बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँ-४ मा गगन र राजनको दोस्रो चुनावी भिडन्त

शनिबार, ०५ कात्तिक २०७९, ०८ : ३१
शनिबार, ०५ कात्तिक २०७९

आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रका लागि कांग्रेसबाट थापा एकल सिफारिसमा परेका थिए भने एमालेबाट भट्टराई पनि एकल सिफारिसमा परेका थिए । 

५ वर्षअघि बाम गठबन्धनको तर्फबाट चुनाव लडेका भट्टराई र ‘सिङ्गल’ लडेका थापाबीच यो पटक फरक ढंगले प्रतिस्पर्धा हुँदैछ । माओवादी केन्द्रको सहयोगमा चुनाव लडेका भट्टराई यो पटक एक्लै चुनाव लड्दैछन् भने थापालाई माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले साथ दिँदैछ । 

अघिल्लो चुनावमा गठबन्धन दललाई समेत पराजित गरेका गगनको यो पटक शक्ति बढेको छ भने एमाले समेत फुटेको अवस्थामा भट्टराई कमजोर मान्ने गरिएको छ । यद्यपि गत स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने एमाले र कांग्रेसको बराबरी हैसियत देखिन्छ । 

यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको पनि भीड रहेका कारण स्वतन्त्रले धेरै भोट काटेमा दुई उम्मेदवारहरू मध्ये कसले बाजी मार्छ भन्न नसक्ने अवस्था रहेको छ । 

प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका थापा र भट्टराई चुनाव जित्नका आन्तरिक रणनीति बनाउन व्यस्त रहेका छन् । रातोपाटीसँग कुरा गर्दै भट्टराईले चुनावी रणनीति बनाउन छलफलमा निकै व्यस्त भएकाले मिडियासँग कुराकानी गर्ने फुर्सद समेत नभएको बताए । 

क्षेत्र नम्बर ४ प्रदेश २ का निर्वाचन परिचालन समितिका संयोजक एमाले नेता राजन कुमार पोखरेलले निर्वाचन आयोगले तोकेको आचार संहिता पालना गर्दै घरदैलो कार्यक्रमको सुरु गर्न लागेको बताए । पार्टी फुटको कुनै प्रभाव नरहेको बताउँदै उनले एमालेले स्वस्थ किसिमले चुनावमा प्रतिस्पर्धा गर्ने बताए । स्थानीय तहमा कांग्रेस भन्दा धेरै मत ल्याएका कारण प्रतिनिधि सभाको चुनावमा पनि जनताले विजयी गराउने अपेक्षा लिएको उल्लेख गरे । 

उनले भने–‘गत स्थानीय तहमा काठमाडौँ जिल्लाभरिमा नै एमालेले राम्रो मत पाएका थियौँ । क्षेत्र नम्बर ४ को मुख्य स्थान बुढानीलकण्ठ नगरपालिका रहेको छ । स्थानीय चुनावमा पनि यहाँ गठबन्धनका बीच हामीले नगरप्रमुख जितेका थियौँ । अहिले पनि सत्ता गठबन्धन एकातिर भए पनि हाम्रो बलियो संगठन र जनताको हामीप्रतिको विश्वासका कारण हामीलाई जित हासिल गर्न कुनै समस्या पर्नेछैन ।’

उनले गठबन्धन दलको चुनौतीका बीच पनि जित हासिल गर्ने विश्वास व्यक्त गरे । 

यता कांग्रेस पनि निर्वाचनमा जित हासिल गर्नका लागि आन्तरिक तयारीमा जुटेको छ । सत्ता गठबन्धन दलका विभिन्न स्थानीय सँगठनसँग आन्तरिक छलफलमा जुटेको छ । अघिल्लो निर्वाचनमा भन्दा यो पटक कम चुनौती महसुस गरेको कांग्रेसले छिट्टै घरदैलो अभियान सुरु गर्ने भएको छ । 

यस्तो थियो अघिल्लो निर्वाचनको परिणाम

काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौँ महानगरका ४ वडाहरू पर्छन् । महानगरका १, ७, ८ र ३० वडा, बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा यो निर्वाचन क्षेत्रमा पर्दछ । 

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार राजन भट्टराईलाई कांग्रेसका गगन थापाले पराजित गरेका थिए । थापाले २१ हजार ५५८ मत पाएका थिए भने भट्टराईले १८ हजार १४० मत पाएका थिए । 

यस्तै गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर ४ मा वडाध्यक्षहरूले पाएको मतलाई हेर्ने हो भने एमाले ७४४ मतले अगाडि देखिएको छ । एमालेले १६ हजार ५०७ मत पाएको छ । कांग्रेसले १५ हजार ७६३ मत पाएको थियो ।  

यो क्षेत्रमा माओवादी केन्द्र र एकीकृत समाजवादी निकै कमजोर अवस्थामा रहेको छ । एकीकृत समाजवादीले २ हजार ४४४ मत पाएको पाएको थियो । चौथो स्थानमा रहेको राप्रपाले २ हजार २७२ मत पाएको थियो भने माओवादी केन्द्रले ८४४ मत पाएको थियो । 

क्षेत्र नम्बर ४ मा स्वतन्त्रको भीड

काठमाडौँ क्षेत्र नम्बर ४ मा राजनीतिक दल तथा स्वतन्त्र गरी ३१ जना चुनावी मैदानमा छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको भीड लागेको छ । यहाँ १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने राजनीतिक दलबाट १७ उम्मेदवार छन् । 

राजनीतिक दलतर्फ एमालेबाट राजन भट्टराई, कांग्रेसबाट गगनकुमार थापा, राप्रपाबाट डा.ठाकुर मोहन श्रेष्ठ, नेमकिपाबाट रमेश डंगोल, लोसपा नेपालबाट भानुकुमार खड्का, मौलिक जरोकिलो पार्टीबाट नुमनाथ प्याकुरेल, हाम्रो नेपाली पार्टीबाट अर्चन शम्शेर राणा उम्मेदवार रहेका छन् । 

यस्तै पुनर्जागरण पार्टी नेपालबाट श्याम बाबु गौतम, नेपालका लागि नेपाली पार्टीबाट दीपक कुमार पोखरेल, मितेरी नेपाल पार्टीबाट राजेश भारती, नेकपा मालेबाट लीलामाया पौडेल, मंगोल नेशनल अर्गनाइजेशनबाट लालकुमारी थापा उम्मेदवार रहेका छन् । 

यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पिकेश परियार, राष्ट्रिय जनमुक्ति पार्टीबाट चेतबहादुर आले, एकीकृत शक्ति नेपालबाटबाट नवराज भण्डारी, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट ध्रुवराज गिरी र जनसमाजवादी पार्टी नेपालबाट खुरहरि पुडासैनी उम्मेदवार रहेका छन् । 

यस्तै स्वतन्त्र उम्मेदवारहरूमा श्यामराज भेटवाल, थर्कबहादुर बस्नेत, अर्जुन कुमार प्रसाई, रोहित डंगोल, हेमबहादुर बोम्जन, रवीन्द्र देव ढकाल, महेश्वर केसी, नवराज थापा, रुद्रप्रसाद पौडेल, कृष्णकुमार तामाङ, दिनेश चौलागाई, काजीबहादुर कार्की, शिवेन्द्र केसी र रोशन वर्मा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप