बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बादी बस्तीको गुनासो– सधैँ आश्वासनमात्र

शुक्रबार, १८ कात्तिक २०७९, १८ : ४२
शुक्रबार, १८ कात्तिक २०७९

 घोराही बजारकै छेउमा पर्छ दुर्गा भवानी टोल अर्थात् बादी बस्ती । सेवार छेउको बगरको बस्ती, स–साना घर कतै भत्किएका, कतै भत्किन लागेका, न बाटो, न खानेपानी, न विद्यालय, ज्यान पाल्न सधैँ बजारकै मजदुरी यो बस्तीका बासिन्दाको नियति हो ।

बच्चादेखि वृद्धसम्मले पेट पाल्न बजारका गल्ली गल्ली  चहार्दै हिँड्नुुपर्ने बाध्यता छ । शिक्षा, उचित स्वास्थ्य उपचार, मिठो मसिनो खानु यो बस्तीका बासिन्दाका लागि निकै परको कुरा हो । जब निर्वाचन आउँछ, तब उनीहरुको मुहार अलि फरक देखिन्छ । ‘अब गाउँमा भोट माग्ने नेता आए हाम्रा दुःख, पीडा मनभरि पोखौंला’ भन्ने उनीहरुलाई लाग्छ ।

तर अहिलेसम्म उनीहरुको दुःख, पीडा पोख्ने र सुन्ने बाहेक अरु केही भएको छैन । स्थानीय रञ्जिता बादी नेपालीले भनिन्, ‘फेरि चुनाव आयो । बस्तीमा नेता आए तर हाम्रा बस्तीमा विकास कहिले आउने हो ?’ राजनीतिक दल तथा नेताहरुले बस्तीमा भोटका लागि आश्वासन बोकेर आउने तर चुनावपछि आफूहरुलाई कसैले फर्केर नहेर्ने गरेको उनको भनाइ छ ।

घोराही उपमहानगरपालिका–१३ मा पर्ने उक्त बस्तीमा करिब ६५ घरपरिवारको वादी समुदाय खोला किनारको ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका छन् । यो बस्तीमा विद्यालय जाने उमेर समूहका करिब ५० जना बालबालिका छन् । तर गरिबीको चपेटाले थिलथिलो परेको बस्तीका बालबालिका मजदुरी गर्न बाध्य छन् । रञ्जिताले भनिन्, ‘हरेक चुनावमा नेताहरू बादी बस्तीका बालबालिकालाई विद्यालय, महिलाहरुलाई सिप, रोगीलाई औषधि दिन्छौं भन्दै आउँछन्, चुनाव जितेपछि कहिल्यै फर्किएर आउँदैनन् ।’

‘अरुलाई चुनाव, हामीलाई सधैँ सान्त्वना’

स्थानीय सरिता नेपालीले राजनीतिक दलका नेता तथा कार्यकर्तालाई चुनाव लागे पनि आफूहरुलाई भने त्यसले खासै नछोएको बताउँछिन् । ‘काम नगरी खान पाइन्न,’ उनले भनिन्, ‘झण्डा फहराउँदै हिँड्छन्, भोट माग्छन्, कार्यकर्ताहरु खुुसी छन् । हामीलाई त सधैँ उस्तै हो ।’

चुनाव भनेको एउटा औपचारिक प्रक्रियाका रुपमा मात्र आफूहरुले लिएको उनको भनाइ छ । ‘सांसद बन्नका लागि भोट चाहिएर उनीहरू चुनावलाई प्रयोग गर्दछन्,’ उनले भनिन्, ‘हाम्रा लागि कसले के नै गरिदिने हुन् र ?’ अघिल्ला चुनावमा पनि प्रशस्त आश्वासन पाइएको तर कुनै उपलब्धि नभएको स्थानीयवासी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप