शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सुत्केरी भएपछि स्वस्थ रहन अपनाउनुहोस् यी नियम

आइतबार, ०२ माघ २०७३, १४ : ५५
आइतबार, ०२ माघ २०७३
हिमा कार्की नर्स, न्युरो अस्पताल, विराटनगर सुत्केरी महिलालाई बढी आराम चाहिन्छ । तर, एकैठाउँमा बसिरहनु भने ठीक हुँदैन । आराम सँगसँगै सामान्य हिँडडुल पनि गरिरहनुपर्छ । सुत्केरी अवस्थामा हिँडडुल नगरे नसा सुन्निने र स्वास्थ्यमा थप समस्या देखिन सक्छ । संक्रमणको जोखिम धेरै हुने भएका कारण सुत्केरी भएपछिका १५ दिनसम्म सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यो अवधिमा यौनांगबाट बग्ने रगतमा कीटाणु छिटो हुर्किने भएकाले सफाइमा खेलाँची गर्नुहुँदैन । दिसा पिसाब गरेपछि शारीरिक सफाइ गर्नु तथा चर्पी पनि सफा गरेको अवस्थामा संक्रमणबाट जोगिन सकिन्छ । सुकेरी भएपछि पाठेघर पुरानो अवस्थामा फर्काउन निकै सचेत हुनुपर्छ । पाठेघर पुरानै अवस्थामा फर्काउन वेला–वेला पेट सेक्ने तथा मालिस गर्नुपर्छ । सुत्केरी महिलाले सामान्य रूपमा शारीरिक व्यायाम गर्नुुपर्छ । स्थिर रहेका मांसपेशी चलायमान बनाउँदै लैजानुपर्छ । खासगरी पिसाब रोक्न बसेको जसरी बस्ने प्रकृतिको व्यायाम गर्नु राम्रो हुन्छ । सुत्केरी नर्मल भएको हो या अपरेसन गरेको हो भन्ने कुराले पनि सुत्केरीपछिको हेरचाह फरक हुनुपर्छ । अपरेसन गरेर बच्चा जन्माएको हो भने घाउवरिपरि र पेटको सफाइमा ध्यान दिनुपर्छ । सुत्केरीले दूध चुसाउनु बच्चालाई मात्रै होइन, आफ्नो स्वास्थ्यका लागि पनि राम्रो काम हो । हरेक दुई–दुई घन्टामा बच्चालाई दूध चुसाउनुपर्छ । दूध नचुसाउँदा स्तन गानिने र विभिन्न समस्या निम्तिने हुन्छ । सुत्केरी महिलाले सुरुमा खाने गरेको खानेकुरा भन्दा धेरै र पोषिला खानेकुरा खानुपर्छ । मौसमअनुसार तातो–चिसो पनि मिलाउन सक्नुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप