शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘बागमती प्रदेशमा ५५ प्रतिशत स्थानीय तह जित्छौँ,  मकवानपुरलाई एमालेको लालकिल्ला बनाउँछौँ’

केही दल एमालेविरुद्ध षड्यन्त्रमा लागिपरेका छन् : महेश बर्तौला
शुक्रबार, १८ चैत २०७८, १० : ३७
शुक्रबार, १८ चैत २०७८

२०७४ सालको बागमती प्रदेशमा एमाले बलियो शक्तिको रूपमा उदाएको थियो । ११९ वटा स्थानीय तहमध्ये एमालेले धेरैजसो पालिकामा जित निकाल्दै आफूलाई प्रदेशमा ठुलो शक्तिको रूपमा स्थापित गरेको थियो ।

स्थानीय तहको आसन्न निर्वाचनमा पनि पहिलो शक्ति बन्ने एमालेको दाबी छ । यद्यपि अहिले एमाले विभाजन भइसकेको छ भने एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशमा बलियो उपस्थिति जनाएको छ ।

एमालेका बागमती प्रदेश उपसचिव महेश बर्तौला भने एमालेको पक्षमा जनताको साथ र समर्थन अपार रहेको दाबी गर्दछन् । आगामी निर्वाचनमा एमालेले बागमती प्रदेशका बहुमत स्थानीय तह जित्ने ठोकुवा गर्दै उनी पार्टी विभाजनपछि थोर–बहुत नेता तथा कार्यकर्ताले एमाले छाडे पनि ठुलो सङ्ख्यामा अन्य दलका प्रतिनिधिहरू संगठित हुन आउने क्रम जारी रहेको बताउँछन् । यसले गर्दा आगामी निर्वाचनको मत परिणाममा एमालेलाई खासै धक्का नपुग्ने उनको भनाइ छ ।

एमाले बागमती प्रदेशका प्रचार विभाग प्रमुखसमेत रहेका बर्तौलासँग स्थानीय तहको आसन्न निर्वाचन, बागमती प्रदेशमा एमालेको अवस्था लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

स्थानीय तहको निर्वाचनका लागि सबै दल चुनाव केन्द्रित कार्यक्रममा लागिरहेका छन् । बागमती प्रदेशमा एमालेको अवस्था कस्तो छ ?

 आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो राजनीतिक दल बन्ने प्रयासमा छ । प्रदेशको ११९ वटा स्थानीय तह र १ हजार १२१ वटा वडामा एमालेका उम्मेदवारलाई विजयी गराउने तयारीमा छौँ । हाम्रो संगठन परिचालन गरी एमालेप्रति नागरिकहरूलाई आकर्षित गर्ने काम भइरहेको छ । जसका कारण अघिल्लो चुनावमा एमालेमा मतदान नगरेका जनतामा पनि एमालेलाई मत दिनुपर्छ भन्ने सोच विकास भएको छ । त्यसैले हामी यस निर्वाचनमा असाधारण उपलब्धि प्राप्त गर्छौँ भन्ने विश्वासमा छौँ ।

केही समय अगाडि एमाले विभाजित भयो । त्यसको असर केही हदसम्म पार्टीभित्र पनि देखिएको छ । केही नेता तथा कार्यकर्ताले एमाले छाडेका छन् । विभाजनले एमालेलाई कस्तो असर पर्छ ?

पार्टी विभाजनबाट केही मानिस चोइटिएर गएका छन् । हिजोको दिनमा एमाले र माओवादी गठबन्धन भएर नेकपा बनेको थियो । केही व्यक्ति चोइटिएर गए पनि माओवादीका केही हिस्सा एमालेसँग जोडिएको छ । नयाँ मतदाताको ठुलो समूह पनि नेकपा एमालेसँग जोडिएको छ । एमालेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको आकाङ्क्षालाई पूरा गर्न एमालेलाई मत दिनुपर्छ भन्ने जनलहर नै चलेको छ ।

एमालेका मूल उद्देश्य भनेको जनतामा समृद्धि ल्याउने हो । अहिले हामी निर्वाचन केन्द्रित कार्यक्रम लिएर जनताको समृद्धिको उद्देश्य बोकेर हिँडिरहेका छौँ । हामीले हिजोको दिनमा पनि चुनाव जितेका थियौँ । केही दल एमालेविरुद्ध षड्यन्त्रमा लागिपरेका छन् । देशको विकास गर्नेभन्दा पनि एमालेलाई हराउन उनीहरू लागिपरेका छन् । उनीहरू एमालेविरुद्ध षड्यन्त्र गर्दै गठबन्धन गर्दै छन् । तर, एमालेमा ठुलो पङ्क्ति जोडिएको छ । यसले गर्दा आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा हामी विजयी हुनेछौँ । नागरिकहरूले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको निम्ति,  विकास र समृद्धिका निम्ति काम गर्न अत्यधिक मतका साथ एमालेका उम्मेदवारहरूलाई विजयी गराउने छन् ।

पार्टी विभाजनले संगठन कमजोर भएको छैन ? पार्टी विभाजनले निर्वाचनमा कस्तो असर पर्छ ?

हिजोको दिनमा मतदान नगरेका जनताहरू पनि आगामी निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न आतुर छन् । त्यसले पनि निर्वाचनमा एमालेको जितलाई सघाउँछ । एमाले विभाजनले स्थानीय तहका जनता र कार्यकर्ताको तहमा पारेको क्षतिको प्रतिशत निकै न्यून छ । ५÷७ कार्यकर्ता डगमगाएका छन् । जनतामा पार्टी विभाजनको त्यस्तो असर छैन । जनताले एमालेलाई रुचाउँछ । अन्य पार्टीको ठूलो पङ्क्ति एमालेमा जोडिएको छ । एमाले छोडेका केही साथी फेरि फर्किनु भएको छ । त्यसकारण गर्दा पार्टी विभाजनले थोरै मत घटबढ देखिए पनि यसले एमालेको निर्वाचन परिणाममा असर पर्दैन । हामीले के बुझेका छौँ भने हिजो एमाले राम्रो घर थियो । विभिन्न खाले षड्यन्त्रका कारण एमालेलाई चोइटाइयो । राष्ट्र निर्माणको मूल दायित्व, जिम्मेवारी निर्वाह गरेको एमालेलाई उनीहरूको भूमिकाबाट अलग गर्नु थियो । त्यो भयो । आज पनि एमालेविरुद्ध विभिन्न षड्यन्त्र भइरहेको छ । त्यही षड्यन्त्रको उदाहरण हो उहाँहरूको गठबन्धन । यद्यपि नागरिकहरूको एमालेप्रतिको विश्वासका कारणले गर्दा बागमती प्रदेशका ११९ वटा स्थानीय तह र १ हजार १२१ वटा वडामध्ये ५५ प्रतिशतमा जितको आशमा हामी छौँ ।

हामी दोस्रोका लागि प्रतिस्पर्धा गरिरहेका छैनौँ । हामी पहिलो पार्टी हुन्छौँ । पहिलोमा पनि कति सङ्ख्याले हुने भन्ने हाम्रो तयारी हो । गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गर्नुभएको उहाँहरूको मुख्य उद्देश्य भनेको दोस्रो वा तेस्रो को हुने भन्नेमा हो ।

विगतमा जनताले दिएको मत र कम्युनिस्टहरुको एकतालाई एमालेले जोगाउन नसकेको भन्ने छ नि ! यो अवस्थामा जनताले तपाईंहरूलाई फेरि पत्याउँलान् र ?

त्यसो होइन । एमालेको नेतृत्वले विगतको निर्वाचनमा भएको गठबन्धनलाई पार्टी एकतासम्म लगेको थियो । एकता गरेर हामीले त्यसलाई नेकपा बनाएका थियौँ । तर, घटना शृङ्खला हेर्ने हो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इतिहास पद, प्रतिष्ठा र शक्तिमा मात्र केन्द्रित छ । उहाँमा स्थिरता नै देखिएन । उहाँको महत्त्वाकाङ्क्षा तथा पदप्रतिको आशक्तिले पार्टी एकतालाई बिथोल्ने काम गरेको हो ।

अर्को कुरा, पार्टीको नवौँ महाधिवेशनमा केपी शर्मा ओली र माधव नेपाल बिचको प्रतिस्पर्धामा माधव नेपालले हार व्यहोर्नुभयो । उहाँलाई त्यसको पीडा विगतदेखि नै थियो । जसले गर्दा उहाँ केपी शर्मा ओलीलाई कमजोर बनाउने पक्षमा हुनुहुन्थ्यो । त्यसैले उहाँ पार्टीभित्र अन्तरसंघर्षमा लाग्नुभएको थियो । एकतापछि प्रचण्डजीले त्यसैमाथि खेल्ने काम गर्नुभयो । उहाँ पार्टीभित्रको आन्तरिक विवादमा छिरेर पार्टी एकतालाई कमजोर बनाउन लाग्नुभयो । उहाँहरूको यस्तो कामले नेकपा कमजोर भयो र विभाजित भयो । अहिले एमाले पुनर्गठित भएको छ । केपी शर्मा ओलीको नेतृत्वमा विभिन्न धारका व्यक्ति र कम्युनिस्टहरूलाई एमालेमा जोड्ने काम भइरहेको छ । जनताले बुझेका भनेको पनि यही हो ।

प्रचण्डको अस्थिर मानसिकताले नेकपालाई मात्र होइन, देशलाई नै घाटा हुने काम भइरहेको छ । जसले गर्दा देश र जनताले कहिल्यै सुख पाएनन् । एकका विरुद्ध अर्को उभ्याउने । त्यसमा चलखेल गर्ने र आफू सदैव शक्तिमा रहने प्रचण्डको मानसिकताले समस्या भएको भन्ने कुरा जनताले बुझेका छन् ।

आगामी निर्वाचनमा नेकपा एमालेले बागमती प्रदेशका कति वटा पालिकामा जित हासिल गर्ने आकलन गर्नुभएको छ ?

यो जनताले फैसला गर्ने कुरा हो । पार्टीको जिम्मेवारीमा रहेको हिसाबले आगामी निर्वाचनमा हामी अधिकतम पालिकामा जित्ने प्रयत्नमा छौँ । निर्वाचनका न्यायाधीश भनेका आम मतदाता हुन् । उहाँहरूप्रति हाम्रो विश्वास सदैव कायम छ । हामी हिजो जितेका ठाउँहरू आगामी निर्वाचनमा कायम राख्दै अतिरिक्त ठाउँहरूमा जित्न प्रयत्नरत छौँ ।

एमालेले यति वटा पालिका जित्न सक्छ भन्ने आङ्कलन गरेको छैन र ?

त्यस्तो होइन । बागमती प्रदेशका शत प्रतिशत पालिकामा हाम्रो राम्रो उपस्थिति छ । सबै ठाउँमा हाम्रो अवस्था राम्रो छ । विगतमा हारेका क्षेत्रमा पनि हामी सुधारका प्रयासमा छौँ । हामी अधिकतम पालिका जित्ने प्रयासमा छौँ । तपाईंले भनेको जस्तै गरी भन्न सहज छैन । किनभने मकवानपुरमा हामी बलियो अवस्थामा छौँ । यो हाम्रो गढ जिल्ला हो । विगतको निर्वाचनमा हामीले मकवानपुरको ६ पालिकामा अध्यक्षसहित अन्य पदमा जितेका थियौँ भने ८ वटा पालिकामा उपाध्यक्षसहित अन्य पद जितेका थियौँ । आगामी निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्षको मात्र हिसाब गर्ने हो भने २० पदमा नै जित्ने अवस्था बनेको छ । विगतमा हामी थाहा नगरपालिका, राक्सिराङ गाउँपालिकामा हारेका थियौँ । आगामी निर्वाचनमा हामी ती पालिका जित्छौँ । हाम्रो तयारीका हिसाबले मकवानपुरमा शतप्रतिशत पालिकाहरू जित्छौँ । मकवानपुरलाई एमालेको लालकिल्लाको रूपमा स्थापित गर्ने छौँ । प्रदेशको राजधानी रहेको मकवानपुरमा हामी ‘क्लिन स्विप’ गर्ने तयारीका साथ अघि बढेका छौँ । यस्तै अवस्था थुप्रै जिल्लामा पनि छ ।

एमालेले आगामी निर्वाचनका लागि कस्तो रणनीति बनाएको छ ?

अहिले संगठनको आन्तरिक परिचालन नै हाम्रो मुख्य रणनीति हो । निर्वाचनमा हाम्रो पार्टीको सम्पूर्ण संगठन परिचालन गर्ने तयारीमा छौँ । हाम्रा विभिन्न जनवर्गीय संगठन छन् । उनीहरू परिचालित हुन्छन् । समुदायस्तरमा काम गर्ने विद्यार्थी, युवा, महिला, मजदुर, विभिन्न पेशागत युनिटहरू छन् । ती सबैलाई हामी निर्वाचन केन्द्रित कार्यक्रमहरूमा खटाउँछौँ । हामीले त्यो अभियानमा सबैलाई जोडिसकेका छौँ ।

हामी कुनै एक व्यक्तिलाई निर्वाचित गराउन मात्र निर्वाचनमा जाँदै छैनौँ । हामी देश निर्माणको महान् अभियान बोकेर त्यो अभिभारा पूरा गर्ने दायित्व बोधका साथ पनि आगामी निर्वाचनमा जाँदैछौँ । चुनावमा जाँदै गर्दा हाम्रो मुख्य एजेण्डा भनेको आर्थिक समृद्धि नै हो । युवालाई उत्पादनसँग जोड्ने योजनाहरू, स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गरेर पर्यटन हबको रूपमा विकास गर्ने प्रकृतिका योजनाहरू नै हाम्रो एजेण्डा हुन् ।

बागमती प्रदेशमा विगतमा पनि एमालेले अन्य दलहरुसँग चुनावी तालमेल गरेको थियो । आगामी निर्वाचनमा एमालेले अन्य दलहरुसँग तालमेल गर्छ कि गर्दैन ?

चुनावी तालमेलका विषयमा हामीले कुनै सैद्धान्तिक निर्णय गरेका छैनौँ । त्यो अधिकार हामीले सम्बन्धित तहलाई नै दिने भनेका छौँ । स्थानीय स्तरको आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गर्न सक्ने भनेका छौँ । हामी पूर्ण सामर्थ्यका साथ एकल रूपमा निर्वाचनमा जाने तयारीमा छौँ । हामीले चुनावी तालमेलका बारेमा कुनै घोषित निर्णय गरेका छैनौँ । संगठनको बलमा हामी निर्वाचनमा जान्छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप