आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावको ‘मुख’मा माओवादी : काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर !

चुनावको समयमा पार्टीको विवादले तल्लो तहसम्म असर पर्ने चिन्ता
शुक्रबार, २० फागुन २०७८, १९ : २८
शुक्रबार, २० फागुन २०७८

 शुक्रबार सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । मुलुकमा एमसीसी प्रकरण नसेलाउँदै जारी सो पार्टीको केन्द्रीय कमिटीको बैठकलाई धेरैले चासोका साथ हेरेका छन् । माओवादी बैठकलाई चासोका साथ हेरिनुमा एमसीसीमात्र कारण भने होइन । एमसीसीकै कारण पार्टीभित्र बढेको विवाद र आसन्न स्थानीय तहको चुनाव समेत जोडिने भएकाले यो पार्टीले आगामी दिनमा कस्तो रणनीति बनाउँछ ? या निर्णय गर्छ भन्ने पनि सो पार्टीका नेता कार्यकर्ताले चासोपूर्वक हेरेका छन् ।

त्यसो छ माओवादी केन्द्रले पनि अन्य दलले जस्तै चुनावी मिति घोषणा भएसँगै तल्लो तहसम्मका नेता तथा कार्यकर्ताहरु चलायमान बनाउने प्रयास थालिसकेको छ । तर चुनावको सेरोफेरोमा पार्टीभित्र विवाद सुरु हुँदा पार्टी नेता कार्यकर्तामा स्वभाविक रुपमा चिन्ता थपिएको छ । 

केन्द्रीय कमिटीको बैठकले कार्यविभाजन गरेर पार्टीलाई चुनावमा होम्नुपर्ने बेलामा एमसीसी प्रकरणमा उत्पन्न मतभेदबाट पार्टी नै सग्लो रहने वा नरहने भन्ने संशय मेटिन सकेको छैन । खासगरी एमसीसी पास गराउन पार्टी अध्यक्ष प्रचण्डले खेलेको भूमिकाप्रति पार्टीभित्र असन्तुष्टि बढ्न पुगेको नेताहरुकै अभिव्यक्ति र गतिविधिले पुष्टि गरिसकेको छ ।

तर एमसीसीको असन्तुष्टिले पार्टी विभाजन हुनबाट जोगाउन अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठलगायतका नेताहरुलाई सम्झाउने, बुझाउने र फकाउने प्रयास पनि जारी राखेका छन् । शुक्रबारको बैठकमै समेत प्रचण्डले धेरै कुरा स्पष्ट पार्ने प्रयास गरे । 

तर नेता श्रेष्ठले केन्द्रीय समितिको बैठकमै एमसीसीको चर्को विरोध गर्दै त्यस परियोजनाभित्र लुकेका उदेश्य र नेपालमा पार्ने प्रभावबारे सविस्तार व्याख्या गरे । त्यसक्रममा नेता श्रेष्ठले अध्यक्ष प्रचण्डमाथि व्यक्तिवादीको आरोप समेत लगाउन छुटाएनन् । साथै उनले एमसीसी अनुमोदनको सवालमा ‘दलाल'हरुसँग साँठगाँठ गरेको आरोप समेत लगाउन भ्याए । बैठकमा श्रेष्ठले एमसीसीमा आफ्नो असन्तुष्टि जाहेर गर्दै प्रचण्डसँगको सम्बन्ध र पार्टीमा अहिलेको कठिन अवस्थाबारे प्रस्ट्याउने प्रयास समेत गरे । उनले भने, ‘प्रचण्डसँग ३५ वर्षदेखिको सम्बन्ध छ, तर अहिले सबभन्दा कठिन समय आएको छ ।’

नेता श्रेष्ठको यो भनाइबाट प्रष्ट हुन्छ कि ‘माओवादी केन्द्रमाथिको संकट टरेको छैन ।’ यसले स्वभाविक रुपमा तल्लो तहका कार्यकर्तामा चिन्ता बढाएको छ । चुनावकै मुखमा पार्टीभित्र बढेको विवादले ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएको भन्दै कतिपय नेता कार्यकर्तामा चिन्ता बढेको छ । विवादले तल्लो तहसम्मका नेता तथा कार्यकर्ता विभाजित हुनसक्ने र निराशा छाउने हुदा त्यसको असर चुनावमा पनि असर पर्ने नेताहरुको बुझाई छ ।

माओवादी केन्द्र सिराहाका नेता प्रवेश लामाले भने, ‘केन्द्रीय समितिको बैठक चलिरहेको छ, त्यसप्रति हाम्रो पनि नजर छ, तल्लो तहका नेता तथा कार्यकर्ताले पनि पार्टीको यो बैठकलाई बडो गम्भीरतापूर्वक हेरिरहेका छन् ।’

एमसीसीलाई लिएर पार्टीमा जुनखालको विवाद बाहिरिएको छ, त्यसैले पार्टी विभाजन हुन्छ भइहाल्छ भन्नेमा आफूलाई विश्वास नलागेपनि बैठकले एमसीसीको बारेमा के निर्णय गर्छ वा के धारणा बनाउँछ त्यसमा भर पर्ने उनको भनाइ छ ।

एमसीसी प्रकरणमा पार्टीमा अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीच देखिएको दुई लाइन धारको प्रभाव स्थानीय तहसम्म पनि छ । तर पार्टी नै विभाजन हुनुपर्छ भन्ने पक्षमा अत्यन्तै कममात्र छन् । चुनावको मिति घोषणा भइसकेको अवस्थामा पार्टी विभाजन भयो वा विवाद रहिरह्यो भने यसले ठूलो असर पार्ने तल्लो तहका नेता तथा कार्यकर्ताहरु बताउँछन् ।

गोरखा जिल्ला कमिटी सदस्य कञ्चन कुमाल एमसीसीको विवादले पार्टी विभाजनमा जान नहुने बताउछिन् । उनी भन्छिन्, ‘एउटा जिवन्त पार्टीमा यस्ता सानोतिनो विवाद भइरहन्छ, त्यसैलाई आधार मानेर पार्टी विभाजन हुँदैन जस्तो लाग्छ ।’ तर चुनावको समयमा पार्टीमा यस्तो विवाद भयो भने त्यसले पक्कै पनि असर गर्ने भएकाले यही केन्द्रीय समितिको बैठकबाट पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुनपर्ने उनको सुझाव छ ।

उनले केन्द्रीय कमिटीको बैठकबाट पार्टीको विवाद समाधान गर्दै चुनाव केन्द्रीत निर्णयहरु गर्नुपर्नेतर्फ नेतृत्वको ध्यान जानुपर्ने सुझाव दिइन् । 

पर्वतका प्रदेश समिति सदस्य दीपक आचार्यले पनि चुनावका समयमा पार्टीमा विवाद हुनु राम्रो संकेत नभएको बताए । चुनावको समयमा एक ढिक्का भएर जानुपर्ने बेला यसरी पार्टी भित्र विवाद हुनुलाई तल्लो तहका नेता तथा कार्यकर्ताहरुले राम्रो नमानेको उनले बताए ।

‘एमसीसीकै विवादका कारण पार्टी विभाजन भयो भने प्रतिकृयावादीहरुको ठूलो जित हुनेछ, त्यसमा पार्टी सचेत रहनुपर्छ,’ उनले भने, ‘सुरुमा यथास्थितिमा एमसीसी पास गर्नुहुँदैन भनियो, पछि ब्याख्यात्मक टिप्पणीसहित पास गरियो त्यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर कुनै नेताले त्यसलाई इस्यु बनाएर पार्टीमा विवाद गर्छन् भने त्यसले सबैलाई घाटा हुन्छ ।’

वडा कमिटीसम्मका नेता कार्यकर्ताको ध्यान केन्द्रीय कमिटीको बैठकतिर गएको भन्दै यस्तो अवस्थामा बसेको बैठकका निर्णयप्रति चासो र चिन्ता लिनु स्वभाविक भएको आचार्यका भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप