जोखिमपूर्ण बन्दै बुटवल–पाल्पा सडक खण्ड
बुटवल—पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका-५ मा सडक भासिएको कारण यात्रा जोखिमपूर्ण बनेको छ । सडक भासिएको क्षेत्रमा डोजर लगाएर बेलाबेला एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको भए पनि जोखिम कायमै रहेको छ ।
उक्त सडकको भित्तामा डाइभर्सन गरेर अहिले भासिएको क्षेत्रमा एकतर्फी रूपमा सडक सञ्चालनमा आएको छ । तिनाउको हिउँदे खोलामा उक्त ६० मिटर सडक पूर्णरुपमा भासिँदा बुटवल तानसेनको यात्रा जोखिमपूर्ण बन्दै गएको हो । सडकको तल्लो भाग बग्ने समस्या भएकाले अस्थायी रूपमा निर्माण भएको सडक पानी परेमा पुनः बग्ने खतरा रहेको छ ।
पाल्पा-बुटवल सडक खण्डको चौबिस माइल, हिउँदे खोला, झुम्सा, र दोभान क्षेत्रमा सडक भासिँदै आएको छ । चुरेको कमजोर भूभाग र सडक क्षमता भन्दा बढी भारयुक्त सवारीका साधन सञ्चालन हुँदा समय समयमा पाल्पा बुटवल सडक खण्ड भासिँदै आएको बताइएको छ ।
हिउँदे खोलामा भासिएको क्षेत्रको सडक पाँच सय मिटर तलदेखि नै भासिँदै गएको छ । सडक भासिँदा मानवीय क्षति नभए पनि यात्रुहरूले दुःख पाएका छन् । सिद्धार्थ राजमार्गबाट पाल्पा, गुल्मी, स्याङ्जा, कास्की, पर्वत बागलुङ, म्याग्दी मुस्ताङ जस्ता जिल्लासम्म आवतजावत तथा खाद्यान्न ढुवानी हुँदै आएको छ । भासिएको सडक क्षेत्रमा पानीको मूल रहेकोले मूलको सही व्यवस्थापन गरेर मात्र सडक निर्माण गर्दा दिगो हुने तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ बताउँछन् ।
वर्षाको समयमा सडक भासिने, पहिरो खस्ने समस्यामा रहेको पाल्पा–बुटवल सडकमा हिउँदको सिद्धबाबा क्षेत्रमा धुले पहिरो र ढुङ्गा खस्ने कारण यात्रा जोखिमपूर्ण रहेको हो । यस वर्ष करिब १ महिना अघिदेखि सामान्य रूपमा भासिँदै गएको सडक केही दिनअघि अवरुद्ध भई सामान्य मर्मतपछि सञ्चालनमा आएको थियो । सडक सञ्चालनको लागी डिभिजन सडक कार्यालय पाल्पाले ३ वटा मेशिन परिचालन गरेको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए । सडक बेला बेला अवरुद्ध हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण