बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : प्रतिनिधिसभातर्फ ठूला चार पार्टीबाट ५ जनामात्रै महिला उम्मेदवार !

२८ निर्वाचन क्षेत्रमा ४३७ जना उम्मेदवारमध्ये ३९ जनामात्रै महिला
सोमबार, ३१ असोज २०७९, ११ : ४३
सोमबार, ३१ असोज २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट प्रत्यक्ष चुनाव लड्ने महिलाको संख्या न्यून छ । ठूला पार्टीबाट त महिला उम्मेदवारको संख्या झनै कम छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ठूला पार्टी नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाबाट गरी ५ जनामात्रै महिला उम्मेदवार छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेश १ का निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार उठाएका छैनन् ।

५ जनामध्ये २÷२ जना कांग्रेस र एमालेबाट उम्मेदवार छन् भने एक जना राप्रपाबाट । कांग्रेसले सत्ता गठबन्धनबाट तेह्रथुमको प्रतिनिधिसभाका लागि सीता गुरुङ र मोरङ क्षेत्र नम्बर २ बाट सुजाता कोइरालालाई उम्मेदवार बनाएको छ ।

२०७४ सालको निर्वाचनमा गुरुङ तेह्रथुममा वाम गठबन्धनबाट उम्मेदवार बनेका तत्कालीन एमालेका भवानी प्रसाद खापुङसँग पराजित भएकी थिइन् । उनले यस पटक एमालेकै उम्मेदवार विजय सुब्बासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । २०७४ सालमा खापुङले २१ हजार ३३५ मत ल्याउँदा कांग्रेसबाट गुरुङले १९ हजार ३१४ मत ल्याएकी थिइन् । खापुङ हाल सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीमा सामेल छन् । उनले गुरुङलाई सघाउने बताएका छन् ।

यता, मोरङ–२ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेकी सुजाता कोइरालाले एमालेका ऋषिकेश पोखरेलसँग प्रतिस्पर्धा गर्दैछिन् । यसअघि उक्त क्षेत्रमा कांग्रेसका डा. मिनेन्द्र रिजालले वाम गठबन्धनका उम्मेदवार पोखरेललाई पराजित गरेका थिए । त्यसबेला रिजालले ३५ हजार ८१९ मत पाउँदा पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका थिए ।

यस्तै नेकपा एमालेले सुनसरी–३ बाट भगवती चौधरीलाई मैदानमा उतारेको छ । चौधरीले परिचित प्रतिस्पर्धी कांग्रेसका नेता विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । २०७४ सालको निर्वाचनमा उनै गच्छदारसँग पराजित बनेकी उनले यो पटक जित्ने बताउँदै आएकी छन् । योसँगै गच्छदारसँग उनी तेस्रो पटक प्रतिस्पर्धामा उत्रिँदैछिन् । यसअघि गच्छदारले ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा चौधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन् ।

उदयपुर–१ मा नेकपा एमालेबाटै उम्मेदवार बन्ने अर्की उम्मेदवार हुन् मन्जुकुमारी चौधरी । चौधरी यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार डा. नारायण खड्कासँग पराजित भएकी थिएन् । वाम गठबन्धनबाट उम्मेदवार बनेकी चौधरीले ३२ हजार ५९४ मत पाउँदा खड्काले ३३ हजार १४२ मत ल्याएका थिए । यसपटक पनि उनै खड्कासँग चौधरीले प्रतिस्पर्धा गर्दैछिन् ।

यस्तै मोरङको क्षेत्र नम्बर ३ बाट राप्रपाकी नेतृ तथा नायिका रेखा थापा पनि चुनावी प्रतिस्पर्धामा छिन् । थापाले पहिलो पटक प्रत्यक्ष निर्वाचन लडेकी हुन् । उनी एमालेका भानुभक्त ढकाल र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डाक्टर सुनिल शर्मासँग प्रतिस्पर्धामा छिन् । सांगठनिक आधार कमजोर रहेको राप्रपाले जित निकाल्ने भन्दा सो क्षेत्रमा शर्मा र ढकालको हिसाव किताब बिगार्ने देखिन्छ ।

प्रदेशसभामा ५२ महिला ठूला पार्टीबाट ६ जना

यसैबीच प्रदेशसभामा पनि ठूला पार्टीबाट चुनाव लड्ने महिलाको संख्या न्यून छ । प्रदेशसभाका ५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ५१० जनामध्ये ५२ जनामात्रै महिला उम्मेदवार छन् । जसमा ठूला पार्टी नेकपा एमालेबाट २ जना, नेकपा (माओवादी केन्द्र)बाट २ जना र नेकपा (एकीकृत समाजवादी)बाट २ जना छन् ।

नेकपा एकीकृत समाजवादीले इलाम १ (क) बाट प्रदेश १ की मन्त्रीसमेत रहेकी खिनु लङ्बा लिम्बूलाई उम्मेदवार बनाएको छ । यसअघि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित लिम्बूले एमाले विभाजन हुनुपूर्व एउटै पार्टीमा रहेकी सहकर्मी शोभा पराजुलीसँग प्रतिस्पर्धा गदैछिन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाटै संखुवासभा १ (ख) बाट सरिता थापा खड्का उम्मेदवार बनेकी छिन् । यसअघि नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी खड्का प्रदेश १ प्रदेशसभाको सामाजिक विकास सभापति समेत थिइन् । यसअघिको २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट एमालेका तुलसीप्रसाद न्यौपानेले निर्वाचन जितेका थिए । यो पटक खड्काले सत्ता गठबन्धनको साथ पाउँदा एक्लो एमालेले भने विदुरकुमार लिङ्थेपलाई उम्मेदवार बनाएको छ । पुरानो एउटै पार्टीका नेता लिङ्थेपसँग प्रतिस्पर्धा गरेर जित्नुपर्ने खड्कालाई दबाब छ ।

यस्तै माओवादी केन्द्रले भने धनकुटा १ (ख)बाट कुशुमकुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ यसअघि प्रदेश १ को प्रदेशसभामा माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेकी थिइन् । उक्त क्षेत्रमा नेकपा एमालेले इन्द्रमणि पराजुलीलाई उम्मेदवार बनाएको छ । पराजुली यसअघि सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेर विजयी भएका थिए । अघिल्लो निर्वाचनमा जित्न सहयोग गरेकी श्रेष्ठ आफै सत्ता गठबन्धनबाट उम्मेदवार बनेपछि पराजुलीले दबाब महसुस गरेका छन् ।

यता, मोरङको क्षेत्र नम्बर ६ (क) मा नेकपा एमालेले रिता न्यौपानेलाई उम्मेदवार बनाएको छ । कांग्रेसको प्रभाव क्षेत्र र आफ्नो कमजोर मत भएको स्थानमा न्यौपानेलाई एमालेले उम्मेदवार बनाएको हो । न्यौपानेसँग सत्ता गठबन्धनबाट माओवादी नेता जीवन आचार्यले प्रतिस्पर्धा गर्दैछन् । आचार्य यसअघि नेपाली कांग्रेसका उम्मेदवार चुमनारायण तबदारसँग पराजित बनेका थिए । अघिल्लो निर्वाचनमा आचार्यको पक्षमा परिचालित भएकी न्यौपाने नै यसपटक प्रतिस्पर्धी भएर उत्रिएकी छन् ।

यता, प्रदेश १ का निवर्तमान उपसभामुख सरस्वती पोखरेल सुनसरी क्षेत्र नम्बर ३ (क) बाट उम्मेदवार बनेकी छिन् । सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेकी उनले एमालेका रोहितबहादुर कार्कीसँग प्रतिस्पर्धा गर्दैछिन् । तुलनात्मक रुपमा कांग्रेसको प्रभाव रहेको सो क्षेत्रमा जित निकाल्न पोखरेलका लागि कांग्रेससँगै भर पर्नुपर्नेछ ।

प्रतिनिधिसभामा उम्मेदवार बनेका अन्य उम्मेदवारहरुको नामावलीः

१) इलाम २ जुनु माखिम (स्वतन्त्र)

२) झापा १ राधा थापा (जसपा)

३) झापा १ पदमाया लिम्बू (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)

४) झापा १ केन्द्रकुमारी दाहाल (स्वतन्त्र)

५) झापा २ रेश्मा चेम्जोङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)

६) झापा ४ खुश्बु ओली (स्वतन्त्र)

७) झापा ५ ओममाया आङ्देम्बे (जसपा)

८) झापा ५ कल्पना लावती (स्वतन्त्र)

९) झापा ५ शान्ता अधिकारी (स्वतन्त्र)

१०) तेह्रथुम १ सीता गुरुङ (नेपाली कांग्रेस)

११) मोरङ १ बुद्धमाया लिम्बू (राष्ट्रिय जनमुक्ति पार्टी)

१२) मोरङ १ मनिसा सुवेदी (स्वतन्त्र)

१३) मोरङ १ फुलकुमारी पण्डित राई (स्वतन्त्र)

१४) मोरङ १ निलु लिम्बू (स्वतन्त्र)

१५) मोरङ २ सुजाता कोइराला (नेपाली कांग्रेस)

१६) मोरङ २ मिना कटुवाल बुढाथोकी (नेश्नलिष्ट पिपल्स पार्टी)

१७) मोरङ ३ रेखा थापा (राप्रपा)

१८) मोरङ ३ चन्द्रीका देवी लिम्बू (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)

१९) मोरङ ३ इन्दीरा थापा (स्वतन्त्र)

२०) मोरङ ३ चन्द्रकला खत्री (स्वतन्त्र)

२१) मोरङ ५ सन्जु शर्मा वडइ (स्वतन्त्र)

२२) सुनसरी १ सरस्वती सुब्बा (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)

२३) सुनसरी १ गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी)

२४) सुनसरी १ जीवन कला राई (स्वतन्त्र)

२५) सुनसरी १ करुणा राई (स्वतन्त्र)

२६) सुनसरी २ शोभावती कुमारी चौधरी (नेकपा माक्र्सवादी पुष्पलाल)

२७) सुनसरी २ वविता नुन्दी (स्वतन्त्र)

२८) सुनसरी ३ भगवती चौधरी (नेकपा एमाले)

२९) सुनसरी ३ राजोदेवी ऋषिदेव (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)

३०) सुनसरी ३ कासनी थरुनी (स्वतन्त्र)

३१) सुनसरी ३ गंगा कुमारी खरेल (स्वतन्त्र)

३२) सुनसरी ३ सुधादेवी उराँवनी (स्वतन्त्र)

३३) सुनसरी ३ कुमारी उराव (स्वतन्त्र)

३४) सुनसरी ३ सुमनकुमारी चौधरी (स्वतन्त्र)

३५) सोलुखुम्बु १ लामु शेर्पा (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)

३६) ओखलढुंगा १ ङिमा लमु शेर्पा (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)

३७) ओखलढुंगा १ शोभा कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी)

३८) उदयपुर १ मन्जुकुमारी चौधरी (नेकपा एमाले)

३९) उदयपुर २ विन्दाकुमारी कटुवाल (जनजागरण पार्टी नेपाल)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप