बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीले झुठ बोले : ठाकुर

बुधबार, १२ जेठ २०७३, १६ : ३९
बुधबार, १२ जेठ २०७३

काठमाडौं – तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले दाबी गरेजस्तै आफूहरुसँग सल्लाह गरेर सर्वदलीय बैठकको समय तय नभएको स्पष्ट पारेका छन् । ठाकुरले प्रधानमन्त्रीले झुठो बोलेर भ्रम छर्न खाजेको आरोपसमेत लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान आह्वान गरेको सर्वदलीय बैठकमा संघीय लोकतान्त्रिक मधेसी मोर्चा अनुपस्थित भएपछि आफूसँग सल्लाह गरेर समय तय गरेर मोर्चाका नेताहरु बैठकमा नआएको आरोप लगाएका थिए । बैठकबाट बाहिरिँदै कानुन मन्त्री अग्नी खरेलले पनि सोही कुरा दोहोराएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बैठकपछि जारी गरेको प्रेस नोटमा ‘९ बजे बोलाउने भनिएको बैठक ठाकुरको आग्रहमा साढे १० बजे सारिएको तर पछि मोर्चाका नेताहरु उपस्थित नभएको’ उल्लेख छ ।

मिडियामा यसबारे व्यापक चर्चा भएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव ठाकुरलाई भेट्न बुधबार दिउँसो उनको पार्टी कार्यालय पुगेका थिए ।

अनौपचारिक छलफलको क्रममा दुई नेताले हिजोको बैठक र प्रधानमन्त्रीको दाबी बारे ठाकुरसमक्ष जिज्ञासा राखेका थिए । जवाफमा ठाकुरले प्रधामन्त्रीको दाबी गलत भएको नेताहरुसमक्ष कुरा राखेका थिए ।

प्रधानमन्त्रीले आह्वान गरेको बैठकमा नगएपछि अब मोर्चाको कदम के हुने भन्ने विषयमा पनि छलफल भएको तमलोपा स्रोतले बतायो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव बाहिर रहेको कारण उनी फर्किएपछि मोर्चाको बैठक बसेर थप निर्णय गरिने भएको छ । छलफलबारे सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग बुझ्न खोज्दा उनले यसअघिझैं कुनै छलफल गर्न भन्दा पनि ठाकुरको स्वास्थ्य स्थिति बुझ्न मात्र आफू तमलोपा कार्यालय पुगेको जवाफ दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप