बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा कोसँग कसको प्रतिस्पर्धा ?

शनिबार, २२ असोज २०७९, १७ : १०
शनिबार, २२ असोज २०७९

विराटनगर । आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनका लागि संघ र प्रदेशतर्फका उम्मेदवार लगभग सबै दलले टुङ्गो लगाइसकेका छन् । आसन्न निर्वाचनमा मुख्यगरी सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमालेले पनि जसपा नेपाल र राप्रपासँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेको छ । जसका आधारमा केही क्षेत्रमा दुवै पक्षबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

तेह्रथुममा सत्ता गठबन्धनका तर्फबाट सीता गुरुङ (कांग्रेस) उम्मेदवार बन्ने टुङ्गो लाग्दा विपक्षी गठबन्धनबाट विजय सुब्बा (एमाले) उम्मेदवार बन्ने भएका छन् । यस्तै पाँचथरमा सत्ता गठबन्धनबाट कांग्रेसका भीष्मराज आङ्देम्बे र विपक्षी गठबन्धनबाट एमालेका बसन्त नेम्वाङबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

यस्तै धनकुटामा कांग्रेसका सुनिल थापासँग एमालेका राजेन्द्र राईले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । यता संखुवासभामा कांग्रेसले दीपक खड्कालाई उम्मेदवार बनाउँदा एमालेले निवर्तमान सांसद राजेन्द्र गौतमलाई नै टिकट दिने निर्णय गरेको छ ।

ओखलढुंगामा भने कांग्रेसले रामहरि खतिवडालाई टिकट दिएको छ । एमालेले भने निवर्तमान सांसद यज्ञराज सुनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यता, खोटाङमा एमालेका नेता विशाल भट्टराई र माओवादी नेता रामकुमार राईबीच प्रतिस्पर्धा हुने देखिएको छ । मानवीर राईलाई एमालेले सोलुखुम्बुबाट उम्मेदवार बनाउँदा सत्ता गठबन्धनबीच भागबण्डा नमिलेको कारण अहिलेसम्म गठबन्धनको उम्मेदवार फाइनल भएको छैन ।

माओवादी केन्द्रले पाएको खण्डमा सो क्षेत्रमा हेमकुमार राई (सुरवीर)ले टिकट पाउनेछन् भने कांग्रेसले पाएको खण्डमा बलबहादुर केसी उम्मेदवार हुने निश्चित जस्तै रहेको बताइएको छ ।

यस्तै ताप्लेजुङमा भने एमालेबाट योगेश भट्टराई र गठबन्धनबाट माओवादीका नेता खिलप्रसाद बुढाथोकी (पराग)ले प्रतिस्पर्धा गर्ने भएका छन् । इलामको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार बन्दा उनीसँग एमाले नेता महेश बस्नेतले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । इलाम क्षेत्र नम्बर २ मा भने एमालेबाट सुवासचन्द्र नेम्वाङको फाइनल भइसक्दा गठबन्धन दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाएको छैन ।

यस्तै झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेल, झापा २ मा एमालेका देवराज घिमिरे र माओवादी केन्द्रबाट धर्मशीला चापागाईं, झापा ३ मा कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन, झापा ४ कांग्रेसका देउमान थेबे र एमालेका एलपी साँवाबीच प्रतिस्पर्धा हुने भएको छ । झापा ५ मा भने एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार हुने निश्चित रहँदा सत्तारुढ गठबन्धनबाट उम्मेदवारको टुंगो लागेको छैन ।

यता प्रदेशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको मोरङमा पनि गठबन्धनतर्फ कांग्रेसले केही ठाउँमा उम्मेदवार फाइनल गरेको छैन । हालसम्म प्राप्त जानकारी अनुसार मोरङको निर्वाचन क्षेत्र १ मा कांग्रेसबाट डिकबहादुर लिम्बू र एमालेबाट घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने पक्का हुँदा मोरङ क्षेत्र नम्बर २ मा भने एमालेबाट ऋषिकेश पोखरेल पक्का हुँदा कांग्रेसबाट सुजाता कोइराला र डाक्टर मिनेन्द्र रिजालमध्ये एक जना उम्मेदवार बन्ने बताइएको छ ।

यस्तै मोरङ–३ मा कांग्रेसबाट एकल प्रस्ताव भएका डा. सुनिल शर्माको टिकट आउन बाँकी छँदा एमालेले भने भानुभक्त ढकालको टिकट सुनिश्चित गरिसकेको छ । मोरङ–४ मा माओवादी केन्द्रका नेता अमनलाल मोदीसँग एमाले नेता विनोद ढकालले प्रतिस्पर्धा गर्ने भएका छन् । सो क्षेत्रमा राप्रपाले रेखा थापालाई उम्मेदवार बनाउने भएको छ । मोरङ–५ मा भने माओवादी नेता शिवकुमार मण्डल र जसपाका नेता राजकुमार यादवबीच प्रतिस्पर्धा हुने पक्का हुँदा मोरङको क्षेत्र नम्बर ६ मा कांग्रेस नेता डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

यता ४ निर्वाचन क्षेत्र रहेको सुनसरीको १ नम्बर क्षेत्रमा जसपाबाट अशोककुमार राई र माओवादी केन्द्रका मुक्साहाङ मेन्वाङ्बोबीच प्रतिस्पर्धा हुने भएको छ ।

सुनसरीको २ नम्बर क्षेत्रमा कांग्रेसले उम्मेदवार टुंग्याएको छैन भने एमालेले भीम आचार्यलाई टिकट दिएको छ । सुनसरीको ३ नम्बर क्षेत्रमा कांग्रेसले पुनः विजयकुमार गच्छदारलाई उम्मेदवार बनाउँदा एमालेले भगवती चौधरीलाई टिकट दिएको छ । सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्र कार्कीको टिकट सुनिश्चित हुँदा एमालेका जगदिश प्रसाद कुसियैतले टिकट पाएका छन् ।

यता, उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका डा. नारायण खड्का र एमालेकी मेज चौधरीबीच प्रतिस्पर्धा हुने पक्का हुँदा उदयपुर–२ मा भने नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा र एमालेका ज्ञानेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै भोजपुरमा भने एमाले नेता तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले टिकट पाउँदा माओवादीका नेता सुदन किराँतीले टिकट पाउने निश्चितजस्तै देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप