शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

मङ्गलबार, १२ पुस २०७९, २३ : ११
मङ्गलबार, १२ पुस २०७९

 संघीय सरकार गठनसँगै सत्ता साझेदार दलहरु प्रदेश सरकार गठनका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । लुम्बिनी प्रदेश सरकार गठनका लागि समेत गृहकार्य सुरु भइसकेको छ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सत्ता साझेदार दलहरू अझै टुङ्गोमा पुगिसकेका छैनन् । तर नेतृत्वका बारेमा छलफल भन्ने चलाइरहेका छन् ।

सरकार गठनको तयारीसँगै  सत्ता साझेदार दलमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्वमा दाबी गरेका छन् । नेकपा एमालेले मुख्यमन्त्रीको रुपमा रुपन्देही निर्वाचन क्षेत्र नं. २(१) बाट निर्वाचित सांसद लिला गिरीलाई अघि सारेको छ भने नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीका रुपमा रोल्पा निर्वाचन क्षेत्र नं. १(१) बाट निर्वाचित सांसद जोखबहादुर महरालाई अघि सारेको चर्चा छ ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले नै गर्ने दाबी गरेका छन् । आफ्नो पार्टीका सांसद जोखबहादुर महराले नै मुख्यमन्त्रीको जिम्मेवारी पाउने उनको भनाइ छ ।​ बरालले रातोपाटीसँग भने, ‘सत्ता साझेदार दलहरुभित्र दाबी रहने नै भयो । नेकपा एमालेले पनि प्रदेश सरकारको नेतृत्वमा दाबी गरिरहेकै छ । तर वर्तमान सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहेको र अन्य प्रदेशमा एमालेले नेतृत्व दिने माथिल्लो तहमा कुराकानी भइरहेकाले लुम्बिनी प्रदेशको नेतृत्व माओवादीले लिन्छ ।’

यसका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको उनले बताए । संघीय सरकार गठनमा सहयोगी भूमिका निर्वाह गरेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, स्वतन्त्र सासंदहरु मिलेर नै प्रदेशमा पनि सरकार गठन हुने उनले जानकारी दिए ।

एमालेका लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले भने प्रदेश सरकारको नेतृत्वका बारेमा छलफल भइरहे पनि औपचारिक निर्णय भइनसकेको जानकारी दिए । बाहिर विभिन्न चर्चा चलिरहेको छ तर पार्टीभित्र अझै प्रदेश सरकारका बारेमा नेतृत्व नतोकिएको उनले बताए । पार्टीमा सिनियरका हिसाबले गिरी चर्चामा रहे पनि नेतृत्वमा कुन दल र को हुन्छ भन्ने विषयमा सत्ता साझेदार दलहरू बीच टुङ्गो लाग्न बाँकी रहेको उनको भनाइ छ । उनले भने, ‘पार्टीले केही दिनमा यसबारे निर्णय गर्छ । हतार गर्नुपर्ने कारण छैन ।’

८७ सदस्यीय प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक हुन्छ । सत्ता साझेदार दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र स्वतन्त्र सांसद गरी लुम्बिनी प्रदेशसभामा सहजै बहुमत पुग्छ ।​प्रदेशसभामा नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका ९, जनमत पार्टीका ३ र स्वतन्त्र ३ गरी ४४ सांसद हुन्छन् । ३ राजनीतिक दलसहित ३ जना स्वतन्त्र सासंदहरुको सहभागितामा लुम्बिनी प्रदेश सरकार गठन हुने अनुुमान गरिएको छ ।

राजधानी तयार

लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानीमा भौतिक पूर्वाधारका सबै काम सम्पन्न भइसकेका छन् । अस्थायी मुकाम बुटवलबाट प्रदेश सरकार दाङस्थित स्थायी मुकाममा गत मंसिर २० गते सरेको हो । राजधानीमा सरकार सरेसँगै निर्माणाधीन संरचना निर्माणको काम तीव्रताका साथ सुरु गरिएको थियो । सरकार सरेको २० दिन अर्थात् यही पुस १० गतेसम्म सरकारले संरचना निर्माण तथा व्यवस्थापनको सबै काम पूरा गरिसकेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी निर्माण तथा व्यवस्थापनको सबै काम पुरा भई सरकारले नवनिर्वाचित सासंदहरुको पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिरहेको बताए । ‘पुस २० गतेभित्र सांसदहरुको शपथ गराउने तयारी छ । नयाँ सरकार बनाउने तयारीमा दलहरु लागिरहेकाले अब लुम्बिनी प्रदेशले चाँडै नयाँ सरकार स्थायी राजधानीमा पाउने छ ।’

लुम्बिनी प्रदेशसभामा सांसदहरुको दलगत विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप