शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यी चार कारण जसले काठमाडौँबाटै पासपोर्ट बनाउन चाहन्छन् सेवाग्राही

राहदानी विभागको भिड हटाउन प्रचण्ड सरकारलाई कति सहज ?
बुधबार, १३ पुस २०७९, १५ : ३०
बुधबार, १३ पुस २०७९

त्रिपुरेश्वरस्थित राहदानी विभागले अर्जेन्टमा पासपोर्ट बनाउने र वितरण गर्ने काम गर्छ । अर्जेन्टमा पासपोर्ट बनाउँदा सामान्य शुल्कभन्दा धेरै बढी शुल्क तिर्नुपर्छ । बढी शुल्क तिरेर भए पनि सेवाग्राहीहरू विभागमै आएर पासपोर्ट बनाउन चाहन्छन् । जसका कारण त्रिपुरेश्वरस्थित पासपोर्ट विभागमा सेवाग्राहीको चाप सधैँ उस्तै हुन्छ । 

सामान्य अवस्था जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट बनाउँदा मात्रै ५ हजार रुपैयाँमा साधारण अर्थात् ३४ पृष्ठको पासपोर्ट बनाउन सकिन्छ । ६६ पृष्ठको पासपोर्ट बनाउने हो भने जिल्ला प्रशासन कार्यालयबाट बनाउँदा मात्रै १० हजार रुपैयाँमा पासपोर्ट बनाउन सकिन्छ । तर त्रिपुरेश्वरस्थित विभागको कार्यालयबाट अर्जेन्टमा पासपोर्ट बनाउँदा ३४ पृष्ठको साधारण पासपोर्ट बनाएपनि १२ हजार रुपैयाँ तिर्नुपर्छ । यदि ६६ पृष्ठको पासपोर्ट बनाउने हो भने २० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । 

यति महँगो शुल्क हुँदा पनि मानिसहरू विभागको काठमाडौँस्थित कार्यालयबाटै ‘अर्जेन्ट’का नाममा पासपोर्ट बनाइरहेका छन् । दैनिक करिब ६ हजारको हाराहारीमा सेवाग्राहीहरू पासपोर्ट बनाउने प्रयोजनका लागि विभागको कार्यालयमा पुग्ने गरेका हुन्छन् । प्रत्येक दिन विभागको बाहिर र भित्रपनि सेवाग्राहीको उत्तिकै चाप र भीड देख्न सकिन्छ । 

सेवाग्राहीले सास्ती पाएको र लामो लाइन बस्नुपरेको भन्दै प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पासपोर्टका लागि लामो लाइनमा बस्नु नपर्ने गरी सेवा विस्तार गर्ने घोषणा गरेका छन् । 

प्रधानमन्त्रीले पासपोर्टमा लाइन बस्नु नपर्ने गरी व्यवस्था मिलाउने भनेपनि भीड हटाउने जादुको छडी न प्रधानमन्त्री दाहालसँग छ, न त विभागसँग नै । बरु पासपोर्ट वितरणमा विकेन्द्रीकरणको सिद्धान्त लागू हुन नसक्दा पासपोर्ट विभागमा सधैँ भीड भएको विभागकी निर्देशक दूरपदा सापकोटाले बताइन् । राज्यले विकेन्द्रीकरणका लागि सहजीकरण नगर्ने हो भने पासपोर्ट विभागको भीड हट्न नसक्ने सापकोटाले बताइन् । 

आजको भोलि नै भीड हटाउन सकिँदैन, राज्यले सहजीकरण गरे सम्भव छ

विभागकी निर्देशक सापकोटका अनुसार आजको भोलि नै भीड हटाउन सम्भव नभएपनि राज्यले सहजीकरण गर्ने हो भने त्यो सम्भव रहेको बताउँछिन् । राज्यले नीति बनाएर सिस्टमको विकास गर्ने हो भने बिस्तारै भीड र लाइन हटाउन सकिने सापकोटाको भनाई छ । 

सापकोटाले भनिन्, ‘पासपोर्टको कुरा गर्दा अहिलेको मुख्य समस्या भनेको पासपोर्ट बनाउन सबै जना पासपोर्ट विभागमै आइदिनुभएको छ । त्यसको कारण यहाँ धेरै भीड भएको छ । तर पासपोर्ट यहाँमात्रै नभएर बाहिरका ७७ वटै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि जारी हुन्छ भनेर बुझ्न र बुझाउन सकियो भने विभागमा हुने भीड स्वतः नियन्त्रण हुन्छ । अहिलेको भीड काठमाडौँमा मात्रै भइरहेको छ । यदि यी ९३ स्थानबाटै पासपोर्ट लिन सकिन्छ भन्ने कुराको जानकारी दिन सकियो भने यो भीड नियन्त्रण हुन सक्छ ।’

तर फारम भर्न पनि पालो कुरेर बस्नुपर्छ, यस्तो अवस्था किन आयो त भन्ने रातोपाटीको प्रश्नमा सापकोटाले विकेन्द्रीकरण हुन नसक्दा यस्तो भएको बताइन् । उनले भनिन्, ‘यसको मुख्य कारण भनेको सेवा केन्द्रीकृत हुनु नै हो । सबैजना अहिले पासपोर्ट बनाउन पासपोर्ट विभागमै आउनुभएको कारण पनि यति धेरै भीड जम्मा भएको हो । हामीले ई–पासपोर्ट सुरु गर्ने समयमा यति सङ्ख्यामा आउँछन् भनेर प्रक्षेपण गरेका थिएनौँ । त्यतिबेला हामीले गरेको प्रक्षेपण भनेको प्रतिदिन २ हजारको हाराहारीमा आउँछन् भन्ने लागेको थियो । तर अहिले त यहाँ दैनिक ५–६ हजार मानिसहरू सेवा लिन आइरहनु भएको छ । त्यस कारण हामीसँग भएको क्षमताले नभ्याएको मात्रै हो ।’

पासपोर्ट बनाउन मानिसहरू विभागकै आउनुको कारण के हो त भन्ने रातोपाटीको जिज्ञासामा निर्देशक सापकोटाले सेवाको केन्द्रीकरण पनि अर्को ठुलो समस्या रहेको बताइन् । मुख्यतः तीन कारणबाट मानिसहरु पासपोर्ट बनाउन विभागमै आउने गरेको उनले बताइन् । 

कारण १ ः काठमाडौँमा बसेकाहरू खर्चका कारण पनि जिल्ला जान नचाहनु

काठमाडौँमै पासपोर्ट बनाउनेको भीड हुनुको पहिलो कारण काठमाडौँमै बसेकाहरू पासपोर्ट बनाउन जिल्ला जान नचाहनु पनि हो । अर्को भनेको छिटो सेवा पाइने भएकाले बढी रकम तिरेर भए पनि मानिसहरू यहीँबाट पासपोर्ट लिन आतुर देखिन्छन् । 

सापकोटाले भनिन्, ‘विभागबाट द्रुत सेवामा अहिले तीन दिनभित्र पासपोर्ट दिइरहेका छौँ । तर जिल्ला प्रशासन कार्यालयबाट हामीले प्रमिस गरे अनुसार दुईदेखि तीन सातामा उपलब्ध गराइरहेका छौँ । तर मानिसहरू मलाई हतार पर्‍यो भनेर यहीँ बनाउन आउनुहुन्छ । तर हामीलाई लाग्दैन कि त्यो सबै जनालाई हतार नै भएको हो । त्यसको कुनै कारणचाहिँ देखिँदैन । तर आउने सबैजना चाहिँ मलाई हतार छ भनेरै आइरहनु भएको हुन्छ । यहाँ आउने जति सबैले मलाई अर्जेन्ट छ मात्रै भन्छन् । तर त्यो साँच्चिकै अर्जेन्ट हुन्छ वा पासपोर्ट बनाइ राखौँ न त भनेर पनि धेरै आउनुहुन्छ भन्ने हाम्रो अनुमान छ ।’

सापकोटाले अगाडि भनिन्, ‘काठमाडौँमा बसिरहेका मानिसहरूलाई आफ्नो सम्बन्धित जिल्ला गएर बनाउनका लागि समय र खर्च पनि धेरै हुन्छ । तर अर्जेन्ट भन्दै काठमाडौँमै बनाउने हो भने सस्तो पर्न जान्छ । अनि समयको पनि बचत हुन्छ । उदाहरणका लागि यहाँबाट कञ्चनपुर पुगेर पासपोर्टका लागि फारम भरेर बायोमेट्रिक गरी काठमाडौँ फर्किन करिब ५ दिन लाग्छ । अझ राष्ट्रिय परिचयपत्र बनाएको छैन भने त्यसका लागि थप दुई दिन जतिको समय लाग्छ । यो सबै हेर्दा एक साताको समय लाग्छ । एक सातामा दिनको दुई हजारको दरले खर्च हुँदा पनि कम्तीमा १४ हजार रुपैयाँ खर्च हुन्छ । अनि पासपोर्टका लागि ५ हजार रुपैयाँ तिर्नुपर्दा १९ हजार रुपैयाँ लाग्छ । तर काठमाडौँबाटै पासपोर्ट बनाउने हो भने १२ हजार रुपैयाँमै हुन्छ भनेपछि मानिसहरू कञ्चनपुर जान छाडेर काठमाडौँमै बनाउन थाल्छन् ।’

कारण २ ः कन्सल्टेन्सी र विद्यार्थी काठमाडौँमै हुनु

त्रिपुरेश्वरस्थित पासपोर्ट विभागमा पासपोर्ट बनाउने सेवाग्राहीको भीड लाग्नुको अर्को कारण एजकुसेनल कन्सल्टेन्सीहरू काठमाडौँमै हुनु पनि हो । अध्ययनका लागि बाहिर जानेहरूले काठमाडौँबाटै आवेदन दिने र पासपोर्ट पनि यहीँ बुझाउने भएको कारण गाउँ घर गएर बनाउनु भन्दा यहीँ बनाउँदा सहज देखेकाले यहीँ बनाउन थालेको विभागको भनाई छ । 

निर्देशक सापकोटा भन्छिन्, ‘अध्ययनका लागि बाहिर जाने विद्यार्थीलाई पासपोर्ट बुझाउन र डकुमेण्टेसनको काम गर्न पनि काठमाडौँमै आउनुपर्छ । अनि अन्यत्र जिल्लामा पासपोर्ट बनाएर काठमाडौँ आउनु भन्दा त काठमाडौँमै पासपोर्ट बनाउँदा समयको बचत पनि हुने भयो र आवतजावतको खर्च पनि बँच्ने भयो । त्यस कारण पनि मानिसहरू यहीँबाट पासपोर्ट बनाउन चाहन्छन् । बढी रकम तिर्दा पनि उनीहरूलाई यहीँबाट बनाऊ फाइदा पुग्ने देखिएको छ ।’

कारण ३ ः वैदेशिक रोजगारीको केन्द्र काठमाडौँ

पासपोर्ट बनाउन धेरैले काठमाडौँलाई नै रोज्नुको अर्को कारण भनेको वैदेशिक रोजगारीमा जानका लागि काठमाडौँ केन्द्रित म्यानपावर कम्पनी रहनु पनि हो । सापकोटाका अनुसार म्यानपावर कम्पनीले छिटो पासपोर्ट देऊ भन्नु र उनीहरू गाउँबाट बनाएर ल्याउँदा समय लाग्ने भएकाले वैदेशिक रोजगारीमा जानेहरूको भीड काठमाडौँमै हुने गरेको छ । 

‘वैदेशिक रोजगारीका लागि जान चाहनेहरूले पनि पासपोर्ट बुझाउनका लागि काठमाडौँकै म्यानपावर कम्पनीमा आउनुपर्छ । जिल्लामा बनाएर फेरि काठमाडौँमा आउनुभन्दा बरु काठमाडौँमै बनाएर त्यहीँ बुझाऊँ न त भन्ने पनि हुने रहेछ । त्यस कारण पनि मानिसहरू यहीँबाट पासपोर्ट बनाउन आउने गर्छन् र चाप धेरै छ ।’

कारण ४ ः जिल्लाबाट पासपोर्ट बन्छ भन्ने कतिलाई थाहा नै छैन

सापकोटाका अनुसार कतिपय सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयबाटै पासपोर्ट भन्छ भन्ने थाहासमेत छैन । त्यहीँबाट पासपोर्ट भन्छ भन्ने थाहा नहुँदा सेवाग्राहीको भीड विभागमा हुने गरेको छ । 

सापकोटाले भनिन्, ‘मानिसहरूलाई एउटा के कुराको भ्रम छ भने जिल्ला प्रशासन कार्यालय चाहिँ नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने ठाउँ मात्रै हो भन्ने भ्रम छ । पासपोर्ट भनेको चाहिँ पासपोर्ट विभागले बनाउने हो भन्ने सोच पनि एउटा कारक हो ।’

सापकोटाले अगाडि भनिन्, ‘जिल्ला प्रशासन कार्यालयले समयमै पासपोर्ट वितरण गर्न नसुक्नु पनि अर्को कारण हो । अहिले त वहाँहरूले जुन दिन डाटा अप्लाइ गर्नुहुन्छ, त्यही दिन नै हामी कहाँ आउँछ र हामीले एक दुई दिनमा प्रिन्ट गरेर उहाँहरूलाई डेलिभरी गर्‍यौँ भने समयमै पासपोर्ट दिन सकिन्छ । तर डेलिभरीको साधन एउटा ठुलो कुरा हो । अहिले हामीले अधिकांश हुलाक सेवामार्फत् पठाइरहेका छौँ । यसलाई समयमै हवाईजहाज मार्फत पठाउने, कहिलेकाहीँ नजिकै हुँदा हामी आफू पुराउन जाने र कहिलेकाहीँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पनि आउनुहुन्छ, त्यसरी काम गर्ने हो भने हप्तादेखि १० दिनभित्र जिल्ला प्रशासनबाटै पासपोर्ट दिन सकिन्छ । यसो गरेमा यहाँको भीड घट्छ ।’

जिल्लाबाट १५ दिनमा दिन सकिन्छ पासपोर्ट

पासपोर्ट विभागकी निर्देशक सापकोटाका अनुसार जिल्ला प्रशासन कार्यालयले पहलकदमी लिने हो भने बढीमा १५ दिनमा पासपोर्ट उपलब्ध गराउन सकिन्छ । सापकोटा भन्छिन्, ‘अहिले हामीले यहाँ आवेदन आएको तीन दिनभित्र प्रिन्ट गरेर दिने गरेका छौँ । यही आधारमा हेर्दा नजिकको जिल्लामा एक साता र दुर्गमका जिल्लामा पनि बढीमा १५ दिनमा पासपोर्ट दिन सक्ने गरी काम गर्न सक्छौँ । त्यसका लागि सेवाग्राहीलाई जानकारी र जनचेतना दिन सकिएको छैन । त्यसो गर्न सकिए उनीहरूलाई सस्तो पनि पर्छ र सहज पनि हुन्छ । त्यसो भए यहाँको भीड पनि कम हुन्छ ।’

विभागमै क्षमता बढाउनु आवश्यक

प्रधानमन्त्रीले पासपोर्ट विभागको भीड हटाउने भने पनि त्यो त्यति सहज छैन । त्यसका लागि विभागमा रहेका कर्मचारीको क्षमतामा पनि वृद्धि गर्नुपर्ने हुन्छ । 

सापकोटा भन्छिन् ‘हामीले सरकारको निर्णयलाई स्वागत गर्छौ र त्यसका लागि काम गर्न पनि तयार छौँ । अहिले तत्कालका लागि यहाँको जनशक्तिलाई पनि ध्यान दिनुपर्ने हुन्छ । यहीँबाट अलि सहजीकरण गर्न यहाँको क्षमता पनि बढाउनुपर्ने हुन्छ । त्यस्तै गरेर बाहिर बाटै पासपोर्ट लिने व्यवस्था गर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयमा जनशक्तिको अभाव वा ज्ञानको कमी हो भने त्यहाँ तालिम दिने र जनशक्ति थप्ने गरेर पनि छिटो सेवा दिन सकिन्छ । प्राविधिक क्षमता बढाउनुपर्ने हुन्छ । जिल्ला प्रशासनबाटै सेवा दिने व्यवस्था गर्न सके र जनतालाई बुझाउन सके पासपोर्टमा भीड आउने कुरा नै हुँदैन । एक ठाउँको भिड ९४ स्थानमा बाँडिदा त कहाँ भीड हुन्छ र ।’ 

सेवाग्राहीको अत्यधिक चाप

विभागमा अहिले क्षमताभन्दा तीन गुणा बढी सेवाग्राहीको चाप लाग्ने गरेको छ । सापकोटाका अनुसार दैनिक २ हजारको क्षमता भए पनि दैनिक ६ हजारको हाराहारीमा सेवा दिनुपरेको छ । 

सापकोटा भन्छिन्, ‘अहिलेको हाम्रो क्षमता भनेको दैनिक १ हजार ८०० वटा मात्रै छाप्ने हो । हामीले देशभरबाट आएको आवेदनको आधारमा दैनिक करिब ६ हजार थान पासपोर्ट प्रिन्ट गर्ने गरेका छौँ । काठमाडौँस्थित विभागमै आएको पासपोर्ट मध्येबाट पनि करिब २ हजार थान छपाई गरेर वितरण गरिरहेका छौँ । दैनिक २ हजार जनालाई सेवा दिन सकिने अवस्था भए पनि यहाँ दैनिक करिब ६ हजारकै हाराहारीमा मानिसहरू सेवा लिन आउनुहुन्छ । त्यस कारण पनि यहाँ सेवाग्राहीको चाप बढ्ने गरेको छ ।’

यता सेवाग्राहीहरू पनि सहजता, सस्तो र छिटो सेवा पाइने भएकाले विभागबाटै पासपोर्ट बनाउन लागेको बताउँछन् । सिन्धुलीका तेजबहादुर मगरका अनुसार उनको परिवार सबै काठमाडौँमै रहेको र सिन्धुली गएर बनाउँदा बढी खर्च र समय लाग्ने भएकाले काठमाडौँबाटै बनाउन लागेको बताउँछन् । 

रुकुम पश्चिमका भुवन बिक काठमाडौँमै म्यानपावर कम्पनी रहेको र जिल्लाबाट बनाउँदा ४५ दिन लाग्ने भएकाले यहीँबाट बनाएको बनाउँछन् । यद्यपि काठमाडौँबाटै बनाउने भन्दा पनि १० दिनपछि बल्ल पालो आएको भुवनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप