फैलिँदै डेंगुको संक्रमण, लुम्बिनीमा ३ जनाको मृत्यु
डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीनजनाले ज्यान गुमाइसकेका छन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको छ भने सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार पाल्पा, दाङ र बर्दियामा एक–एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ ।
पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूषको डेंगु संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिलाको पनि डेंगु संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट भदौ २२ गते मृत्यु भएको थियो ।
प्रदेश निर्देशनालयका प्रवक्ता पौडेलले लुम्बिनी प्रदेशमा अहिलेसम्म दुई हजार ६८३ जनामा डेंगुको संक्रमण भएको जानकारी दिए । भदौमा एक्कासि संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि डेंगु संक्रमितहरूको दैनिक भिड लाग्ने गरेको छ ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको निर्देशनालयले जनाएको छ । गत साउन मसान्तसम्म करिब ४०० जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए । तर, लुम्बिनी प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि भने अहिलेसम्म कुनै पनि बजेट बिनियोजन गरेको छैन ।
निर्देशनालयका प्रवक्ता पौडेलले यसअघि नै विभिन्न महामारीजन्य रोगका लागि सरकारले एकमुष्ट बजेट छुट्टयाएकोमा अहिलेसम्म सोही बजेटबाट काम चलाइरहेको बताए । रूपन्देहीमा पहिलोपटक २०६७–६८ मा २९० जनामा देखिएको डेंगुको संक्रमण २०७६–७७ मा महामारीकै रूपमा फैलिएर दुई हजार ९३० जनामा देखिएको थियो । तर, यसवर्ष भने डेंगु रोकथाम अभियान शुन्य भएपछि डेंगु संक्रमण महामारीको रूपमा फैलिरहेको छ ।
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो । वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी र गमलामा यसले फूल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन् । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउन उनीहरूको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण