आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशले रच्यो इतिहास, विश्व टेस्ट च्याम्पियन न्युजिल्याण्डलाई हरायो

बुधबार, २१ पुस २०७८, ०९ : ४३
बुधबार, २१ पुस २०७८

बंगलादेशले इतिहास रच्दै पहिलोपटक न्युजिल्याण्डलाई  उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा आठ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डविरुद्ध क्रिकेटको कुनै पनि फर्म्याटमा बंगलादेशको यो पहिलो जीत हो । न्युजिल्याण्ड अहिलेको वर्ल्ड टेस्ट च्याम्पियन हो । गत वर्ष भारतलाई हराउँदै न्युजिल्याण्डले यो उपाधि जितेको थियो ।

न्युजिल्याण्डले टेस्टको अन्तिम दिन ५ विकेटको क्षतिमा १४७ रनको अवस्थाबाट सुरु गरेको थियो । तर, उसले बाँकी ५ विकेट मात्र २२ रनमा गुमाउन पुग्यो । टिमका लागि विल यंगले सर्वाधिक ६९ रन बनाए । बंगलादेशका लागि इबादत हुसैन हिरो साबित भए । उनले ५६ रन र्खेचर ६ विकेट लिए ।

दोस्रो पारीमा बंगलादेशलाई जीतका लागि मात्र ४० रन चाहिएको थियो । बंगलादेशले १७ ओभरमा सजिलै उक्त लक्ष्य पछ्यायो । शृङ्खलाको दोस्रो र अन्तिम टेस्ट शनिबार क्राइस्टचर्चमा हुनेछ ।

बंगलादेशले पहिलोपटक न्युजिल्याण्डलाई टेस्टमा हराएको हो । पछिल्ला १५ टेस्टमध्ये बंगलादेशले १२ मा हार बेहोरेको थियो भने तीनवटा बराबरीमा सकिएको थियो । अहिलेसम्म बंगलादेशले घरेलु मैदानबाहिर ६१ वटा टेस्ट खेलेको छ । यसमध्ये उसको यो मात्र छैटौँ जीत हो । यसअघि बंगलादेशले वेस्ट इन्डिज, श्रीलंका र जिम्बाव्वेमा दुई–दुई जीत हासिल गरेको थियो । 

उता, घरेलु मैदानमा न्युजिल्याण्डको सन् २०१७ पछि पहिलो हार हो । सन् २०१७ मा न्युजिल्याण्ड वेलिङटनमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप