सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले तोक्यो प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज

आइतबार, ०६ भदौ २०७८, १८ : ३०
आइतबार, ०६ भदौ २०७८

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला (जिल्ला समन्वय समिति) को इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।

 त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उनले बताए ।

श्रेष्ठले भने, ‘बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारीहरु, जिल्ला समितिका जसलाई अहिले जिल्ला समन्वय समितिमा रुपान्तरण  गरिएको​ छ, इन्चार्जहरु तोक्ने काम भएको छ । त्यसैगरी पार्टीका विभिन्न विभागहरुको प्रमुखहरु तोक्ने काम भएको छ ।’

उनका अनुसार कतिपय जिल्लाहरुमा केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि तोकेर उनीहरुलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई नै दिइएको छ ।

‘अब हामीले राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दुमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यसपछि प्रदेश अधिवेशन गर्ने गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको छ’, श्रेष्ठले भने, ‘निर्वाचन निर्देशिका पनि तयार गर्ने काम भएको छ । हामीले निर्वाचन नियमावली र निर्वाचन निर्देशिकालाई छिट्टै तल पठाइदिने छौँ र त्यसको आधारमा अधिवेशनका कामहरु सम्पन्न हुनेछन् ।'

बैठकले पार्टीलाई व्यवस्थित र विधिसम्मत रुपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरूसँग एकता र ध्रुवीकरणका​ लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

मन्त्रिपरिषद् बिस्तारको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैँ प्रवक्ता श्रेष्ठले माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा भइसकेपछि मन्त्रिपरिषद बिस्तार हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप