बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भुसाल र पन्तलाई ओलीको जवाफ : झ्यालढोका फोरेर हिँड्नेसँग केको एकता ?

सोमबार, ०७ चैत २०७८, २१ : २४
सोमबार, ०७ चैत २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता नहुने स्पस्ट पारेका छन् ।  सोमबार बसेको पोलिटब्युरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघु पन्तले आगामी चुनावमा गठबन्धन र वाम एकताका लागि एमालेले ढोका खुला राख्नुपर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओलीले यस्तो जवाफ दिएका हुन् । 

बैठकको अन्तिममा अध्यक्ष ओलीले नेता भूसाल र पन्तले राखेको प्रस्तावको जवाफ दिँदै ओलीले प्रचण्ड र माधव नेपालले एकताको ढोका खुला राख्नुपर्ने धरातल नै नराखेकाले उनीहरुलाई एमालेले पुन एकताका लागि ढोका खुलै राख्नुपर्ने आवश्यकता नभएको जवाफ दिएका हुन् । 

‘वामपन्थी एकताका लागि एमालेले ढोका खुला राख्ने कुरामा प्रचण्ड र माधव नेपालले त्यो धरातल नै राख्नुभएको छैन । चित्रबहादुरको पार्टीले त एमालेसँग एकता नगर्ने भनेर निर्णय नै गरेको छ’, ओलीले बैठकमा दिएको जवाफ उदृत गर्दै एक पोलिटब्युरो सदस्यले रातोपाटीलाई बताए । साथै ओलीले प्रचण्ड र माधव नेपाल झ्याल ढोका फोरेर गएकोमा आक्रोश समेत व्यक्त गरे । 

‘उनीहरु झ्याल ढोका फोरेर गएका हुन् । त्यसरी गएकाहरुलाई हामीले ढोका खुला राख्नुको के अर्थ हुन्छ र ? १९ बुँदे आरोपपत्र लगाएर, अध्यक्षबाट कारवाही गरेर, काँग्रेसलाई सत्ता बुझाएर न्यायालय सेटिङ गरेर परमादेशबाट सरकार बनाउनेलाई फेरि ढोका खुल्ला ? यो सम्भव छैन’, अध्यक्ष ओलीको भनाइ थियो । ओलीले १४ सांसदको कारवाही नगरेर प्रचण्ड, माधव नेपाल र सभामुख अग्नि सापकोटा मिलेर संविधान समेत मिचेको आरोप लगाएका थिए । ‘नामका वामपन्थी कामका विरोधीहरुलाई समेट्न सकिँदैन । यो एजेण्डा अहिलेको एजेण्डा पनि होइन’, ओलीले बैठकमा भनेका थिए, ‘उहाँहरु (माधव प्रचण्ड) लाई होइन तलका नेता कार्यकर्तालाई स–सम्मान ल्याउन सकिन्छ ।’ 

बैठकमा नेता महेश बस्नेत र हिक्मत कार्कीले पनि भुसाल र पन्तको प्रस्तावप्रति असहमति जनाएका थिए । नेता बस्नेतले वामपन्थी, राष्ट्रवादी र प्रगतिशिल शक्तिहरूलाई नेकपा एमालेमा समावेश गराएर क्रान्ति र निर्वाचनमा सहभागी हुन आव्हान गर्नुपर्ने बताएका थिए । साथै उनले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान एमालेले पहल कदमी लिनुपर्ने भन्दै पार्टी अध्यक्षले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रस्तावमा दुई दलीय व्यवस्थाको प्रस्ताव समेटिनुपर्ने धारणा राखेका थिए । 

बैठकमा नेता भुसालले एमाले वाम एकताको मूल प्रवाह भएको भन्दै गठबन्धन र वाम एकता गर्नुपर्नेमा जोड दिएका थिए । ‘नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण छैन र निर्वाचनमा वामपन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक छ’, भुसालको प्रस्ताव थियो । बहुसंख्यक कम्युनिष्ट सदस्य र कार्यकर्ताको चाहना पनि वाम एकता नै रहेको भूसालले बताएका थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप