आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा तालमेलबारे छलफल, प्रचण्डले अगाडि सारे भागबण्डाको सूत्र

शुक्रबार, २० फागुन २०७८, १७ : ४५
शुक्रबार, २० फागुन २०७८

सत्तारुढ गठबन्धनभित्र स्थानीय तहमा चुनावी तालमेलको विषयमाथि छलफल सुरु भएको छ । बिहीबारबाट गठबन्धनभित्र आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेलबारे औपचारिक छलफल सुरु भएको हो । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकमा चुनावी तालमेल छलफल भएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रातोपाटीलाई जनाकारी दिए ।

‘स्थानीय तहको निर्वाचनमा सकेसम्म मिलेर जानेमा गठबन्धनभित्र एकमत छ,’ यादवले भने, ‘सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउँछ, स्थानीय निर्वाचनको तालमेलबारे ठोस छलफल भएको छैन ।’ यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारको पार्टीको केन्द्रीय समिति बैठकमा स्थानीय तह मिलेर जाने विषयमा गठबन्धनभित्र छलफल सुरु भएको ब्रिफिङ गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा तालमेल गर्न तयार रहेको प्रचण्डको बिफ्रिङ छ । ०७४ को निर्वाचनमा गठबन्धन सम्बद्ध बलियो दलबाट उम्मेदवार तय गर्न देउवा सकारात्मक रहेको प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले बताए । गठबन्धन कमजोर भएको स्थानमा छलफलका आधारमा साझा उम्मेदवार खडा गर्न देउवा तयार रहेको प्रचण्डको भनाइ छ । प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने, ‘मिलेर नै चुनावमा जाने भनेर गठबन्धनमा छलफल भएको छ ।  त्यसका निम्ति आवश्यकताअनुसार विभिन्न कार्यदलहरू बनाएर जाने पनि भन्नु भएको छ ।’

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने आवश्यकता र आ–आफ्नै दलीय फाइदाको सिद्धान्त अनुसार चुनावी तालमेल हुने बताए । ‘आवश्यकताको सिद्धान्त र पार्टीलाई यसले कतिको फाइदा गर्छ भन्ने सिद्धान्तमा यो निर्भर गर्छ,’ देउवाका विश्वासपात्र समेत रहेका उनी भन्छन्, ‘गठबन्धनमा सम्मिलित दलहरुले मूल्यांकन गरेर एउटा निचोडमा पुग्छौं ।’

गठबन्धन सम्बद्ध दलबीच तालमेल र प्रतिस्पर्धा दुबै हुने प्रवक्ता महतको भनाइ छ । ‘स्थानीय आवश्यकतालाई ध्यानमा राखेर कतिपय ठाउँमा समझदारीहरू हुन सक्दछ,’ उनले भने, ‘कतिपय ठाउँहरुमा दलहरुले आफ्नो ढंगले चुनावी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था पनि छ ।’

प्रचण्डले अगाडि सारे भागण्डाको सूत्र

प्रचण्डले गत स्थानीय तहमा गठबन्धनमा आबद्ध दलले जितेको सिट सुरक्षित राखेर एमालेले जितेको ठाउँमा तालमेलको प्रस्ताव अगाडि सारेका छन् । ‘काँग्रेस, माओवादी केन्द्र, एकीृकत समाजवादी र जसपा जितेको ठाउँमा उसैलाई छोडेर जाऊ । एमालेले जितेको पालिकामा भागबण्डा गरौं,’ प्रचण्डले भनाइ छ ।

काँग्रेस नेताका एक नेताका अनुसार एमालेले जितेको पालिकामा पनि काँग्रेस, माओवादी, एकीृकत समाजवादी स्ट्रेन्थ हेरेर लडौं भन्ने प्रचण्डको प्रस्ताव छ । प्रचण्डको प्रस्तावमा माधव नेपाल पनि सकारात्मक रहेको काँग्रेस नेताहरु बताउँछन् ।

स्थानीय तहको निर्वाचनमा केन्द्रबाट तालमेलको नीति अख्तियार गर्नुपर्ने माधव नेपालको जोड छ । बिहीबारेको बैठकमा प्रचण्ड र माधवले राखेको उक्त प्रस्तावको देउवाले खासै जवाफ नदिएको गठबन्धनको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा तालमेलबारे  छलफल गरेर जान सकिने मात्र बताएका थिए । ‘स्थानीय तहको चुनावमा कहाँ कसरी हुन्छ ? मिलेरै जाऊ भन्ने पक्षमा छु । तर यसबारे पछि छलफल गरौंला,’ देउवाको भनाइ छ ।

काँग्रेस नेताहरु भने प्रचण्डको प्रस्ताव स्वीकार गरेर जाने अवस्था नरहेको बताउछन् । काँग्रेसका एक नेताले भने, ‘प्रचण्डले भने जसरी स्थानीय तहमा तालमेल सम्भव छैन । माथि हामीले जिम्मा लिएर हिसाब गर्ने कुरा बेकार हो ।’ गठबन्धनै गरेर जाने भएपनि स्थानीय तहलाई छाडिदिनुपर्ने काँग्रेस काँग्रेस महामन्त्री गगन थापाको भनाइ छ । थापाले भने, ‘स्थानीय तहमा हाम्रो विभिन्न तहबाट निर्णय आउछ । तालमेलको जिम्मा प्रदेश र  जिल्लालाई दिऊँ भन्ने छ ।’

यस्तै स्थानीय तहको सबै ठाउँमा गठबन्धन गरेर जान सकिने अवस्था नरहेको जसपा अध्यक्ष यादवले बताए । ‘सिकेको ठाउँमा मिलेर जाऊ भन्नेमा हामी सबै सहमत छौं । स्थानीय तहमा सबै ठाउँमा मिलेर जान सकिँदैन भन्नेमा पनि हामी सबै एक मतजस्तै छौं,’ उनले भने ।

काँग्रेस महामन्त्री थापाले पनि स्थानीय आवश्यकता अनुसार तल्लो समितिले चुनावी तालमेल गरेर जान केन्द्रले नरोक्ने बताए । ‘अधिकांश स्थानीय तहमा अवस्था हेरेर केन्द्रको गठबन्धन अनुसार तालमेल हुन्छ । तल्लो तहमै मिलाएर जानुहुन्छ,’ थापा भन्छन् ।

उनका अनुसार यसरी जाँदा स्थानीय तहमा सत्ता गठबन्धन दलबीच तालमेल हुने अवस्था बन्छ । ‘जति सकिन्छ महानगर र उपमहानगरपालिकाबारे केन्द्रमा छलफल गर्छौं । नगर र गाउँपालिकाको उम्मेदवार छनोटको जिम्मा प्रदेश र जिल्ला समितिलाई छोडिदिने हो,’ उनले भने ।

महानगरमा भागबण्डा गर्न महालफडा

महानगर र उपमहानगरपालिकामा मात्र पार्टीको केन्द्रीय तहबाट टिकट वितरण हुनेछ । महानगर र उपमहानगरमा पार्टीको केन्द्रीय तहले उम्मेदवार तय गर्ने भएपनि तालमेलबारे काँग्रेसले सोचिसकेको छैन । ‘गठबन्धन गरेर जाँदा ६ वटा महानगरमा माओवादीले २, एकीकृत समाजवादी र जसपाले एक सिट खोज्छ,’ ती नेताले भने, ‘तर काँग्रेसले कुनै पनि महानगर छोड्न सक्ने अवस्था छैन ।’

२०७४ को स्थानीय तह निर्वाचनमा ६ महानगरमध्ये दुई महानगरमा नेपाली काँग्रेस, दुई महानगरमा नेकपा एमाले, एक महानगरपालिकामा नेकपा माओवादी केन्द्र र एक महानगरपालिकामा तत्कालीन जसपाले महानगर प्रमुखमा जितेको छ । ६ महानगर मध्ये  पाँचमा काँग्रेसले उपप्रमुख पदमा जिते छ । एउटा महानगरपालिकामा भने एमालेले उपप्रमुख पदमा जितेको छ ।

यस्तै ११ उपमहानगरमा नेकपा एमालेले ७ ठाउँमा जितेको थियो । २०७६ सालमा भएको उपनिर्वाचनमा एमाले धरान उपमहानगर भने गुमाएको छ । हाल इटहरी, जितपुरसिमरा, हेटौँडा, बुटवल, घोराही र तुलसीपुर उपमहानगरमा एमालेको नेतृत्व छ । त्यस्तै काँग्रेसले धरान, कलैया र धनगढी गरी तीनवटा उपमहानगरको नेतृत्व गरिरहेको छ । जसपाले जनकपुर र राप्रपाले नेपालगञ्ज उपमहानगर नेतृत्वको गरिहेको छ ।

महामन्त्री थापाका अनुसार सबै महानगर र उपमहानगरमा काँग्रेसको बलियो उपस्थितिले रहेकाले कहाँ छोड्ने भन्नेमा गाह्रो छ । उनले भने, ‘गत निर्वाचनमा भरतपुर महानरपालिका माओवादीलाई छोड्दा पार्टीमा आएको ‘रियाक्सन’ले यसपटक निर्णयमा पुग्न अप्ठ्यारो छ । मैले गाह्रो देख्छु ।’

चुनावी गठबन्धनमा हुनुपर्ने पक्षमा खुलेर लागेका काँग्रेस नेताहरु नै कहाँ छोड्ने भन्नेमा प्रस्ट छैनन् । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति संयोजक रामचन्द्र पौडेलले दलहरूको अवस्था हेरेर तालमेल हुने बताए । ‘काँग्रेस आफै जित्न सक्ने ठाउँमा एक्लै चुनाव लड्छ । बाँकी ठाउँमा मिलेर जान्छौं,’ उनी भन्छन्, ‘हामी बलियो भएको ठाउँमा उहाँहरुले छोड्नु हुन्छ । उनीहरु बलियो भएको ठाउँमा हामी छाड्छौं ।’

स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा छलफल हुँदै जाँदा एउटा विन्दुमा सहमति हुने पौडेलको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप