बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सबै जिल्लामा आपत्कालीन उद्धार केन्द्र खोलिने– गृहमन्त्री बस्नेत

बुधबार, १२ जेठ २०७३, १२ : ४८
बुधबार, १२ जेठ २०७३

काठमाडौँ - गृहमन्त्री शक्तिबहादुर बस्नेतले आगामी बजेटमा सबै जिल्लामा आपत्कालीन उद्धार केन्द्र खोल्न आवश्यक बजेटको व्यवस्था गर्न लागिएको बताएका छन् ।

अक्सफाम नेपालले आज यहाँ आयोजना गरेको आपत्कालीन खानेपानी, सरसफाइ तथा प्रतिकार्य सामग्री हस्तान्तरण कार्यक्रममा गृहमन्त्री बस्नेतले सातै प्रदेशमा विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणसहितको व्यवस्थित कार्यालयसमेत खोलिने बताए ।

आकस्मिक रुपमा आउने प्राकृतिक विपद्का घटनाबाट पाठ सिक्दै पूर्वतयारीलाई व्यवस्थित र प्रभावकारी बनाउनु नै आजको आवश्यकता भएको उनको भनाइ छ ।

shakti

डिएफआइडीको सहयोगमा अक्सफाम र यसका साझेदार संस्था इन्फो र लुमन्तीद्वारा त्रिभुवन विश्वविद्यालयको हाता कीर्तिपुर, राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क), खुमल्टार र कीर्तिपुर नगरपालिका वडा नं ६ स्थित दिखुमा जडान गरिएका आपत्कालीन खानेपानी प्रणाली र आपत्कालीन प्रतिकार्य सामग्री सम्बन्धित निकायलाई गृहमन्त्री बस्नेतले हस्तान्तरण गरे।

खानेपानी प्रणाली काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय कृषि अनुसन्धान परिषद्लाई हस्तान्तरण गरिएको थियो भने आपत्कालीन प्रतिकार्य सामग्री अक्सफामको स्थानीय साझेदार एन्फो र लुमन्तीलाई हस्तान्तरण गरियो ।

आपत्कालीन खानेपानी प्रणालीअन्तर्गत डिप बोरिङ, ट्रिटमेन्ट प्लान्ट, सेडिमेन्ट ट्याङ्की, जेनेरेटर र ५० हजार लिटरको पानी भण्डारण ट्याङ्की रहेका छन् भने आपत्कालीन प्रतिकार्य सामग्रीमा सरसफाइ सामग्री, गैरखाद्य सामग्री तथा अस्थायी आवासका सामग्री रहेका छन् ।

त्रिविलाई नै हस्तान्तरण गरिएको खानेपानी प्रणालीको लागत रु एक करोड ७६ लाख १२ हजार र विश्वविद्यालयमा भण्डारण गरी लुमन्तीलाई हस्तान्तरण गरिएको आपत्कालीन प्रतिकार्य सामग्रीको लागत रु दुई करोड ७३ लाख ७० हजार रहेको छ ।

नार्कलाई हस्तान्तरण गरिएको खानेपानी प्रणालीको लागत रु एक करोड ४५ लाख ४६ हजार, नार्कमा जडान गरी एन्फोलाई हस्तान्तरण गरिएको आपत्कालीन प्रतिकार्य सामग्री भण्डारणको लागत रु एक करोड ५० लाख ३६ हजार १०० र काठमाडौँ उपत्यका खानेपानीलाई हस्तान्तरण गरिएको खानेपानी प्रणालीको लागत रु ६६ लाख ८० हजार ७०० रहेको छ ।

सो अवसरमा डिएफआइडी नेपाल प्रमुख गेल मार्जेटी र अक्सफाम नेपाल देशीय निर्देशक सेशिलिया केइजरले विपद्पछि र पूर्वतयारीका लागि पर्याप्त गृहकार्य गर्नुको विकल्प नरहेको भन्दै नागरिक समाज, सङ्घसंस्था र सरकार मिलेर यसमा जुट्नुपर्ने धारणा राखे।

अक्सफामका कार्यक्रम निर्देशक विमल गडालले सन् २०१२ देखि संस्थाले विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील रहेको जानकारी दिँदै समुदायलाई हस्तान्तरण गरिएका संरचना र सामग्रीको रेखदेख र उपयोग उचित रुपमा हुने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप