मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

खोटाङ्गमा काँग्रेस फैलियो, एमाले खुम्चियो

गठबन्धनले माओवादीलाई फाइदा
शुक्रबार, ०६ जेठ २०७९, ११ : ५८
शुक्रबार, ०६ जेठ २०७९

स्थानीय तह निर्वाचन परिणाम अनुसार खोटाङ्गमा नेकपा एमाले खुम्चिएको छ । २०७४ को स्थानीय तह निर्वाचन परिणामको तुलनामा स्थानीय तह निर्वाचन २०७९ मा एमाले खुम्चिएको हो ।

२०७४ मा ५ वटा स्थानीय तहको प्रमुख जितेको एमाले अहिले दुई वटा तहमा खुम्चिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये नेपाली काँग्रेसले ६ र माओवादी केन्द्रले २ स्थानीय तहमा जितेको छ । नेकपा माओवादी केन्द्र २०७४ को निर्वाचनमा एक सीटमा सीमित थियो ।

नेकपा एमालेले २०७४ मा केपिलासगढी गाउँपालिका, खोटेहाङ, जन्तेढुंगा, दिक्तेल, रावा बेसी गाउँपालिका र रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्व पाएको थियो । यीमध्ये कुनै पनि स्थानीय तहमा यस पटक एमालेले जित हासिल गर्न सकेन । यसपटक एमालेले ऐसेलुखर्क र दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा जित हासिल गरेको छ ।

नेपाली काँग्रेसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख जितेको छ । यस्तै, केपिलासगढी, साकेला, रावा बेसी गाउँपालिका, बाराहपोखरी गाउँपालिकामा पनि काँग्रेस विजयी भएको छ ।

खोटाङ्ग नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईको गृहजिल्ला हो । उनकै गृहपालिका खोटेहाङमा माओवादी केन्द्रले विजयको झण्डा फहराएको छ । खोटेहाङमा काँग्रेस र माओवादी केन्द्र मिलेर चुनाव लडेका हुन् ।

२०७४ मा खोटाङ्गको स्थानीय तहमा सबैभन्दा ठुलो दल बनेको एमाले अहिले माओवादी केन्द्रसँग बराबरीको हैसियतमा खुम्चिन बाध्य भएको छ । यसपटक एमाले र माओवादी केन्द्रले दुई–दुईवटा गाउँपालिका जितेका छन् । स्थानीय तह जित्ने कांग्रेस ठुलो दल बन्न सफल भएको छ ।

ऐसेलुखर्क गाउँपालिका

ऐसेलुखर्क गाउँपालिकामा यसपटक नेकपा एमालेका उम्मेदवार गीरेन्द्रबहादुर राई निर्वाचित भएका छन् । उनले २ हजार ६०६ मत ल्याएर माओवादी केन्द्रका श्रीबहादुर राईलाई पराजित गरेका छन् । श्रीबहादुरले २ हजार ४८० मत ल्याएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका राजेशकुमार राजभण्डारी निर्वाचित भए । राजभण्डारीले ३ हजार १४६ मत ल्याए ।

२०७४ मा ऐसेलुखर्कमा काँग्रेसका विश्वनाथ निरौला अध्यक्ष निर्वाचित भएका थिए । २ हजार १३१ मत ल्याएर निरौलाले नेकपा एमालेका गृह बहादुर राई (नाछिरिङ)लाई पराजित गरेका थिए । नाछिरिङले १ हजार ७३५ मत ल्याएका थिए । उपाध्यक्षमा नेकपा एमालेकी पुस्पकला भुजेल निर्वाचित निर्वाचित भएकी थिइन् । पुष्पकलाले १ हजार ८९५ मत ल्याइन् ।

केपिलासगढी गाउँपालिका

केपिलासगढी गाउँपालिका नेपाली काँग्रेसले जितेको छ । यसपटक काँग्रेसका समिर राई २ हजार २४४ मत ल्याएर अध्यक्षमा निर्वाचित भए । २०७४ को निर्वाचनमा पराजित समिर यसपटक निर्वाचित भएका हुन् । समिरले नेकपा एकीकृत समाजवादीका माइतिराज राईलाई पराजित गरेका छन् । माइतिराजले १ हजार ८०८ मत पाए ।

उपाध्यक्षमा जनता समाजवादी पार्टीका गुरुराज राई निर्वाचित भए । गुरुराजले १ हजार ९८३ मत ल्याए । उनले नेकपा एमालेकी उम्मेदवार मैया सुनवारलाई हराए ।

२०७४ मा केपिलासगढीमा एमालेका कृष्ण कुमार राई अध्यक्षमा निर्वाचित भएका थिए । १ हजार ८०६ मत ल्याएका कृष्ण कुमारले नेपाली काँग्रेसका समिर राईलाई पराजित गरेका थिए । समिरले १ हजार ५११ मत ल्याएका थिए । उपाध्यक्षमा नेकपा एमालेकी हिरा कुमारी वन निर्वाचित भएकी थिइन् । वनले १ हजार ७७४ मत ल्याएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रुद्र कुमार राई थिए ।

खोटेहाङ गाउँपालिका

खोटेहाङ गाउँपालिका यसपटक नेकपा माओवादी केन्द्रले जितेको छ । माओवादीका उदिमबहादुर राई ३ हजार ७२८ मत सहित अध्यक्षमा निर्वाचित भए । उनले नेकपा एमालेकी उम्मेदवार कविता राईलाई हराए । कविताले ३ हजार ६९० मत पाएकी छन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसका रुपेश राई ३ हजार ७६३ मत सहित निर्वाचित भएका छन् । रुपेशले नेकपा एमालेका उम्मेदवार राजनकुमार बञ्जरालाई पराजित गरे ।

२०७४ मा नेकपा एमालेका प्रदिप राई ३ हजार १२७ मतका साथ अध्यक्षमा निर्वाचित भएका थिए । उनले नेकपा माओवादी केन्द्रका राजन प्रसाद ढकाललाई पराजित गरेका थिए । ढकालले २ हजार ६८२ मत ल्याएका थिए । उपाध्यक्षमा नेकपा एमालेबाट कविता राई निर्वाचित भएकी थिइन् । कविताले ३ हजार २० मत ल्याएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सुशिला वान्तावा राईले २३ सय ९ मत पाएकी थिइन् ।

जन्तेढुंगा गाउँपालिका

जन्तेढुंगा गाउँपालिका एमालेको हातबाट नेकपा माओवादी केन्द्रले खोसेको छ । यसपटक माओवादी केन्द्रकी उम्मेदवार अरुणा देवी राई सो गाउँपालिकाको अध्यक्षमा निर्वाचित भइन् । २ हजार ८८१ मत ल्याएर अरुणा देवीले एमालेका उम्मेदवार शंखर बहादुर राईलाई हराइन् । शंखरले २ हजार ५७५ मत पाएका छन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार खेमबहादुर खड्का निर्वाचित भए । उनी अघिल्लो निर्वाचनमा पराजित भएका थिए । खड्काले २ हजार ८०५ मत पाएका छन् । उनले नेकपा एमालेकी विमलाई राईलाई हराए ।

२०७४ मा एमालेबाट शंखरबहादुर राई जन्तेढुंगाको अध्यक्ष निर्वाचित भएका थिए । २ हजार १५३ मत ल्याएर निर्वाचित शंखरबहादुरले नेपाली काँग्रेसका खेमबहादुर खड्कालाई पराजित गरेका थिए । उपाध्यक्षमा एमालेबाट विमला राई निर्वाचित भएकी थिइन् । विमलाले २ हजार ८६ मत ल्याएर काँग्रेसकी उम्मेदवार अनिता राईलाई हराएकी थिइन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नेतृत्व यसपटक काँग्रेसबाट नेकपा एमालेले खोसेको छ । दिप्रुङमा नेकपा एमालेका उम्मेदवार लोकेन्द्र राई अध्यक्षमा निर्वाचित भएका छन् । २ हजार ८०३ मत ल्याएका लोकेन्द्रले नेपाली काँग्रेसका नइन्द्र राईलाई हराए । नइन्द्रले २ हजार १६२ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेकपा एमालेकी उम्मेद्वार अरुणा थापा निर्वाचित भइन् । अरुणाले २ हजार ७३३ मत ल्याएकी छन् । अरुणाले काँग्रेसकी उम्मेदवार रमा कटुवाललाई पराजित गरिन् ।

दिप्रुङमा २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसका  भुपेन्द्र राई निर्वाचित भएका थिए । २ हजार ९८० मत ल्याएर अध्यक्षमा निर्वाचित भुपेन्द्रले नेकपा एमालेका अर्जुन कुमार रोका क्षेत्रीलाई हराएका थिए । क्षेत्रीले १ हजार ८४८ मत पाएका थिए । उपाध्यक्षमा नेपाली काँग्रेसकी सपना राई निर्वाचित भएकी थिइन् । उनले २ हजार ३८६ मत ल्याएर नेकपा एमालेकी अम्बिका राईलाई हराएकी थिइन् ।

बराहपोखरी गाउँपालिका

बराह पोखरी गाउँपालिकामा गठबन्धनले जित हासिल गरेको छ । सो गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका शालिकराम बन्जारा निर्वाचित भएका छन् । बन्जराले ३ हजार १८१ मत ल्याएर नेकपा एमालेकी उम्मेदवार गोमा मगरलाई पराजित गरे । गोमाले २ हजार ३३० मत ल्याएकी छन् । उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भुबल राज राई निर्वाचित भएका छन् । भुबल राजले नेकपा एमालेका जीवन कुमार राईलाई पराजित गरेका छन् ।

यो पालिकामा २०७४ मा पनि काँग्रेसका शालिकराम बन्जरा अध्यक्षमा निर्वाचित भएका थिए । बन्जराले १ हजार ९७१ मत ल्याएर एमालेका गणेशप्रसाद कोइरालालाई हराएका थिए । कोइरालाले १ हजार ७३२ मत पाएका थिए । उपाध्यक्षमा नेकपा एमालेकी गोमा मगर निर्वाचित भएकी थिइन् । गोमाले १ हजार ८४४ मत पाएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी निर्मला राई १ हजार ७ सय मतमा रोकिएकी थिइन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका यसपटक गठबन्धनले खोसेको छ । सदरमुकाम रहेको दिक्तेल रुपाकोट मझुवागढीको मेयरमा काँग्रेसका तीर्थराज भट्टराई निर्वाचित भए । तीर्थराजले ११ हजार ३८९ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी एमालेका कुमार प्रसाद आचार्यलाई पराजित गरे । आचार्यले ६ हजार ९९६ मत पाए । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विशन राई निर्वाचित  भएका छन् । विशनले १० हजार ४४१ मत ल्याएका छन् । विशनले नेकपा एमालेका विणा देवी राईलाई पराजित गरेका हुन् ।

२०७४ मा सो नगरपालिकाको मेयरमा नेकपा एमालेका दिप नारायण रिजाल निर्वाचित भएका थिए । रिजालले ५ हजार ३४३ मत ल्याएर नेपाली काँग्रेसका राजन शेर राईलाई पराजित गरेका थिए । राई ४ हजार ७१८ मतमा रोकिएका थिए । उपाध्यक्षमा नेकपा एमालेकी विणादेवी राई निर्वाचित भएकी थिइन् ।

रावा बेसी गाउँपालिका

रावा बेसीमा यसपटक नेपाली काँग्रेसका उम्मेदवार फटिक कुमार श्रेष्ठ निर्वाचित भएका छन् । फटिक कुमारले २ हजार ४८९ मत ल्याएर नेकपा एमालेका हरि कुमार पोख्रेललाई पराजित गरे । हरि कुमारले २ हजार ३०३ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार कौशिला कुमार गुरुङ निर्वाचित भइन् । कौशिलाले २ हजार २५७ मत ल्याएकी छन् ।

२०७४ मा सो गाउँपालिकामा नेकपा एमालेका लिलानाथ निरौला निर्वाचित भएका थिए । निरौलाले १ हजार ९०९ मत ल्याएर काँग्रेसका जनक कुमार कार्कीलाई पराजित गरेका थिए । कार्कीले १ हजार ५७५ मत ल्याएका थिए । उपाध्यक्षमा नेकपा एमालेबाट समला राईले जितेकी थिइन् । उनले १ हजार ८०७ मत ल्याएर काँग्रेसकी शोभा कुमारी पाण्डेलाई पराजित गरेकी थिइन् ।

साकेला गाउँपालिका

साकेलामा गठबन्धन थिएन । यसपटक सो गाउँपालिकामा नेपाली काँग्रेसका रवि प्रकाश राई निर्वाचित भएका छन् । उनले १ हजार ८५० मत ल्याएर माओवादी केन्द्रका अर्जुन कुमार खड्कालाई पराजित गरेका हुन् । अर्जुन कुमार खड्काले १ हजार ७७२ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्सिका राई निर्वाचित भइन् । उनी अघिल्लो निर्वाचनमा पराजित भएकी थिइन् । विर्सिकाले २ हजार १२ मत ल्याएकी छन् । उनले नेपाली काँग्रेसकी सरिता खड्कालाई पराजित गरिन् । सरिता अघिल्लो निर्वाचनमा विजयी भएकी थिइन् ।

२०७४ मा साकेला गाउँपालिकामा माओवादी केन्द्रका अर्जुन कुमार खड्का निर्वाचित भएका थिए । खड्काले १ हजार २० मत ल्याएका थिए । उनले नेपाली काँग्रेसका इच्छु राम रानालाई पराजित गरेका थिए । राना ९ सय ८५ मतमा रोकिएका थिए । उपाध्यक्षमा नेपाली काँग्रेसकी सरिता खड्का विजयी भएकी थिइन् । उनले १ हजार २२२ मत ल्याएकी थिइन् । उनीसँग निकट प्रतिस्पर्धामा रहेकी माओवादी केन्द्रकी उम्मेदवार बिर्सिका राईले १ हजार १३० मत ल्याएकी थिइन् ।

हलेसी तुवाचुङ नगरपालिका

हलेसी तुवाचुङ नगरपालिकामा गठबन्धन थिएन । गठबन्धन बिना पनि नेपाली काँग्रेसले सो नगरपालिकामा पुरानो नतिजा जोगाएको छ । सो नगरपालिका प्रमुखमा नेपाली काँग्रेसकी बिमला राई निर्वाचित भएकी छन् । विमलाले ६ हजार ३१७ मत ल्याउँदै एमालेका खडेन्द्र राईलाई हराइन् । खडेन्द्र ५ हजार ९६६ मतमा सीमित भएका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका रमेश कुमार राउत निर्वाचित भएका छन् । रमेश कुमारले ५ हजार ९३४ मत पाएका छन् । राउतले नेकपा माओवादी केन्द्रका अमेम्बर राईलाई पराजित गरेका हुन् ।

२०७४ मा हलेसी तुवाचुङमा काँग्रेसका इवन राई निर्वाचित भएका थिए । इवनले ४ हजार ३९७ मत ल्याएका थिए । उनले नेकपा एमालेका खडेन्द्र राईलाई हराएका थिए । त्यसबेला खडेन्द्र ३ हजार ९९९ मतमा रोकिएका थिए । उपप्रमुखमा नेपाली काँग्रेसकी विमला राईले जितेकी थिइन् । विमलाले ४ हजार ४८६ मत ल्याएर एमालेकी उम्मेदवार मनिषा राईलाई पराजित गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप