शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

चालकका यस्ता गल्तीले हुन्छ ट्राफिकजाम

आइतबार, ०९ माघ २०७३, १२ : २९
आइतबार, ०९ माघ २०७३
काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रमा धेरैले भोग्नुपरेको साझा समस्या हो ट्राफिकजाम । यही कारण कुनै पनि स्थानमा पुग्नुपर्नेभन्दा निकैअगाडि घरबाट निस्कनुपर्ने हुन्छ । अहिले सडकमा सवारीजामको प्रमुख कारणमध्ये पहिलो कारण सवारीचालकले लेनअनुशासन पालना नगर्नु नै हो । जानीजानी वा ध्यानै नदिई गन्तव्यमा पुग्ने हतारमा लेनअनुशासन पालना नगर्दा ट्राफिक जामको समस्या भइरहेको हुन्छ । सवारी चलाउने क्रममा चालकले गल्ती गर्ने लेनसम्बन्धी अनुशासानबारे कीर्तिपुर मोटर ड्राइभिङ ट्रेनिङ  इन्स्टिच्युटका सञ्चालक शिव श्रेष्ठको भनाइ यस्तो छः चालकले कस्तो लेनमा कति स्पिडमा सवारी गुड्न पाउने भन्ने विषयमा हेक्का राख्दैनन् । जस्तै ६ लेनको कोटेश्वर सूर्यविनायक सडकमा दायाँ साइडको लेनमा तीव्र गतिको सवारी गुड्नुपर्ने हो । तर, सो लेनमा कम गतिमा चल्ने सवारीसमेत निर्वाध चलिरहेको देख्न सकिन्छ । चालकलाई जानकारी नभएर वा बेवास्ता गर्दा तीव्र गतिमा गुड्ने अन्य सवारीलाई समस्या पर्छ । जसले गर्दा अनावश्यक ट्राफिक जाम हुन पुग्छ । व्यवस्थित रूपमा सवारी चलाउनका लागि लेनसम्बन्धी जानकारी हुनै पर्छ । आफ्नो सवारीको गतिअनुसार लेन छनोटमा विचार पुर्‍याउनुपर्छ । काठमाडौं उपत्यकाको सडकलाई आधार मान्दा यहाँ विशेषगरी चार लेनका सडक बढी छन् । जसमा दुई लेन जाने र दुई लेन आउने गरी छुट्याइएको हुन्छ । नेपालको ड्राइभिङ पद्धति लेफ्ट ह्यान्ट साइड ड्राइभिङ सिस्टममा छ । यसले गर्दा सडकको लेफ्ट किनारबाट हिँड्ने सवारीको गति न्यून हुनुपर्छ । जति बढी स्पिडमा गुड्ने सवारी हो त्यति नै राइट ह्यान्ड साइडको लेनबाट हिड्नुपर्छ । त्यस्तै, ओभरटेक गर्दा पनि राइट साइटबाट नै अगाडि बढ्नुपर्छ । तर, नेपालको सडकमा सवारीचालकले यी नियमलाई स्वीकार गरेको देखिँदैन । जसले गर्दा ट्राफिक जामको समस्या बढिरहेको छ । सडकमा विभिन्न लेनका संकेतहरू कोरिएका हुन्छन् । सबैले फरक–फरक अर्थ दिने कारण चालकले सोसम्बन्धी जानकारी राख्नुपर्छ । सडकको मध्यभागमा खिचिएको अविछिन्न रेखाले सो रेखालाई छुनु हुँदैन भन्ने जानकारी दिन्छ । यो एक प्रकारको डिभाइडर नै हो भनेर सम्झदा हुन्छ । त्यसैले सो रेखा भएको स्थानबाट यु–टर्न गर्न र ओभरटेक गर्न पाइँदैन । सवारी चलाउँदै गर्दा डिभाइडरमा ठक्कर खाँदा जस्तो खतरा हुन्छ सो लेनमा टच गर्दा पनि त्यस्तै परिस्थिति आउने सम्झनुपर्छ । सडकको मध्यभागमा खण्डित रेखा पनि कोरिएको हुन्छ । यस्तो रेखा जति लामो भयो त्यति नै खतराको संकेत बढी हो । अवस्था हेरेर यस्तो लेन भएको स्थानबाट भने यु–टर्न पनि गर्न सकिन्छ । नियमअनुसार चौबाटो या चोकमा ५० मिटरअगावै लेन परिवर्तन गरिसक्नुपर्ने हुन्छ । तर, चालकले बेवास्ता गर्दा सडकमा जामको समस्या देखिएको छ । सडकमा चौडाइबाट खिचिएको रेखा जेब्राक्रसिङबाट पैदलयात्रीले सडक पार नगरी अन्य स्थानबाट बाटो काट्दा पनि पैदलयात्रीका कारणबाट जामको समस्या थपिन्छ । यदि सो जेब्राक्रसिङमा धर्कोे (गतिशून्य रेखा) पनि तानिएको छ भने त्यहाँ अर्को लेनमा पैदलयात्री आइपुगेमा पनि सवारी रोक्नुपर्छ । तर, नेपालका चालकले यस्तो नियमलाई ध्यान दिएको पाइँदैन । कुनै स्थानमा दोहोरो अविछिन्न रेखा छ भने त्यसलाई संवेदनशील क्षेत्र सम्झनुपर्छ । त्यस्तै, तीनवटा धर्काको दायाँबायाँ सेतो र बीचमा पहेलो धर्को छ भने अत्यन्त संवेदनशील भन्ने अर्थ लाग्छ । यस्तो स्थानमा चाकल बढी सजग हुनुपर्छ । त्यस्तो कुनै पनि लेनलाई छुनु हुँदैन ।सडक किनारामा यदि खण्डित पहेलो धर्को छ भने सो क्षेत्रभन्दा बाहिर सवारी लैजानु खतरा हुन्छ । यदि अविछिन्न पहेलो धर्को छ भने सवारीलाई एकछिन यात्रु झार्ने या चढाउने समयसम्म मात्र रोक्न पाइन्छ । तर, नेपालको चलनचल्तीमा सवारी पार्किङ भन्ने जनाउँछ । यसरी नेपालमा नो पार्किङ हुनुपर्ने स्थानमा गलत अर्थ लगाएर पार्किङ गर्ने काम भइरहेको छ । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप