बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चौथो लहरको चिन्ता : सङ्क्रमणको जोखिममा ५ देखि ११ वर्ष उमेरका बालबालिका

खोप कहिले आउने टुङ्गो छैन
बिहीबार, ०८ वैशाख २०७९, ०८ : ४०
बिहीबार, ०८ वैशाख २०७९

सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउने बताउँदै आए पनि अझैसम्म उनीहरुले पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लामो समयदेखि बालबालिकाका लागि कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप भित्र्याउने प्रक्रियामा रहेको बताउँदै आए पनि कहिलेसम्म खोप प्राप्ति हुन्छ बारे निश्चित छैन । 

देशभरका ५ देखि ११ वर्षसम्मका ३५ लाख बालबालिकालाई सरकारले खोप दिने निर्णय गरेको छ । यो उमेर समूहका बालबालिकाका लागि ८४ लाख मात्रा फाइजरको खोप खरिदका लागि प्रक्रियाका लागि अगाडि बढाइएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पनि ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि खोप प्राप्तिको प्रक्रिया अगाडि बढेको बताएका छन् । खोपको पहुँचमा नपुगेका बालबालिकालाई चाँडै खोप पाउने उनले बताए । तर यकिन मिति भने उनले बताएनन् ।

यसअघि पनि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूले लामो समयदेखि खोप प्राप्ति सम्बन्धमा प्रक्रियामा चलिरहेको बताउँदै आएका छन् ।  तर कहिलेसम्म खोप आइपुग्छ भन्ने बारे टुङ्गो छैन ।

उता प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार प्रा.डा. आरपी बिच्छाले पनि बच्चाहरूको खोप प्राप्तिका लागि सरकार विगत ४ महिनादेखि प्रयासरत रहेको बताए । ‘सरकारले मे महिनासम्ममा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप दिने लक्ष्य छ,’ उनले भने, ‘आशा गरौँ, मे महिना सम्ममा खोप हामीले पाउँछौँ ।’ 

बालबालिकाका लागि ८४ लाख मात्रा खोप प्रत्येक साताको फरकमा प्राप्ति गर्ने सरकारको प्रारम्भिक योजना छ । १२ देखि १८ वर्षसम्म बालबालिकालाई एसियाका अन्य देशहरूले खोप दिन सुरु नगर्दै नेपालले सुरु गरेको उनी दाबी थियो । अब फेरि ५ देखि ११ वर्षसम्मका बालबालिका लागि खोप लिने नेपाल नै अघि हुने उनको विश्वास छ ।  

विश्व बजारमा बालबालिकाको खोप धेरै माग भएकाले खोप प्राप्तिको समय तय हुन नसकेको उनले बताए । सरकार खोप प्राप्ति गर्ने प्रक्रिया गए पनि विश्वभर अत्यधिक मात्रा माग भएकाले आउने   समय तय हुन नसकेको उनले बताए । प्रा.डा. बिच्छा भन्छन्, ‘विश्व बजारमा ५ देखि ११ वर्षसम्मका लागि खोपको माग अत्यधिक भएकाले नेपालले खोप खरिदका लागि आज पैसा बुझाएर साता दश दिनमा खोप प्राप्ति गर्ने अवस्था छैन । वर्तमान समयमा युरोपियन देशहरूले बालबालिकाको लागि खोप खरिदमा प्राथमिकता पाएका छन् ।

त्यसपछि विकसित तथा अल्पविकसित राष्ट्रहरूको पालो आउने  उनको अनुमान छ । बालबालिकालाई दिइने फाइजर खोप ९०.७ प्रतिशत प्रभावकारी देखिएको छ । फाइजर खोप पहिलो मात्रा लगाएको २१ दिन पछि दोस्रो मात्रा लगाउनुपर्छ ।

दुई वर्षको अवधिमा महामारीको तीन वटा लहरलाई नियाल्दा अन्य उमेर समूहका नागरिकभन्दा बालबालिका बढी जोखिम रहेको चिकित्सकहरू बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोनाविरुद्धको खोप नलगाउने बालबालिकादेखि सबै उमेर समूहलाई सङ्क्रमणको जोखिम रहने उनले बताए । 

यसअघि नेपालमा आएको कोरोनाको तीन वटा छाल पनि छिमेकी राष्ट्र भारतमा सङ्क्रमण फैलिएको केही दिनपछि सुरुवात भएको थियो । एक साता यता भारतमा कोरोना सङ्क्रमण फैलँदा कतै नेपालमा पनि चौथो लहर आउने त होइन भनेर चर्चा परिचर्चा सुरु भएको छ । त्यसैले अघिल्ला तीन वटै लहरमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिका सङ्क्रमणको उच्च जोखिममा थिए । 

नेपालले तेस्रो लहर पार गरिसक्दा ९ वर्ष मुनिका ९ जना बालबालिकाको मृत्यु भएको छ भने १० देखि १९ वर्षसम्मका ५७ जना बालबालिकाको मृत्युको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सरुवा रोग विशेषज्ञ पुन अनुसार अघिल्ला लहरहरुमा पनि बालबालिका कोरोना सङ्क्रमणको जोखिम थिए ।  उनले भने, ‘खोप नलगाएका नागरिक जहिले पनि सङ्क्रमणको उच्च जोखिम हुन्छन् । वर्तमान समयमा पनि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप नलगाएका बालबालिका पनि कोरोना सङ्क्रमणको जोखिममै हुने भए ।’

कोरोनाको पहिलो लहरमा भन्दा दोस्रो/तेस्रो लहरमा बालबालिका बढी सङ्क्रमित भएका थिए । त्यसैले खोप नलगाउने बालबालिकादेखि अन्य उमेर समूह पनि सधैँ जोखिमै हुन्छ । भारत फैलिएको कोरोना छाल नेपाल ठोकिन पुगेको खण्डमा खोप नलगाएका बालबालिका प्रभावित हुने उनी बताउँछन् ।  उनले भने, ‘विगतमा भारतमा  सङ्क्रमण फैलिएपछि नेपाल आएर छाल ठोक्किएको अनुभव छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप