सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जसपा विवाद : चुनावी समीक्षा बैठकमा किन भयो कुटपिट ?

के भन्छन् बैठकमा सहभागी नेता ?
बिहीबार, २६ जेठ २०७९, ०८ : ४१
बिहीबार, २६ जेठ २०७९

स्थानीय चुनावको समीक्षाका लागि मंगलबार जनकपुरको एक होटलमा धनुषा जिल्लाको बैठक बसेको थियो ।

सो बैठकमा आफ्नो पालिका सवैलाको बारेमा प्रतिवेदन प्रस्तुत गरेपछि जसपा पालिका अध्यक्ष वैद्यनाथ रायमाथि आक्रमण भयो । अचानक कुटाकुटको अवस्था किन आयो ? अनि बैठकमा उठेका अन्य विषयमा जसपा सबैला नगरपालिका अध्यक्ष वैद्यनाथ राय / केन्द्रीय सदस्य साधु यादवसँग रातोपाटीले गरेको संक्षिप्त कुराकानीः

बागी उम्मेदवार उठाएर माओवादीलाई सघाएको भन्ने बित्तिकै ममाथि आक्रमण भयो : वैद्यनाथ राय
मंगलबार बसेको समीक्षा बैठकमा किन झडप भयो ?

चुनावको समीक्षाबारे पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा जसपा धनुषा जिल्लाको बैठक बसेको थियो । मैले त्यहाँ आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थिएँ । सवैला नगरपालिकाको चुनावमा पार्टीकै नेताबाट असहयोग भयो । आफ्नै पार्टीका जिम्मेवार नेताहरुले बागी उम्मेदवार उठाएर पार्टीको उम्मेदवारलाई हराउने काम गरे ।

यी र यस्तै कुराहरु समेटेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेर आफ्नो सिटमा बस्नै लाग्दा पछाडिबाट ममाथि आक्रमण भयो । जुन जुन व्यक्तिमाथि मैले आरोप लगाएको थिएँ, ती पक्षका कार्यकर्ताहरूले ममाथि आक्रमण गरेका थिए । 

को हुन् ती मान्छे ?​

ती सबै मान्छे साधु यादवका हुन् । साधु यादव जसपाका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँका मान्छेहरु सिकेन्द्र,अवधकिशोर, जितेन्द्र मुखिया, रामबहादुरलगायत व्यक्तिहरु अचानक ममाथि आक्रमण गरेपछि दुई पक्षबीच झडप भई एकछिन अवस्था तनावग्रस्त भएको थियो । पछि जसपा अध्यक्ष उपेन्द्र यादवले आफै थामथुम गरेर विवाद साम्य पार्नु भयो । 

तपाईं घाइते पनि हुनु भयो कि ?

सामान्य झडप र कुटपिट मात्रै हो । कोही पनि घाइते भएनन् । कुटाकुट भएपछि केही चोट त लागेको होला । जस्तै, ममाथि नै पछाडिबाट अचानक आक्रमण भयो, कुनै त्यस्तै धारिलो हतियारले आक्रमण भएको भए समस्या हुन्थ्यो । कोही घाइते छैन । 

उनीहरुले पार्टीमा अन्तर्घात गरे भनी प्रमाण के छ तपाईंसँग ?

उहाँहरुले बागी उम्मेदवार नै उठाउनु भएको थियो । यो भन्दा अर्को ठोस प्रमाण के चाहिन्छ ? बागी उम्मेदवारका लागि मत मागेको विभिन्न प्रमाण तथा उजुरी मसँग छ । वडाहरूमा आफ्नो पार्टीका उम्मेदवारहरूका लागि मत नमागेर बागी उम्मेदवारका लागि मत मागेको विषयमा वडाबाट मकहाँ उजुरी नै परेको छ । बागी उम्मेदवारको बैठकमा गएको  सप्रमाण छ । ​

तपाईंले त आफ्नो उम्मेदवारका लागि मत नमागेर माओवादीका लागि मत मागेको आरोप पनि लगाउनु भयो नि ?

हो, माओवादी केन्द्रका उम्मेदवारहरूलाई सहयोग पुग्ने गरी आफ्नै पार्टीबाट उहाँहरुले सुनियोजित रुपमा बागी उम्मेदवार उठाउनु भएको हो । बागी उम्मेदवारले जसपाका उम्मेदवारको मत काटेपछि माओवादी केन्द्रको मत बढेको थियो । यो उहाँहरुले यो जानी जानी गर्नुभएको थियो । 

अब के गर्नुहुन्छ ?

समीक्षा बैठक थियो । त्यसमा मैले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको हुँ । त्यहाँ जे गतिविधिहरु भयो ती, सबैका साक्षी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव स्वयम् आफै हुनुहुन्छ । उहाँले सबै कुरा आफै देख्नुभयो र बुझ्नु भयो । चुनावको समयमा के के भयो, त्यो यथार्थ विवरण मैले पार्टीलाई बुझाएको छु । अब पार्टीले के गर्छ, त्यो हेर्न बाँकी छ । 

तपाईंमाथि त्यत्रो आक्रमण भयो, कारवाहीको माग गर्नु हुन्न ?

त्यसका बारेमा म साथीहरुसँग सल्लाह गर्दैछु । सल्लाहपछि आउने निष्कर्षका आधारमा अगाडि बढ्नेछु । पार्टीमा अन्तर्घात गर्ने नेतामाथि पार्टीले कसरी कारवाही गर्छ, त्यो पार्टीको कुरा हो । ​

पैसा लेनदेनका कारण वैद्यनाथमाथि आक्रमण भएको हो : साधु यादव

तपाईंले पार्टीको समीक्षा बैठकमै पार्टीको नगरपालिका अध्यक्षमाथि किन आक्रमण गर्न लगाउनु भयो ?

यो कुरा मैले पनि मिडियाबाट सुनेको हुँ, समीक्षा बैठकमा मैले नै आफ्नो मान्छेबाट आक्रमण गर्न लगाएको हो रे । यो कुरा कहाँबाट कसले ल्यायो मलाई थाह छैन । यो आरोप जसले लगाएका छन्, त्यसैलाई सोध्नुस् ।

वैद्यनाथ राय जसमाथि आक्रमण भएको थियो, उहाँले नै साधु यादवका मान्छेले आफूमाथि आक्रमण गर्न लगाएको भन्नुभएको छ नि ।

जो चोर उसैको ठूलो स्वर । त्यहीं वैद्यनाथ राय हुनुहुन्छ, जसले सवैला नगरपालिकामा गुलाबको फूल छापका लागि मत माग्नु भएको थियो । फूल छापका उम्मेदवारबाट पैसा खानु भएको थियो । अनि अहिले अरुमाथि आरोप लगाउनु हुन्छ । त्यो सरासर गलत कुरा हो । उहाँको आरोपमा कुनै सत्यता छैन ।

तपाईंले सबैला नगरपालिकमा बागी उम्मेदवार उठाएर माओवादीलाई सहयोग गरेको आरोपबारे के भन्नुहुन्छ ?

म पार्टीको एउटा जिम्मेवारी नेता हुँ । मैले आफ्नै पार्टी विरुद्धमा बागी उम्मेदवार उठाएको हुँला भन्ने कसले विश्वास गर्छ ? यो निराधार आरोप हो । बरु उहाँ (वैद्यनाथ) ले आफ्नो नगरपालिकामा पार्टीका उम्मेदवारलाई नसघाएको कुरा बाहिर आएको छ । यो कुरा पार्टीमा पनि पुगेको छ । त्यसरी विना आधार कसैमाथि आरोप लगाउन मिल्दैन ।

सवैला नगरपालिकामा तपाईंको माध्यमबाट पार्टी हित विपरीत गतिविधि भएको प्रमाण छ भन्छन् त वैद्यनाथ राय ?

प्रमाण छ भने त्यो पेस गरे भैगो नि । प्रमाण घरमा राखेर हुँदैन । पार्टीलाई दिनुपर्छ । जो दोषी हुन्छ, पार्टीले त्यही आधारमा कारवाही गर्नेछ । म प्रमाण पेस गर्न चुनौती दिन्छु । 

तपाईं पार्टीको एउटा जिम्मेवार नेता समीक्षा बैठकमा हुँदा हुँदै यस्तो घटना भयो । त्यसमा ततपाईं​को नाम पनि मुछिएको छ, खासमा त्यहाँ भएको के हो ?

त्यहाँ जिल्लाभरि बाट नै चुनावको बारेमा आफ्नो कुरा राख्ने काम भयो । हारेका उम्मेदवारहरूले अरु अरुमाथि आरोप लगाउने काम भयो । जोमाथि आरोप लाग्थ्यो, ऊ कसैको कुरा सुन्न तयार थिएन, आरोप स्वीकार गरिरहेका थिएनन् । 

यो सबैला नगरपालिकाको घटना मात्र होइन, धनुषा, लक्ष्मी नियाँ, सहिद नगरपालिकाबाट पनि त्यस्तै त्यस्तै कुरा आए । सबै ठाउँमा तनावपूर्ण अवस्था नै थियो तर सवैलाको कुरा आएपछि झडप नै भयो । त्यो सामान्य झडप मात्र थियो । हातपात मात्र भएको थियो, जुन हुनु हुँदैनथ्यो । जुन घटना भयो त्यो गलत हो, मैले बैठकमा पनि त्यही नै भनेको थिएँ । 

त्यसो भए दोषीमाथि कारवाही हुन्छ त ?

पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवजी त्यही उपस्थित हुनुहुन्थ्यो । उहाँकै सामुन्नेमा यी सब घटना भएको हो । उहाँ आफै साक्षी हुनुहुन्छ । उहाँले के गर्नुहुन्छ, उहाँलाई नै थाहा होला । उहाँले घटनाको बारेमा छलफल गर्नुभएको होला, बुझ्नु भएको होला ।

वैद्यनाथमाथि किन आक्रमण भयो जस्तो लाग्छ तपाईंलाई ?

यो आन्तरिक कुरा हो । उहाँमाथि पार्टीभित्र र बाहिर थुप्रै आरोप छन् । उहाँले करिब ५० जनासँग रकम लिएको आरोप छ । लिएको रकम फिर्ता नगरेको कारण उहाँमाथि विभिन्न उजुरी परिरहेको छ । केही दिन पहिले प्रहरीमा नै उहाँमाथि उजुरी परेको थियो ।

छलफल हुँदा त्यहाँबाट निस्केर भाग्नु भएको थियो । आक्रमणमा उहाँले एकजना अवध महराको नाम पनि लिइरहनु भएको छ । त्यही महराबाट पनि उहाँले रकम लिनुभएको छ । मलाई लाग्छ, उहाँमाथि जुन आक्रमण भयो, त्यो पैसा लेनदेनको कारणले हो, पार्टीको कारणले होइन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप