शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जानी राखौँ  :  यी शब्दका अर्थ के होलान् ?

बुधबार, १३ पुस २०७९, १६ : ५९
बुधबार, १३ पुस २०७९

भाइबहिनीहरूलाई शब्द भण्डार बढाउन सजिलो होस् भन्ने उद्देश्यले तल केही शब्द दिइएका छन् । यीमध्ये केही शब्द अनेकार्थ वाचक भएर पनि व्यवहारमा प्रायः हराउँदै गएका छन् भने केही शब्द अर्कै अर्थमा प्रयोग हुँदै आएका छन् । 

सुचारू:– शब्दकोश अनुसार यस शब्दको अर्थ खुब राम्रो वा ज्यादै सुन्दर हुन्छ । तर, व्यवहारमा भने यस शब्दको प्रयोग रोकिएको वा अवरुद्ध भएको काम पुनः सुरू भएको अर्थमा हुने गरेको छ । जस्तै पहिरोले रोकिएको वा अवरुद्ध भएको बाटो चार घन्टापछि सुचारू भएको छ । 

अगति:– शब्दकोश अनुसार यस शब्दको अर्थ नराम्रो गति, दुर्गति, नरक, गतिरहित भन्ने हुन्छ । तर, व्यवहारमा यस शब्दलाई बढी मात्रामा नरक परेको वा गएको अर्थमा प्रयोग गर्ने गरिएको पाइन्छ । जबकि नरक जानु भनेको हिँड्नु, चल्नु वा गतिशील हुनु हो । 
अग्निपरीक्षा:– शब्दकोशले यस शब्दलाई आगामा पसेर निर्दोषपन सावित गर्ने पुरानो प्रथा, अत्यन्त कठिन वा ज्यानै जोखिममा पार्ने किसिमको जाँचको अर्थमा लिएको छ । तर, व्यवहारमा भने कडा कामको अर्थमा बढी प्रयोग हुँदै आएको छ ।  

अपस्नान:– शब्दकोश अनुसार यस शब्दको अर्थ हुन्छ कुनै सम्बन्धित वा कुटुम्बको मृत्यु भएमा उदकक्रियाको समयमा गरिने स्नान, आशौच परेमा गरिने नुहाइ, खल्को, अपवित्र पानीमा नुहाउने काम । तर, व्यवहारमा यसको खासै प्रयोग भएको पाइन्न । केबल खल्को शब्दले नै यसलाई बुझाउँदै आएको छ । 

गडतीर:– शब्दकोशले यस शब्दलाई खोला वारि र पारि किनारको पत्थरिलो वा ढुङ्यान जमिन, खोलाको प्रायः अक्करिलो तीर, पानी लाग्न सक्ने वा नसक्ने स–सानो बगर, नदीतट आदि अर्थमा लिएको छ । तर, व्यवहारमा भने यसको खासै प्रयोग भएको पाइन्न । 

तैलाभ्यङ्ग:– शब्दकोश अनुसार यस शब्दको अर्थ हो जिउमा तेल घस्ने काम, मालिस, तेलारी । तर, व्यवहारमा यसको पनि खासै प्रयोग भएको पाइन्न । केबल मालिस शब्दले नै यसलाई बुझाउँदै आएको छ । 
थरघर:– शब्दकोशले यस शब्दलाई मध्यकालमा गोरखादरवारमा र शाहकालमा राजाहरूको नियमानुसार राजसभा र युद्ध  आदिमा भाग लिने पाण्डे, अज्र्याल, पन्थ, राना, खनाल, बोहरा छ थरका एकएक व्यक्तिलाई राखेर बनाइने एक सङ्गठन, जग्गा नापी गर्ने कारिन्दा, पुर्खाको निवास्थान, कुलघर, मूल थलो, परम्परादेखिकै कुलीन मानिने परिवार, कुल घरान, डङ्गोल थरी घरको मूली, नाइके आदि अर्थमा लिएको छ । तर, व्यवहारमा यस शब्दको पनि खासै प्रयोग भएको पाइन्न । 

दयानिधान:– शब्दकोशका अनुसार यस शब्दको अर्थ साह्रै दयालु व्यक्ति, दयाको खानी, दयाको भण्डार, दयासागर, ईश्वर, परमात्मा आदि हुन्छ । तर, व्यवहारमा भने यस शब्दले बढी मात्रामा ईश्वर वा परमात्मालाई बुझाउने गरेको पाइन्छ । 

नकुल:– शब्दकोशले यस शब्दलाई पाण्डवमध्येका एक भाइ र न्याउरी मुसोको अर्थमा लिइएको छ । तर, व्यवहारमा पाण्डमध्येका एउटा भाइलाई नै लिने गरिएको पाइन्छ । न्याउरी मुसोको अर्थमा खासै प्रयोग भएको पाइन्न । 

पञ्चाङ्ग:– शब्दकोश अनुसार यस शब्दको अर्थ हुन्छ पाँच अङ्ग भएको वस्तु, आयुर्वेदका अनुसार जरो, बोक्रो, पात, फूल, फल गरी पाँच अङ्गको समूह, पात्रो, क्यालेन्डर । तर, व्यवहारमा पञ्चाङ्ग भन्ने बित्तिकै प्रायः पात्रोलाई नै बुझाउने गरेको पाइन्छ ।  

पौवा:– शब्दकोशले यस शब्दलाई बटुवाहरूका लागि पानीको समेत प्रबन्ध भएको पाटी, पानीयशाला, पौशाला, ठाँटी, टहरो आदि अर्थमा लिएको छ । तर, व्यवहारमा भने प्रायः हराउँदै गएको पाइन्छ ।  
स्रोत नेपाली बृहत शब्दकोश  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप