बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सम्झौता कार्यान्वयन नगरिए सरकार चलाउनेहरुलाई ठुलो क्षति हुनसक्छ : प्रकाण्ड

मङ्गलबार, १३ पुस २०७८, १७ : ३५
मङ्गलबार, १३ पुस २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सरकार र आफ्नो पार्टीबीच भएको सहमति कार्यान्वयन नभए सरकार चलाउनेहरुलाई नै अप्ठ्यारो पर्ने चेतावनी दिएका छन् ।

जनपत्रकार संगठन नेपाल, कर्णाली प्रदेश कमिटीले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुसँग सम्झौता गरे पनि सो अनुसार आफ्ना कार्यकर्ता रिहा नगरेको उनले सुनाए । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि पनि आफूहरुले सहमति पालनाका लागि कुरा राखिसकेको भन्दै उनले यदि कार्यान्वयन भएन भने सरकार आफै अप्ठ्यारोमा पर्ने बताए ।

उनले विभिन्न दल र तिनका नेताहरु देश र जनताले चाहेको भन्दा उल्टो बाटोमा हिँडिरहेको समेत बताए । उनले देश भ्रष्टाचार र लुटतन्त्रको भूमरीमा फसिरहेको टिप्पणीसमेत गरे । अहिलेको परिस्थितिलाई विश्लेषण गर्दा राजनीतिक दलहरु र राज्य सञ्चालन गर्नेहरुबाटै देश जटिलतातर्फ धकेलिएको प्रस्ट रहेको उनको भनाइ छ ।

राष्ट्रिय स्वाधिनताका लागि जनताले अमूल्य योगदान दिए पनि त्यस अनुसारको परिवर्तन हुन नसकेको उनले बताए । अहिलेका राजनीतिक दलहरुले आफ्नो राजनीतिक मूल्य मान्यताको पनि रक्षा गर्न नसकेको उनले प्रस्ट पारे । ‘त्यस्ता दलका नेताहरुले अहिले यो व्यवस्थाको रक्षा कसरी गर्न सक्छन् ?,’ उनले प्रश्न गरे, ‘न्यायपालिकाको माथिल्लो निकायले राज्य चलाईदिनुपर्ने अवस्था कसरी आयो ?’

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारदेखि अहिलेसम्मको स्थिति हेर्ने हो भने काण्डै–काण्डको देश बनिरहेको उनले बताए । ‘यसको फेहरिस्त मैले भनिरहनु नपर्ला,’ उनले भने, देशमा बलात्कार, भ्रष्टाचार र अत्याचारले सीमा नाघिसक्यो, सबै दल र नेताहरुलाई एक ठाउँमा राखेर विश्लेषण गर्ने हो भने अन्धकार स्थिति छ । यो के भइरहेको छ ? कसले शासन गरेको छ ?’

उनले नेपाली जनताले गरेको क्रान्ति अहिलेको राज्य सञ्चालनको अवस्थाका निमित्त नभएको पनि प्रष्ट्याए । ‘हामीले राजतन्त्रात्मक व्यवस्थाको विरुद्धमा जनयुद्ध गरेका हौं । श्रमजीवि जनतालाई राज्य व्यवस्थाको प्रत्याभूति दिनु हाम्रो एजेण्डा थियो,’ उनले भने, ‘ तर अर्कै भइरहेछ, राज्य व्यवस्था र शासन व्यवस्था बदलिएन भने अर्थ हुँदैन ।  उही शासकले देश बदल्न सक्दैन ।’

प्रकाण्डले आफ्नो स्पेस खोज्ने शासकहरुले देश बदल्न नसक्ने टिप्पणी गरे । श्रमजीवि जनताको लुट गरेर शासन गर्नेहरुबाट आशा नगर्न पनि उनले आग्रह गरेका थिए ।

पुराना सरकारले गरेका काण्डलाई नयाँ सरकारले ढाकछोप गरिरहेको उनले बताए । उनले भने, ‘यो संसदीय व्यवस्था नै मुख्य समस्या बनेको छ । अहिले राज्य चलाईरहेकाहरु जनताप्रति उत्तरदायी हुन सकिरहेका छैनन् ।’

आफूहरुले उठाएको जनमत सङ्ग्रहको एजेण्डाले अहिलेका राजनीतिक दलहरु तरङ्गित बनेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप