाहक सभापति बनेका बुद्धिबहादुर (कुमार) राना सभापतिको मुख्य दाबेदार देखिएका छन् । गोपालमान श्रेष्ठ निकट उनीसँगै प्रदेश सांसद भागवत प्रकाश मल्ल र छाँयाराम खनालले पनि उम्मेदवारी दिने भएका छन् ।

पौडेल समूहबाट भने राजु थापा, मोहन पाण्डे र कल्पना तिवारीमध्येबाट उम्मेदवारी दिने चर्चा चलेको छ ।

श्रेष्ठ प्यानलबाट राना र मल्ल दुवै सशक्त दाबेदार मानिएका छन् । जसले गर्दा दुवैलाई मिलाउन श्रेष्ठलाई चुनौती थपिएको छ । रानाले लामो समयदेखि कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका कारण उनलाई नै एक कार्यकाल सभापतिमा ल्याउनु पर्ने पक्षमा श्रेष्ठ रहेको बुझिएको छ । यता पौडेल प्यानलबाट तीनजना आकांक्षीमध्ये कुनै एकलाई उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको बताइन्छ ।

तनहुँ

वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा जिल्ला सभापति बैकुण्ठ न्यौपाने स्थानीय तहको निर्वाचनमा ब्यास नगरपालिकाको मेयरमा निर्वाचित भएपछि उनको स्थानमा सभापतिको जिम्मेवारी जितप्रकाश आलेले सम्हाल्दै आएका छन् ।

न्यौपानेले जिल्ला सभापतिमा दाबी गर्ने हो या होइन भन्ने प्रस्ट भइसकेको छैन । तर, उनी निकटस्थहरुले महाधिवेशनमा न्यौपाने सभापतिको आकांक्षी रहेको बताउने गरेका छन् ।

लामो समयदेखि कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका जितप्रकाश आलेसहित रामचन्द्र अधिकारी, कृष्ण गौतम र लक्ष्मी आचार्य पनि सभापतिका लागि लबिङ गरिरहेका छन् ।

सभापतिका आकांक्षीमध्येका जितप्रकाश आले शंकर भण्डारी र ध्रुव वाग्ले निकट भए पनि पौडेलसँग समेत राम्रो सम्बन्ध बनाएकाले समर्थन पाउने विश्वासमा छन् । अर्का आकांक्षी कृष्ण गौतम विगतमा गोविन्दराज जोशीको प्यानलबाट रामचन्द्र पौडेल निकटका न्यौपानेविरुद्ध उम्मेदवार बनेका थिए । लामो समय जोशीसँग निकट रहेका कारण उनलाई पौडेलले विश्वास गर्ने सम्भावना न्युन छ । तनहुँमा बैकुण्ठ न्यौपाने र जितप्रकाश आलेमध्येबाट एक जनालाई सभापतिका रुपमा आगाडि बढाउने सम्भावना रहेको कार्यकर्ताहरु बताउँछन् ।

लमजुङ

लमजुङमा हालका जिल्ला सभापति भेषबहादुर पौडेल नेतृत्वको दाबीमा छैनन् । पौडेल पक्षका उनी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने योजनामा छन् ।

लमजुङमा महासमिति सदस्य डा. टकराज गुरुङ, रमेशकुमार पाण्डे, सचिव हरि बराल र क्षेत्रीय सभापति बृषराज गुरुङले सभापतिमा उम्मेदवार बन्न लबिङ गरिरहेका छन् । आकांक्षीमध्येका डा.टकराजलाई देउवा समूहको मानिन्छ । उनी हाल काँग्रेसको महासमिति सदस्यसमेत हुन् ।

रमेशकुमार पाण्डे, हरि बराल र बृषराज गुरुङ भने पौडेल समूह निकट मानिन्छन् । उम्मेदवारमध्ये रमेशकुमार पाण्डे मध्यनेपाल नगरपालिकाका मेयर तथा महासमिति सदस्य हुन् भने हरि बराल जिल्ला सचिव हुन् । त्यस्तै बृषराज गुरुङ क्षेत्रीय सभापति हुन् ।

नवलपरासी पूर्व

कान्छो जिल्लाका रुपमा चिनिएको नवलपरासी पूर्व (नवलपुर)मा काँग्रेसको जिल्ला सभापतिका लागि वर्तमान सभापति विष्णु लामिछानेको प्रवल दाबी छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको गृह जिल्लासमेत रहेको नवलपुरमा महेन्द्रध्वज जिसी र बालकृष्ण घिमिरे पनि सभापतिका आकांक्षी देखिएका छन् । आकांक्षीहरु सबै पौडेल पक्षका हुन् । पौडेल पक्षमा पनि विष्णु लामिछाने र बालकृष्ण घिमिरे शशांक कोइराला निकट मानिन्छन् भने महेन्द्रध्वज जिसी पौडेल निकट हुन् ।

नवलपुरमा हालसम्म देउवा पक्षका आकांक्षी देखिएका छैनन् । आकांक्षीमध्येका विष्णु लामिछाने गण्डकी प्रदेशसभा सदस्यसमेत हुन् भने जिसी पूर्व सांसद हुन् । बालकृष्ण घिमिरे भने जिल्ला सचिव हुन् ।

मुस्ताङ

 हिमाल पारिको जिल्ला मुस्ताङमा महाधिवेशनको खासै रौनक देखिँदैन । एउटामात्र संघीय निर्वाचन क्षेत्र भएको मुस्ताङमा महाधिवेशन नजिकिए पनि जिल्ला सभापतिका आकांक्षी देखिएका छै्रनन् ।

मुस्ताङमा काँग्रेस सभापति याङजिङ बिष्टले पुनः उम्मेदवारी दिने वा नदिने भन्ने खुलेको छैन । महाधिवेशन नजिकिए पनि कसले आगामी नितृत्व लिने भन्ने विषयमा छलफल नै नभएको पूर्वमन्त्री रोमी गौचन थकालीले बताए ।

उनले मुस्ताङमा जिल्ला सभापतिमा हालसम्म कसैले दाबी नगरेको बताए । उनले भने, ‘छिट्टै बैठक बसेर सभापति को बन्ने भन्ने टुङ्गो लगाउँछौं, हाम्रो जिल्लामा सल्लाह गरेर नेतृत्वमा पठाउने हो, त्यसका लागि कुनै समस्या छैन, बैठक बसेर एकैछिनमा निर्णय गर्न सक्छौं ।’

थकालीले मुस्ताङमा कुनै नेता समर्थक गुट, उपगुट नरहेको दाबीसमेत गरे ।

मनाङ : गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ जिल्लामा जिल्ला नेतृत्वको आकांक्षीको विवरण प्राप्त हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप