बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाल्पाबाट उम्मेदरवार सिफारिस, कुन दलबाट को ?

आइतबार, १९ भदौ २०७९, २१ : २१
आइतबार, १९ भदौ २०७९

-भुवन कार्की
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा नेता ठाकुर गैरे पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल सिफारिसमा परेका छन् । आइतबार तानसेनमा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले गैरेको नाम पाल्पा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव रामजी पोखरेलले बताए ।

गैरे लामो समयदेखि एमालेको राजनीति गर्दै आए पनि पहिलो पटक प्रतिनिधिसभा सदस्य पदका लागि पार्टीबाट निर्विरोध उम्मेदवार सिफारिसमा परेका हुन् । गैरेले अनेरास्वियुको केन्द्रीय अध्यक्ष भई विधार्थी आन्दोलन हाँकेका थिए ।

पाँच दलीय गठबन्धनमध्ये नेकपा एकीकृत समाजवादी पाल्पाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेको एकल नाम सिफारिस गरेको छ भने नेपाली कांग्रेसले निवर्तमान पार्टी सभापति विरबहादुर राना, पूर्व केन्द्रीय सदस्य हरिप्रसाद नेपाल र पूर्व गर्भनर डा. चिरञ्जिवी नेपालको नाम सिफारिस गरेको छ ।

केन्द्रीय सहमति अनुसार गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता पाण्डेले टिकट पाउने सम्भावना बलियो देखिएको छ । नेता पाण्डेले टिकट पाएमा एक वर्षअघि एउटै पार्टीमा सक्रिय रहेका पाण्डे र गैरेबीच चुनावी भिडन्त हुने देखिएको छ । पाल्पा क्षेत्र नम्बर २ मा २०७४ सालको आम निर्वाचनमा  नेकपा एमालेबाट सोमप्रसाद पाण्डे विजयी भएका थिए ।

यसैगरी पाल्पा क्षेत्र नंं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेले नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, कृष्ण श्रेष्ठ, झपेन्द्रबहादुर जि.सी. र  महिलामा बिष्णु जि.सी. लाई सिफारिस गरेको छ । सिफारिसमा परेका खनाल र आचार्य हाल लुम्बिनी प्रदेशका सांसद छन् ।

यसैगरी प्रदेशसभा सदस्य पाल्पा क्षेत्र नम्बर १ (क) मा राजु श्रेष्ठ, राजेन्द्र लम्साल, देवीलाल लामिछाने, कृष्णबहादुर सारु, सञ्जु परियार र ईश्वरी खनाल सिफारिस भएका छन् । पाल्पा क्षेत्र नम्बर १ (ख) प्रदेशसभा सदस्यमा विनोदकुमार श्रेष्ठ, विजय रानाभाट, खेम सारु, अर्जुन रेग्मी, तुल्सीराम भुसाल, विमल काफ्ले, ईश्वरी न्यौपाने, एकप्रसाद भण्डारी, कल्पना केसी, भगवती राना, उर्मिला अर्याल शर्मालाई सिफारिस गरेको एमाले नेता विजय रानाभाटले बताए ।

पाल्पा क्षेत्र नंं २ प्रदेशसभातर्फ सोमबारमात्र उम्मेदवारहरुको सिफारिस गर्ने नेकपा एमाले पाल्पाले जनाएको छ । यसैगरी नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यका लागि  क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य अनिल किशोर घिमिरे र कौशलराज न्यौपानेको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभा क्षेत्र नं २ (क) मा नेत्रप्रसाद पाण्डेयको नाम सर्वसम्मत रुपमा छनोट गरेको छ ।

प्रदेशसभा सदस्य क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सांसदमा तुलाराम घर्तीमगर, वैकल्पिक केन्द्रीय सदस्य चक्रव्यूह थापा, पुरन केसी र जिल्ला संयोजक राजेन्द्र विश्वकर्माको नाम सिफारिस गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले जानकारी दिए ।

यस्तै पाल्पा क्षेत्र नम्बर १ (क) बाट माओवादी केन्द्रले प्रदेश सांसदमा जितबहादुर मश्रांगी र कमल भट्टराई, क्षेत्र नम्बर १ (ख) बाट दिनेश अर्याल, हुमबहादुर सुनारी, अर्जुन श्रेष्ठको नाम सिफारिस भएको छ । पाल्पामा सोमबारसम्म ठुला पार्टीले संघ र तथा प्रदेशसभाको लागि प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस गर्ने तयारी छ । यसअघि नेकपा एकीकृत र नेपाली कांग्रेसले पाल्पामा उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप